काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ बाट सम्मानित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा स्थापित सो सम्मान नेपाल जनप्रशासन संघले श्रेष्ठलाई प्रदान गरेको हो । २ लाख रुपैयाँ नगद राशिसहित २१औं संस्करणको सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान गरिएको हो ।
काठमाडौंको आयोजित एक समारोहका बीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उनलाई सो सम्मान प्रदान गरे । नेपालको न्यायिक निकायको नेतृत्व गरी त्यसको संस्थागत विकासमा उनले पु¥याएको अनुकरणीय योगदानको सम्मान गर्दै पूर्वप्राधानन्यायाधीश श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको हो ।
लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । सो छनोट समितिमा नेपाल जनप्रशासन सङ्घका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले र पूर्वसहसचिव जीवराज कोइराला सदस्य थिए । त्यस्तै, सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा आमन्त्रित सदस्यका रूपमा थिए ।
प्रशासक एवम् व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही सार्वजिक वितरण, सेवा र व्यवस्थापनमा प्रेरणादायी योगदान गरेका थिए । सोही योगदानको कदर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा हेमबहादुर मल्ल सम्मान २०५७ सालमा स्थापना गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया