काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानको तासकन्दमा सम्पन्न एएफसी महिला एसिया कप छनोट प्रतियोगितालाई कहिले बिर्सन नसक्ने प्रतियोगिताका रूपमा लिएको छ । टोलीका सदस्यहरूलाई फुटबल खेलबाट सन्न्यास लिइसकेपछि पनि सो प्रतियोगिताको नतिजाले पिरोलिरहने नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले काठमाडौँ फर्केपछि भनेकी छन् ।
सोमबार स्वदेश फर्कंदासमेत महिला फुटबल टोलीका सदस्यहरूको अनुहारमा खुसी थिएन । सो टोलीका प्रशिक्षकहरूले पनि यो दुःखद् क्षणलाई आगामी दिनमा पनि पक्कै बिर्सने छैनन् । नेपाली महिला फुटबल टोलीका लागि यो जत्तिको ठूलो प्रतियोगिता केही थिएन । यो अवसरलाई नेपाली टोलीले सही तरिकाले उपयोग गरेको थियो ।
सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको नेपाली महिला फुटबल टोलीले १००औँ प्रतियोगिताका सिलसिलामा सबैभन्दा आक्रमक खेल खेल्दै हालसम्मकै सर्वाधिक गोल गर्न सफल भएको थियो । नेपाली महिला फुटबल टोलीको फाइटिङ स्पिरिटको सकारात्मक सन्देश सबैतिर फैलिएको छ । अन्तिम खेलमा उज्वेकिस्तानलाई कडा चुनौती दिँदा नेपाली टोली पेनाल्टी सुटआउटमा चुकेको थियो । नेपाल सम्भावित विजेताको अवसरबाट वञ्चित हुन पुग्यो । यसले नेपालको महिला फुटबलको आगामी मार्गसमेत अवरोध हुन पुग्यो ।
अखिल नेपाल फुटबल संघले खेलको नतिजा चाहेको जस्तो नभएको जनाएको छ । संघले सबैको सहयोगको कदर पनि गरेको छ । नेपाली टोलीकी स्ट्राइकर प्रिति राईले नेपालको पराजयपछि सामाजिक सञ्जालमार्फत सबैसँग माफी मागेकी छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले आफ्नो नियुक्तिपछिको पहिलो जिम्मेवारीमै नेपाली महिला टोलीको खेलमा अत्यधिक सुधार गरेको स्पष्ट महसुस गराएका थिए । नेपाली खेलाडीहरूले ३ वटा खेलमा सुधार गर्दै लगेको देखिएको थियो । यसमा मुख्य प्रशिक्षकको भूमिका महत्वपूर्ण मानिएको छ । मुख्य प्रशिक्षकले मैदानमा होस वा ड्रेसिङ रूममा दिएको जिम्मेवारी र सिकाएको शैलीलाई खेलाडीहरूले पछ्याएका थिए ।
उज्वेकिस्तानसँग ३ गोलले पछि पर्दा पनि नेपालले गोल फर्काउन सक्नु सानो उपलब्धि होइन । तर पेनाल्टीमा चुक्नु नेपालका लागि दुर्भाग्य बन्न पुग्यो ।
साबित्रालाई कप्तानको जिम्मेवारी दिँदा पहिले विवाद पनि भएको थियो । कप्तानको जिम्मेवारी पाएपछि आफू ३ वटै खेल खेल्नुअघिको राति सुत्न नसकेको स्वयं साम्बाले स्वीकारेकी छन् ।
११ वर्ष महिला फुटबलमा बिताएकी साम्बाले यति ठूलो दबाब कहिल्यै पनि बेहोरेकी थिइनन् । उनी टोलीका सबै खेलाडी कप्तान भएको मान्दछिन् । सबैको सहयोगमा उनको नेतृत्वमा टोलीले नतिजा हासिल गर्न सफलता प्राप्त गरेको थियो । नेपाली राष्ट्रिय महिला टोलीको पहिलोपटक नेतृत्व गर्ने जिम्मेवारी पाएकी साम्बाले नेपाललाई एसिया कपमा प्रवेश गराउन नसके पनि नेपाली टोलीलाई सशक्त टोलीका रूपमा मैदानमा उतार्न सक्नु उनको सफलता मान्न सकिन्छ ।
तासकान्दमा खेलेका ३ वटै खेलमा नेपालले विपक्षी टोलीहरूलाई कडा चुनौती दिएको थियो । विश्व वरीयताका क्रममा ५१औँ स्थानमा रहेको उज्वेकिस्तानलाई १००औँ स्थानमा रहेको नेपालले रक्षात्मक वा आक्रामक दुवै पंक्तिका तर्फबाट यथोचित प्रतिस्पर्धा गरेको थियो । कप्तान साम्बाले यसपालि ३ वटै खेलमा ह्याट्रिक गरेर कीर्तिमान कायम गरेकी थिइन् । उनले अन्तिम दिनको खेलमा २४औँ, ७१औँ र ७३औँ मिनेटमा लगातार ३ गोल गरेर प्रतियोगितामा तेस्रो ह्याट्रिक गरेर आफूलाई विश्वकै अब्बल दर्जाको खेलाडीका रूपमा परिचित गरेकी छन् ।
प्रतिक्रिया