बलात्कार मुद्दाबाट सफाई पाएका सन्दीप विश्वकप खेल्न जाने

काठमाडौं । बलात्कार मुद्दाबाट सफाई पाएका नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं स्पिनर सन्दीप लामिछाने अमिेरिका र वेष्ट इण्डिजमा हुन लागेको आईसीसी टी–२० विश्वकप खेल्न जाने भएका छन् । बुधबार मात्र बलात्कार मुद्दामा उच्च अदालत पाटनले उनलाई सफाई दिएको छ ।

त्यस लगत्तै स्पिनर लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको हो । बिहीबारसम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानका कोषाध्यक्ष पदम खड्काले बताए ।

बलात्कार मुद्दामा सफाइ पाएसँगै सन्दीपलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा क्यानमा सहमति भएको छ । संघका पदाधिकारीबिच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको हो ।

आईसीसीको नियम अनुसार विश्वकपमा २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा ब्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने खड्काको भनाई छ ।

बलात्कार मुद्दामा गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्ट्याउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

मंगलबार हिजो र आज बुधबार दिनभरि दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

बलात्कार मुद्दामा बुधबार उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै उनलाई निर्दोष ठहर गरेको हो ।
उच्चको यो फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर विश्वकप खेल्न पठाउने बाटो खुलेको हो । जिल्ला अदालतले दोषी ठहरर गरेपछि क्यानले उनलाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया