बलात्कार मुद्दामा सन्दीपलाई सफाइ, निलम्बन फुकुवा, विश्वकप खेल्ने

काठमाडौँ । बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत, पाटनबाट सफाइ पाएका छन् । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बलात्कार नठहर्ने फैसला गरेको हो ।

मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो फैसला आएको हो । जिल्ला अदालतको फैसलाविरुद्ध लामिछानेले १० फागुनमा उच्च अदालतमा पुनरावेदन दिएका थिए । उनलाई अदालतले थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति दिएको थियो ।

यसअघि गौशाला २६ ले दायर गरेको मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुसमा सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी सजाय सुनाएको थियो ।

उक्त प्रकरणमा सन्दीप र गौशाला २६ (सांकेतिक नाम) बीच शारीरिक सम्बन्ध मञ्जुरीमा भएको थियो कि थिएन, पीडितको उमेर १८ वर्ष नाघेको थियो कि थिएन भन्ने मूल विवाद थियो । जिल्ला अदालतले जन्मदर्ता प्रमाणपत्रलाई आधार मानी करणीका बखत पीडित १८ वर्ष पुगिसकेको मानेको थियो । सम्पन्न अनि प्रभावशाली व्यक्तित्व भएका सन्दीपले पीडितको विपन्नताको गलत फाइदा उठाएको तर्क गर्दै बलात्कार ठहर गरेको थियो । जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले लामिछानेलाई निलम्बन गरेको थियो ।

यसअघि ३ वैशाखमा उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले किशोरीले दोस्रो पटक जन्मदर्ता प्रमाणपत्र बनाउँदा गाउँपालिकामा दिएको निवेदन झिकाउन आदेश दिएको थियो । जाहेरवालाका तर्फबाट सरकारी वकिल कार्यालयले पनि उनी नाबालिग नै रहेको दाबी गर्दै उच्च अदालतमा पुनरावेदन दिएपछि अदालतले जन्मदर्ता गराउँदा दिएको निवेदन नै झिकाउने आदेश गरेको हो । त्यसपछि जाहेरवाला र सन्दीप दुवैका पुनरावेदन एकसाथ राखी अदालतले सुनुवाइ अगाडि बढाएको थियो ।

अदालतले बुधबार निर्णय गर्ने क्रममा गौशाला २६ नाबालिग भन्ने दाबी प्रमाणित नभएको पहिलो आधार लिएको छ भने जबरजस्ती करणी गरेको प्रमाणले पुष्टि नगरेको पनि इजलासको ठहर छ ।
सन्दीपले ५ भदौ, २०७९ मा गौशालास्थित तिलगंगामा रहेको एक होटलमा बलात्कार गरेको आरोपमा एक युवतीले २१ भदौमा जाहेरी दिएकी थिइन् । अफ्रिकी मुलुक केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला सकेर सिपिएल खेल्न उतैबाट वेस्ट इन्डिज लागेका लामिछाने सिपिएलमै व्यस्त थिए । सिपिएल चलिरहेकै बेला काठमाडौँमा एक किशोरीले लामिछानेविरुद्ध गौशाला प्रहरीमा जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । जाहेरीमा ५ भदौमा लामिछानेले ती किशोरीलाई जबरजस्ती नगरकोट पुर्याएको र केही समय त्यहाँ बसेर राति तिलगंगाको एक होटलमा पुर्याई जबरजस्ती करणी गरेको उल्लेख छ । लामिछाने ६ भदौमा केन्यासँग एकदिवसीय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए । घटनाको करिब २ सातापछि मात्रै पीडित किशोरी प्रहरीमा पुगेकी थिइन् ।

२२ भदौमा काठमाडौँ प्रहरी वृत्त गौशालाले जाहेरी दर्ता गरेको थियो । २३ भदौमा काठमाडौँ जिल्ला अदालतले लामिछानेविरुद्ध दर्ता भएको कसुरमा अनुसन्धान गर्न पक्राउ आदेश जारी गर्यो । त्यही दिन प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी ‘फरार सूची’ मा समेटेको थियो । यता, क्यानले पनि अदालतबाट पक्राउ आदेश आएकै दिन लामिछानेलाई कप्तानबाट निलम्बन गरेको थियो ।
निलम्बनमा परेपछि २४ भदौमा लामिछानेले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू निर्दोष रहेको र आधारहीन आरोप लगाइएको दाबीसहित कानुनी लडाइँ लड्ने बताएका थिए । त्यसयता उनी सम्पर्कविहीन थिए । तर, २० असोजमा कतार एयरवेजबाट काठमाडौँ आएपछि उनलाई त्यहीँबाट गिरफ्तार गरिएको थियो ।

निलम्बन फुकुवा, विश्वकप खेल्ने

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेस्ट इन्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।

क्यानले मंगलबार नै सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरिसकेको छ । उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको क्यानले जनाएको छ । ‘हामी बिहीबारसम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौँ । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँछ’, क्यान निकट स्रोतले भन्यो ।

आइसिसीको नियमअनुसार विश्वकपमा २४ मेसम्ममा कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने भन्ने विषय कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भर पर्ने नेपाल क्रिकेट संघका एक अधिकारीले बताए ।

प्रतिक्रिया