व्यवसायी दीपक भट्टदेखि देउवापुत्र जयवीरको कम्पनीसम्म : कसरी घुम्यो साढे २ करोडको शंकास्पद पुँजी ?

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा एमालेका नेता विष्णु पौडेल र व्यवसायी दीपक भट्टसहित १४ जनाविरुद्ध विशेष अदालतमा दर्ता गरेको अभियोगपत्रले नेपालको व्यापारिक घरानाबाट राजनीतिक नेतृत्वका परिवारसम्म पुग्ने शंकास्पद वित्तीय मार्ग उजागर गरेको छ ।

विभागको विश्लेषण अनुसार, थुनामा रहेका व्यवसायी दीपक भट्टको कम्पनीबाट निस्किएको रकम सिधै राजनीतिक नेतृत्वका परिवारको लगानी रहेका कम्पनीहरूमा ओसारपसार भएको देखिएको छ ।

यसरी बाहिरिएको रकम नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवाको लगानी रहेका स्कालर इन्टरनेशनल र डिजी हट नामक कम्पनीमा पुगेको हो । कुल २ करोड ६० लाख रुपैयाँको यो कारोबार सामान्य व्यावसायिक साझेदारी हो वा राजनीतिक संरक्षणका लागि गरिएको फन्ड ट्रान्सफर, त्यो अहिले अनुसन्धानको घेरामा छ। विभागले यसलाई कसुरबाट प्राप्त रकमको शुद्धीकरण गर्ने प्रयासको रूपमा हेरेको छ ।

असार तेस्रो साता नै विभागमा हाजिर हुन जारी गरिएको म्याद गुज्रिसक्दा पनि जयवीर सम्पर्कमा नआउनुले यो वित्तीय कारोबारभित्र अझै ठूलो रहस्य लुकेको हुनसक्ने आशंकालाई बल पुर्‍याएको छ । विभागले यस वित्तीय नेक्ससको अन्तिम बिन्दुसम्म पुग्ने गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

सबैभन्दा गम्भीर प्रश्न त राज्यको कानुनी प्रक्रियामाथिको बेवास्ता हो । कुनै सर्वसाधारणलाई प्रहरी वा विभागले बोलाउँदा २४ घण्टाभित्र उपस्थित हुनुपर्ने बाध्यता हुन्छ । तर, विगतमा देशकै ठूलो दलका शीर्ष नेताका पुत्रको बुढानीलकण्ठस्थित घरमा विभागले सूचना टाँस्छ, तर पनि उनी हाजिर हुँदैनन् ।

प्रतिक्रिया