काठमाडौँ । आगामी वर्ष जापानको नागोयामा हुने एसियाली खेलकुदमा क्रिकेटलाई पनि समावेश गरिने भएको छ । एसियाली ओलम्पिक परिषद् (ओसिए) क्रिकेटलाई २०२६ को कार्यक्रमका लागि स्वीकृति दिइएको हो । गत वर्ष हाङ्झाउमा भएको गेम्समा पनि क्रिकेट समावेश थियो । ओसिएले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘क्रिकेटको खेलस्थल आइची प्रिफेक्चरमा हुनेछ । ठ्याक्कै स्थान तोकिएको छैन ।’ क्रिकेट दक्षिण एसियामा निकै लोकप्रिय खेल भएकाले यसमा व्यापक चासो रहँदै आएको छ । साथै, सन् २०२८ को लस एन्जलस ओलम्पिकमा समेत क्रिकेटलाई टी–२० फम्र्याट समावेश गरिने तयारी छ ।
सन् २०१८ मा जकार्तामा आयोजित एसियाली खेलकुदबाट क्रिकेट हटाइएको थियो । तर, हाङ्झाउमा यसले पुनरागमन गरेको हो । टी–२० प्रतियोगितामा एकतर्फी नतिजा आएको थियो । नेपालले त मंगोलियाविरुद्ध ३१४ रनको विश्व कीर्तिमान बनाएको थियो । यस्तै, दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक प्रहार गरेका थिए । कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै विश्व कीर्तिमान राखेका थिए ।
वर्षाले प्रभावित भएको फाइनलमा भारतलाई अफगानिस्तानभन्दा वरीयतामा माथि रहेको भन्दै स्वर्ण पदक प्रदान गरिएको थियो । यो निर्णय आलोचित भएको थियो । नागोया जापानको तेस्रो सहर हुनेछ, जसले एसियाली खेलकुद आयोजना गर्न लागेको छ । यसअघि सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमाले प्रतियोगिता आयोजना गरेका थिए । हाङ्झाउमा सम्पन्न पछिल्लो संस्करणमा ४५ देशबाट १२ हजारभन्दा बढी खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गरेका थिए । चीनले लगातार ११औँ पटक पदक तालिकामा शीर्ष स्थान ओगटेको थियो ।
प्रतिक्रिया