सोनम वाङचुकले तोडे अनसन

काठमाडौँ । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन अन्त्य गरेका छन् । उनले केन्द्रीय मन्त्री जे.पी. नड्डा र डा. जितेन्द्र सिंहका साथै लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनशन तोडेका हुन् ।

उनले यो जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका छन् । उनका अनुसार लामो छलफल, केही सर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरिएको हो ।

यसअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले उनलाई पत्र लेखेर अनशन अन्त्य गर्न आग्रह गरेका थिए । उनले एक्समा लेखेका छन्, ‘सर्तहरूबारे म चाँडै नै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिनेछु । त्यसबेलासम्म म सबैसँग जहाँसुकै कुनै पनि प्रकारको हिंसा हुन नदिन र यस विषयमा अत्यन्त सतर्क रहन आग्रह गर्दछु ।’

मेडिकल शिक्षा सम्बन्धी नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन् । यही मागको समर्थनमा सोनम वाङचुक विगत २६ दिनदेखि आमरण अनशनमा बसेका थिए ।

पेपर लिकविरुद्ध कडा सजायको कानुन ल्याउने मोदीको घोषणा

यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मध्यराति पेपर लिक (प्रश्नपत्र चुहावट) विरुद्ध कडा सजायको व्यवस्था गर्ने कानुन ल्याइने घोषणा गरेका छन् । यससम्बन्धी कानुनको मस्यौदामाथि आज मन्त्रिपरिषद् (क्याबिनेट) बैठकमा छलफल हुने र कडा निर्णय लिइने उनले बताएका छन् । मन्त्रिपरिषद्को स्वीकृतिपछि उक्त विधेयक अर्को साता संसदमा पेश गरिनेछ । साथै, यसलाई छिट्टै पारित गराउने प्रयास पनि गरिने उनले जनाएका छन् ।

पेपर लिक प्रकरणको विरोधमा ककरोच जनता पार्टीले विगत एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गर्दै आएको छ । ककरोच जनता पार्टीले आज पनि शान्तिपूर्ण प्रदर्शन गर्न आफ्ना समर्थकहरुलाई आह्वान गरेको छ । प्रधानमन्त्री मोदीले राति ११:५२ बजे आफ्नो सामाजिक सञ्जाल एक्समा २ मिनेट ५६ सेकेन्डको भिडियो सन्देश सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया