केन्द्रीय अनुसन्धान ब्यूरोको १६औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रमबीच केन्द्रीय अनुसन्धान ब्यूरोको १६औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ब्यूरोका पूर्व प्रमुखहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै ब्यूरोमा कार्यरत रहि उल्लेखनीय कार्य गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारीहरू एवम् अपराध अनुसन्धानमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा विशिष्ट योगदान पुर्‍याउने विभिन्न निकायहरूलाई कदरपत्र प्रदान गरे । साथै, उनले केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा प्रकाशित ‘सीआईबी म्यागजिन’ को लोकार्पण समेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले स्थापनाकाल देखि जघन्य प्रकृतिका अपराध, संगठित, आर्थिक एवम् जटिल अपराधहरूको अनुसन्धानका साथै न्यायपूर्ण, सुरक्षित एवम् समृद्ध नेपाल निर्माणमा ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष, विश्वसनीय र उत्कृष्ट अनुसन्धान संस्थाको रूपमा नागरिकको पूर्ण विश्वास हासिल गर्दै राष्ट्रको न्याय प्रणालीलाई थप सुदृढ बनाउने शुभकामना समेत व्यक्त गरे ।

प्रहरी महानिरीक्षक कार्कीले ब्यूरोले अहिले अनुसन्धान अनि मात्र पक्राउ भन्ने अनुसन्धानको न्यूनतम मापदण्डलाई आत्मसात् गर्दै तटस्थ एवम् उच्च व्यावसायिकता प्रदर्शन गरी नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्दै जघन्य, संगठित, अन्तरदेशीय, उच्च जटिल तथा आर्थिक अपराधका बदलिँदा चुनौतीलाई सम्बोधन गर्न थप प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताए ।

अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी ब्यूरोको क्षमता अभिवृद्धि एवम् अन्तर निकाय र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्दै उत्कृष्ट अनुसन्धान निकायको रूपमा स्थापना गर्न संगठन सदैव क्रियाशील रहेको उनले बताए । डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय अपराधिक सञ्जाल र सीमापार अपराध अनुसन्धानमा खरो रूपमा प्रस्तुत हुँदै ब्यूरोले आफ्नो आदर्श वाक्य विश्वसनियता, निष्पक्षता र साहसलाई अक्षुण्ण रूपमा कायम गरिराख्ने विश्वास लिएको उनले बताए ।

कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, विभिन्न मन्त्रालयका सहसचिवहरू, सहन्यायाधिवक्ताहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया