काठमाडौँ । पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड चलचित्र ‘टासी’को छायांकन सोमबारदेखि मुस्ताङमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर त्यहाँका ३ स्थानीय तहका विभिन्न स्थानमा चलचित्र ‘टासी’को छायांकन गरिन लागिएको हो ।
हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित चलचित्र ‘टासी’को ठूलो जम्बो टोली अहिले मुस्ताङ पुगिसकेको छ । कतिपय आउने क्रममा रहेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड चलचित्र ‘टासी’ निर्माण गर्न लागेको हो ।
नेपालका विभिन्न जिल्लामा छायांकन गर्ने योजना बनाइरहेको सो चलचित्रको युनिट यतिबेलामा भने छायांकनका लागि त्यहाँ आइपुगेको छायांकनस्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिएका हुन् । उनका अनुसार चलचित्रका लागि करिब ३०० भन्दाबढी जनशक्तिसहित ८० बढी कार तथा भ्यान, साना ठूला सामान बोक्ने ट्रक ५० भन्दाबढी र शौचालय, बाथरुम, भान्सा तथा सुत्नेसमेतको व्यवस्था भएका १० भन्दा बढी सवारी साधन मुस्ताङ भित्रिएका हुन् ।
टोली पुगेपछि जोमसोम र पुथाङ विमानस्थलका करिब २ दर्जन होटल १ महिनाका लागि अग्रिम बुकिङ भइसकेको छ । घरपझोङ गाउँपालिका–५ को कुछ्प तेरङ्गा गुम्बा र घरपझोङ–१ को लक्कीमा सो चलचित्रको छायांकन हुने छ ।
यसैगरी थासाङ गाउँपालिकाको बोक्सी खोला र बारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान तथा लुप्रा पासमा चलचित्रको छायांकन गर्ने योजना रहेको गुरुङको भनाइ छ ।
सगरमाथा आरोही शेर्पाको हिमाल आरोहण, हिमाली सभ्यता, त्यहाँको जैविक विविधतालगायत परिदृष्य चलचित्रमा समेटिने बताइएको छ । मुस्ताङमा सोे चलचित्र छायांकनका लागि वेडनेस आउटडोर कम्पनीले सम्बन्धित यहाँका स्थानीय तहलाई ‘लोकेसन’ छायांकनका लागि १ हप्ताअघि राजस्व शुल्कसमेत बुझाइसकेको छ ।
जल्लाका ३ पालिकामा छायांकन हुने चलचित्रको युनिट आएसँगै जोमसोमका होटल भरिभराउ भएको पर्यटन व्यवसायी राकेश भट्टचनले जानकारी दिए । पर्यटन व्यवसायी भट्टचनले राष्ट्रिय गौरवको कोरला सडक सहज भएसँगै मुस्ताङमा हलिउड, बलिउड र कलिउड चलचित्र छायांकन गर्नेक्रम बढेको बताए । ‘मुस्ताङमा यस प्रकारका चलचित्र छायांकनले यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्ने र चलचित्रका माध्यमबाट यहाँको पर्यटन विकास र प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउँछ’, उनले भने ।
मुस्ताङमा सडक सञ्जालको विकास नहुँदाका बखत बलिउड चलचित्र ‘खुदा गवाह’ छायांकन भएको थियो । त्यसपछि सबैभन्दा ठुलो लागतको हलिउड चलचित्र ‘टासी’ छायांकन हुन लागेको हो । मुस्ताङका धार्मिक तथा पर्वतीय पर्यटन विकासमा यहाँ छायांकन हुने चलचित्रले टेवा पु¥याउने गरेको छ । मुस्ताङमा पछिल्लो १० वर्षको अन्तरालमा दर्जनौँ नेपाली, हिन्दी र अंग्रेजी चलचित्र छायांकन भइसकेका छन् । यसैगरी सट मुभी, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि पनि मुस्ताङ प्रसिद्ध छायांकन केन्द्र बन्दै जान थालेको छ ।
प्रतिक्रिया