पहिलो पटक राष्ट्रिय महिला मादल वादन प्रतियोगिता हुँदै

काठमाडौं । देशमै पहिलो पटक राष्ट्रिय महिला मादल वादन प्रतियोगिता हुने भएको छ । कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा यही २७ वैशाखमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रम संयोजक एवं लोकदोहोरी गायिका टिका पुनले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद् सदस्य समेत रहेकी गायिका पुनले अहिलेसम्म देशमा महिलाहरु वाद्यवादनमा पछि परेको भन्दै महिलाहरुले पनि यस क्षेत्रमा रहेर जीविकोपार्जन गर्न सकुन् भन्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको बताइन् । साथै यस प्रतियोगितामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने उनको भनाई छ ।

‘नारीको कला, नारीको सान’ भन्ने मूल नारासहित कार्यक्रम हुन लागेको हो । प्रतियोगितामा भाग लिनका लागि महिला मादल वादकहरुलाई आह्वान भएसँगै टिम दर्ता गर्ने क्रम पनि चलिरहेको कार्यक्रम संयोजक पुनले जानकारी दिइन् ।

प्रतियोगितामा भाग लिनका लागि यही वैशाख २५ गतेसम्म मिति तोकिएको उनले बताइन् । साथै काठमाडौं बाहिरबाट भाग लिन आउने प्रतियोगिहरुलाई खाने र बस्ने व्यवस्था पनि मिलाइएको गायिका पुनले जानकारी दिइन् ।

सो प्रतियोगितामा विजेताले ५५ हजार रुपैयाँ, उपविजेताले ३५ हजार रुपैयाँ, तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार र चौथोले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगीतामा भाग लिन हालसम्म ४२ जनाले नाम टिपाएको गायिका पुनले बताइन् । अहिलेसम्म देशमै महिला मादल वादन प्रतियोगिता नभएकाले यस प्रतियोगिताले इतिहास रच्ने उनले जिकिर गरिन् ।

‘विगतमा हाम्रो गाँउ ठाँउमा महिलाहरुको कुनै कार्यक्रम होस् या तीज कार्यक्रममा पुरुषहरुलाई मादल बजाउन बोलाउनु पर्ने अवस्था थियो, त्यो समय मादल बजाउन बोलाउँदा पुरुषहरु कहिले आइदिने कहिले नआएर महिलाहरु मर्कामा परेका धेरै पीडाहरु अझै ताजै छन्’, उनले भनिन् ।

महिला मादल वादन प्रतियोगिताका निर्णायक संयोजक तथा वरिष्ठ मादल वादक खड्ग बुढा मगरले नेपाली मौलिक गीत संगीतको संरक्षण, महिलाहरुका प्रतिभा उजागर गर्नुका साथै मौलिक बाजा मादलको संरक्षण र विकास गर्ने उद्देश्यका साथ इतिहासमै पहिलो पटक यस प्रतियोगिता हुन लागेको बताए ।

कार्यक्रमको उद्देश्य र तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिान नेपालका पूर्वअध्यक्ष चन्द्र शर्माले देशमै पहिलो पटक आयोजना हुन लागेको यस महिला मादल वादन प्रतियोगिता महिलाहरुका लागि महत्वपूर्ण अवसर मिलेको बताए । साथै उनले प्रतियोगिताको संयोजन गरेकोमा गायिका टिका पुन र आयोजकको प्रशंसा गर्दै प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे ।

महिला मादल वादनमा प्रतियोगिले कम्तिमा ५ मिनेट या बढीमा ७ मिनेटभित्र आफ्नो प्रस्तुति दिनुपर्ने, मौलिक धुन वा गीतमा कम्तिमा दुईवटा ताल बजाउनुपर्ने छ, उक्त गीत वा धुनमा वादन वा गायनमा बढीमा तीन जनासम्म साथीहरु समावेश गर्न सक्ने र आफै गाएर पनि बजाउन सक्ने निर्णायक संयोजक खड्ग बुढा मगरले बताए ।

त्यसैगरी प्रतियोगिको क्रमसंख्या दर्ता नम्बर अनुसार हुने, वाद्य सामग्री आफै ल्याउन सकिने र नल्याएको खण्डमा आयोजकले व्यवस्था गर्नेछ । मादल वादन प्रस्तुत गर्दा प्रतियोगी नेपाली पोशाकमा हुनुपर्ने, प्रतियोगिले चाहे अनुसार मादल प्रयोग गर्न सक्ने, निर्णायकहरुको मत बाझिएमा जुरी निर्णायकको सल्लाह अनुसार सहमतिमा आउनुपर्ने र अन्तिममा मुख्य निर्णायकहरुको निर्णयले नै मान्यता पाउने संयोजक बुढा मगरले जानकारी दिए ।
विगतदेखि वाद्यवादनको प्रशिक्षण दिँदै आएका उनले हालसम्म १५० भन्दा बढी महिलाहरुले आफूबाट मादल बजाउन सिकेको सुनाउँदै झण्डै १०–१२ जना यही पेशामा क्रियासील भएको बताए ।

प्रतिक्रिया