
काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित कतार भिसा सेन्टर अगाडि सडकखण्डमा पाँचवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारसहितका सवारीसाधनहरू एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा भारतीय नम्बर प्लेटको BR06DD6063 नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाइते भएका सबै १० जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये काठमाडौं बसुन्धारा बस्ने ६५ वर्षीया कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम तथा सामान्य रहेको छ ।
घाइते हुनेहरूमा बाँके घर भई हाल मनमैजु बस्ने १५ वर्षीया सिवानी शाही र उनका १० वर्षीय भाइ सुशान्त शाही, मध्यम) रहेका छन् । त्यस्तै, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकलका चालक सर्लाही घर भई ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय बिकी शाह र बा २ ज ३५७८ नम्बरको ट्याक्सीका चालक रामेछाप घर भई भक्तपुर बस्ने ४१ वर्षीय उर्जा लामा घाइते भएका छन् ।
अन्य घाइतेहरूमा तेह्रथुम घर भई हाल बसुन्धारा बस्ने ५७ वर्षीया विष्णुमाया खापुङ, उदयपुर घर भई हाल थानकोट बस्ने २५ वर्षीया पार्वती तामाङ, बा.प्र.–०२–०६८ प १०५६ नम्बरको मोटरसाइकलका चालक सर्लाही घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय निउजित शाह, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकलका चालक उदयपुर घर भई काठमाडौं बस्ने २५ वर्षीय बिनोद थापा मगर र नवलपुर घर भई हाल गोलढुंगा बस्ने २२ वर्षीय जीवन राना मगर रहेका छन् ।
दुर्घटनामा संलग्न सबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया