म्युनिख । बायर्न म्युनिखले यस सिजनको बुन्डेसलिगा उपाधि जितेको छ । यो जितले क्लबलाई २०१२ यताकै पहिलो उपाधिविहीन सिजनबाट पुनरागमन गर्ने अवसर दिएको छ । बायर लेभरकुजेनले फ्राइबर्गसँग २–२ को बराबरी खेलेपछि बायर्न २ खेल अगाबै च्याम्पियन बनेको हो । बायर्नसँग अहिले नै ८ अंकको अग्रता छ, जुन लेभरकुजेनले भेटाउने सम्भव छैन ।
यो बायर्नको कीर्तिमानी ३४औँ जर्मन लिग उपाधि हो । सन् १९३२ मा क्षेत्रीय विजेता टोलीहरूबीचको नकआउट प्रतियोगिताबाट आएको पहिलो उपाधिबाहेक बाँकी सबै उपाधि बुन्डेसलिगा स्थापना (१९६३) पछि जितिएको हो ।
लेभरकुसेनले गत सिजन बायर्नको ११ वर्ष लामो एकछत्र राज अन्त्य गरे पनि यसपटक नयाँ प्रशिक्षक भिन्सेन्ट कोम्पनी, इंग्ल्यान्डका स्टार ह्यारी केन र लेभरकुजेनको खराब लयको फाइदा उठाउँदै पुनः उपाधिमा कब्जा गरेको हो ।
यो सिजन बायर्नले रोबर्ट लेवान्डोस्की युगको पूर्ण अन्त्य ग¥यो । केनको आगमनसँगै बायर्न उनीमाथि निर्भर भएको देखिन्छ । लेवान्डोस्कीका पुराना सहयात्री सर्ज ग्नाब्री र किङ्स्ले कोमान पहिले जस्तो चम्किएका छैनन् ।
यो उपाधि यात्रामा ३५ वर्षीय थोमस मुलर पनि बेन्चमा सीमित भए । जमाल मुसियालाले चोटबीच पनि १२ गोल गर्दै आक्रमणमा बलियो प्रभाव पारेका छन् । माइकल ओलिसेले क्रिस्टल प्यालेसबाट आएका पहिलो सिजनमै १० गोल र १७ असिस्ट दिँदै मुख्य खेलाडीको रूपमा उभिएका छन् । ह्यारी केनले मात्र बुन्डेसलिगामा २४ गोल गरेका छन् ।
इंग्ल्यान्डमा म्यानचेस्टरको खराब प्रदर्शन
म्यानचेस्टर युनाइटेडले आइतबार प्रिमियर लिगको यो सिजनमा क्लबकै कीर्तिमानी १६औँ हार बेहोर्दै लज्जास्पद प्रदर्शनलाई निरन्तरता दियो । उता, च्याम्पियन्स लिगमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेको न्युक्यासलले ब्राइटनसँग १–१ को बराबरी गर्न अन्तिम समयको पेनाल्टीको सहारा लिनुप¥यो । ब्रेन्टफोर्डसँग युनाइटेड ४–३ ले पराजित भयो । मुख्य प्रशिक्षक रुबेन अमोरिमले प्रिमियर लिगको इतिहासमै युनाइटेडको सबैभन्दा कम उमेरको टोली मैदानमा उतारेका थिए ।
युरोपा लिग सेमिफाइनलमा एथ्लेटिक बिल्बाओ खेल्न उनले यो निर्णय लिएका हुन् । प्रिमियर लिगको अंक तालिकामा १५औँ स्थानमा रहेको युनाइटेडले ३९ अंक मात्रै जोडेको छ । यो क्लब इतिहासकै सबैभन्दा खराब लिग अंक र स्थान हो ।
ब्राइटनका लागि पहिलो हाफमा न्युक्यासलका पूर्व खेलाडी यानकुबा मिन्टेहले गोल गर्दै सानदार सुरुआत दिलाएका थिए । तर, अन्तिम समयमा एलेक्ज्यान्डर इसाकले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
न्युक्यासल जितेको भए तेस्रो स्थानमा उक्लन सक्थ्यो । चेल्सी, नटिंघम फरेस्ट र एस्टन भिल्लाले क्यासललाई भेटाउने सम्भावना बढेको छ । अहिले न्युक्यासल चौथो स्थानमा छ र ती ३ क्लबभन्दा ३ अंकले मात्र अगाडि छ ।
चेल्सीले आइतबार साँझ पहिले नै उपाधि जितिसकेको लिभरपुललाई घरेलु मैदानमा सामना गर्दै छ भने फरेस्टले सोमबार क्रिस्टल प्यालेसको मैदानमा खेल्ने छ ।
त्यस्तै, आइतबारकै अर्को खेलमा वेस्ट ह्याम र टोटनह्यामबीचको खेल १–१ को बराबरीमा सकियो । टोटनह्याम युरोपा लिग सेमिफाइनलमा पनि छ । उसले गत बिहीबार नर्वेजियन क्लब बोदो÷ग्लिम्टलाई पहिलो लेगमा ३–१ ले हराएको थियो ।
प्रतिक्रिया