क्यानले गर्यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं स्पिनर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।

बलात्कार आरोपको मुद्दा खेपिरहेका लामिछानेले बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले निलम्बन फुकुवा गरेको जनाएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई फुकुवा गरिएको बताएका छन् ।

उनले भनेका छन्, ‘सम्मानित उच्च अदालत पाटनको जेठ २ को फैसलाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला भएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँछौँ ।’ बलात्कार मुद्दामा गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

बुधबार उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै उनलाई निर्दोष ठहर गरेको हो । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किएका छन् ।

उच्चको यो फैसलापछि क्यानले सन्दीपलाई निलम्बन तत्काल फुकुवा गरेर टी–२० विश्वकप खेल्न पठाउन बाटो खुलेको हो । जिल्ला अदालतले दोषी ठहरर गरेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया