नेपालको जितमा पूजाको अलराउन्ड प्रदर्शन

काठमाडौँ । उपकप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अभ्यास खेलमा भारतको स्थानीय टोली आरपिसिए गल्र्सलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले ४ रनको रोमाञ्चक जित हात पारेको छ । यसअघि नेपालले दिल्लीको टोलीसँग ३ हार बेहोरेको थियो । १ खेल वर्षाले सम्भव भएको थिए ।

आरपिसिएसँगको पहिलो खेलमा ३२ रनको हार बेहोरेको थियो । नेपालले दिएको १३० रनको लक्ष्य पछ्याएको आरपिसिएले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन मात्रै बनाउन सक्यो ।

आरपिसिएकी नजमा खानले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए । ३२ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरिन् । भुर २९ र मानवी २० रनमा आउट भए । नेपालकी पूजाले सर्वाधिक २ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले १९ रन खर्चिइन् । कविता कुँवर र सबनम राईको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ८ विकेट गुमाएर १२९ रन बनाएको थियो । नेपालकी राजमती ऐरीले सर्वाधिक २६ रन बनाइन् । १५ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् । रुबी पोद्दार २०, कविता कुँवर १८, पूजा १६ र इन्दु बर्मा १५ रनमा आउट भइन् ।
कविता जैशी १९ रनमा अविजित रहिन् । आरपिसिएकी मेधावी र दीक्षाको नाममा समान २ विकेट रह्यो । अमन र परले आफ्नो नाममा समान १ विकेट लेखाए ।

प्रतिक्रिया