महांकाल, ह्याङले, हेटौँडा र थाहा प्रकाश दाहाल स्मृति भलिबलको सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौँडा उपमहानगरपालिका, र थाहा नगरपालिका पहिलो प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारीअनुसार सेमिफाइनल प्रवेशको क्रममा महांकालले बाग्मती गाउँ पालिकालाई २५–२२, २९–२९ ले हराएको हो । महांकालले सेमिफाइनलमा थाहासँग खेल्नेछ । थाहाले माडी नगरपालिकालाई २५–१७, २५–२१ ले हराएको हो ।

हेटौँडाले खाँडादेवी गाउँपालिकालाई २५–१२, २५–१६ ले हराएको हो । अर्को क्वार्टरफाइनल खेलमा ह्याङलेले गोकर्णेश्वर नगरपालिकालाई २५–२३, २९–२७ ले हरायो । हेटौँडा र ह्याङले सेमिफाइनलमा भिड्नेछन् ।

१६ टोलीको सहभागिता रहेको प्रतियोगिता मंगलबार सकिनेछ । प्रधानमन्त्री दाहालका छोरा ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।

प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगण तथा मानीखेलको भलिबल मैदानमा भइरहेको छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको हो । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट शीर्ष २ स्थान पाउने टोली अन्तिम आडमा प्रवेश गर्ने बोगटीले जानकारी दिए ।
आयोजक कमिटीको संयोजक डोल्मामाया गोलले प्रतियोगिताको सफलताले सो क्षेत्रमा भलिबलको विकासमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद् परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सहआयोजक रहेको छ । प्रतियोगिताको सुरुआतदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका हेटौँडा र थाहा अपराजित टोली हुन् । घरेलु टोली महांकाल भने पहिलो खेलमा हेटौँडासँग पराजित हुनुको बाबजुद उत्कृष्ट कम ब्याक गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया