उज्वेकिस्तानमा महिला फुटबलको विवादबारे एन्फाको स्पष्टिकरण– प्रशिक्षक वाइल्डले कप्तानको नाम दिएनन्

काठमाडौं । केही दिनअघि उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएकी छन् ।

आज बुधबार पत्रकार सम्मेलन गर्दै सरिलाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले कप्तानको नाम नदिएका कारण आफूहरुले कप्तानको नाम पठाउनुपरेको बताइन् ।

टिम व्यवस्थापक सरिलाले खेल सुरु हुनुभन्दा ९० मिनेटअघि टिमको नाम दिनुपर्ने प्रावधान अनुसार प्रशिक्षकसँग लिष्ट मागेको र उक्त लिष्टमा कप्तानको नाम उल्लेख नगरेपछि आफैँले सिनियारिटीका आधारमा रेनुकालाई कप्तान बनाइएको दाबी गरिन् ।

‘खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै खेलाडीको लिष्ट बुझाउनुपर्छ, हामीले बारम्बार माग्दा पनि उहाँले ९० मिनेटअघि दिँदैन भन्नुभयो, ९० मिनेटभन्दा ५ मिनेटअघि दिनुभयो, जसमा कप्तानको नाम थिएन, हामीले सिनियारिटी हेरेर रेनुकालाई कप्तान बनाएका थियौँ’, उनले भनिन् ।

खेलाडी मैदान प्रवेश गर्दा प्रशिक्षकले एक्कासी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइदिएको सरिलाले बताइन् । छनोटअन्तर्गत पहिलो खेलअघि नेपाली महिला फुटबल टोलीको कप्तान एक घण्टामै परिवर्तन गरिएको थियो ।

उनले साम्बा कप्तान नबनाउने भनेर कुनै राजनीति नगरिएको पनि दाबी गरिन् । उनले भनिन्, ‘अन्तिममा कप्तान चयन हुँदा यस्तो समस्या भएको हो, त्यसमा तपाईंहरुले अन्यथा नसोचिदिनुहोला, साम्बा एकदिन १०० प्रतिशत कप्तान हुन्छ, यो देशमा अरु आउँछ भन्ने सोच छैन, त्यसकारण उहाँलाई नबनाउने भनेर पोलिटिक्स गरेको होइन ।’

सुरुमा रेनुका नगरकोटीलाई कप्तानको जिम्मेवारी दिए पनि त्यसको एक घण्टा नबित्दै सावित्रा भण्डारी ‘साम्बा’लाई कप्तानको आर्मब्याण्ड लगाइएको थियो ।

प्रतिक्रिया