काठमाडौं । मंगलबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेसी र रसुवागढी सडकखण्ड सशस्त्र प्रहरीसहितको सुरक्षार्मीले अस्थायी पदमार्ग बनाएर ४८५ भन्दा बढीलाई सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्याएको छ ।
साथै भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र १ ईभी गाडीलाई सुरक्षित स्थानमा सारेको छ । भोटेकोशी नदिमा आएको बाढीले ठूलो जनधनमा क्षति पुर्याउनुका साथै बाढीमा परी सुरक्षाकर्मीसहित स्थानीय सर्वसाधारण बेपत्ता भएका छन् ।
बेपत्ता भएकाहरुमा ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनीयाँ नागरिक रहेका छन् । हालम्म ४ जनाको शव फेला परेको छ भने ५ वटा मानव अंग मात्र फेला परेको प्रहरीले जनाएको छ । फेला परेको शवमध्ये १ वटा शवको मात्र पहिचान हुन सकेको छ भने अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
उक्त शव तथा मानव अंग धादिङको गजुरी गाउँपालिका–६ बेल्खु, गल्छी गाउँपालिका–२ केउरेनीटार, बेनिघाट रोराङ गाउँपालिका–३ लामाबगर र चरौदी, गजुरी गाउँपालिका–२ मलेखु, नुवाकोट जिल्लाको विदुर–३ शिरखाली र मरनपाटी, रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधाम खोलाको किनारा तथा त्रिशुली नदिको किनारामा फेला परेको थियो ।
ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकाशी नदीमा मिसिँदा सो नदिले उग्ररुप लिएर रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने पुलमा समेत क्षति पुर्याएको छ । नेपाल–चिन भन्सार नाका जोड्ने बाटो हाल अवरुद्ध भएको छ ।
उक्त क्षेत्रमा विद्युतीय लाईन अवरुद्ध छ भने सञ्चारका साधनहरुले समेत काम गर्न छाडेको छ । सो क्षेत्रमा उद्धारको लागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधरणहरु समेत खटिएका छन् । नेपाली ५० जना, चिनीयाँ नागरिका १ जना भारतीय नागरिक ४ जना गरी ५५ जनाको मंगलबार सकुशल उद्धार गरिएको थियो ।
उद्धार गरिएकामध्ये ४ महिला र ५१ पुरष रहेका छन् । २३ जनालाई नेपाली सेनाको हेलिकपटरद्वारा सकुशल उद्धार गरिएको थियो भने अन्य व्यक्तिलाई विभिन्न उद्धार सामग्रीको सहयोगले उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ ।
त्यस्तै भोटेकोशी नदीमा आएको बाढीले जोखिमा रहेका घरपरिवारका १६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विभिन्न निजी कम्पनीको हेलिकप्टरद्वारा अमंगलबार र बुधबार उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।
भोटेकोशीमा आएको बाढीले ४२ वटा ईभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रक लगायत लोडर , एक्जाभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसीन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ ।
भन्सार क्षेत्रमा रहेको ईभी गाडीका चार्जिङ स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडवक्र्स र लेवर क्याम्प, चिलिमे जलविद्युत आयोजनाको सुरुङ मार्गमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ । बेपत्ता व्यक्तिको खोज, उद्धार तथा पुनः निर्माणमा समेत जिल्ला समितिको बैठक बसी विभिन्न निर्यणहरु गरी जिल्लाका सम्पूर्ण संयन्त्रलाई सक्रिय बनाउँदै आएको छ ।
प्रतिक्रिया