काठमाडौँ । वैभव सूर्यवंशीको सानदार ब्याटिङमा सोमबार भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटानसँगको खेलमा ८ विकेटको जित हात पारेको छ । गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५ दशमलव ५ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । राजस्थानका लागि १४ वर्षीय वैभवले १०१ रन बनाए । वैभवले १७ बलमा अर्धशतक र ३५ बलमा शतक प्रहार गरे । उनी आइपिएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
यस्तै यशस्वी जायसवालले ७० रन बनाए । त्यसअघि सवाई मानसिंह रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २१० रनको लक्ष्य दिएको थियो ।
जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थानले बलिङ रोजेको थियो । गुजरातले ४ विकेट गुमाएर २०९ रन बनायो । शुभमन गिलले ८४ र जोस बटलरले ५० रन बनाए । हारपछि पनि गुजरात तेस्रो स्थानमा यथावत् छ भने राजस्थान आठौँ स्थानमा छ ।
सोमबारको खेलमा सानदार पारी खेल्ने क्रममा सूर्यवंशीले ११ छक्का र ७ चौका प्रहार गरे । उनले इशान्त शर्माको एउटै ओभरमा २६ रन प्रहार गरेका थिए । आइपिएलको पहिलो खेल खेलिरहेका करिम जनतको एउटै ओभरमा उनले ३० रन प्रहार गरे । ३५औँ बलमा रासिद खानलाई छक्का हिर्काउँदै १० दशमलव २ ओभरमा सूर्यवंशीले शतक पूरा गरेका हुन् ।
वैभवभन्दा अघि आइपिएलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने भारतीय खेलाडी युसुफ पठान थिए । सन् २०१० मा पठानले ३७ बलमा शतक प्रहार गरेका थिए । मुम्बईले दिएको २१३ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि ५७ बलमा १४३ रन आवश्यक थियो । त्यसपछिको ११ बलमा उनले ५४ रन प्रहार गरेका थिए ।
उनले अलि मुर्ताजाको एउटै ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए । त्यसपछिको लगत्तैको ओभरमा उनले आर सतिसको एउटै ओभरमा २४ रन प्रहार गरेका थिए । त्यस समयमा उनले आइपिएलको सबैभन्दा छिटो शतकको रूपमा कीर्तिमान कायम गरेका थिए । उनी रन आउट हुँदा राजस्थानका लागि १७ बलमा ४० रन आवश्यक थियो । सो टोली ४ रनले पराजित भयो । यो अभूतपूर्व सफलतापछि सूर्यवंशीले यशस्वी जयसवालले दिएको आत्मविश्वास नै मुख्य कारण भएको बताए । उनले बलरको परिचयभन्दा बढी बलमा ध्यान गएको बताए ।
सूर्यवंशीले राजस्थानका कप्तान सञ्जु सामसन घाइते भएपछि मात्र मौका पाएका हुन् । पहिलो २ पारीमा उनले ३४ र १६ रन प्रहार गरेका थिए । यसअघि अस्ट्रेलियासँगको यु–१९ टेस्टमा पनि ५८ बलमा शतक प्रहार गरेर उनले सनसनी फैलाएका थिए । उनले यू–१९ एसिया कपमा पनि २ अर्ध शतक प्रहार गरेका थिए ।
राजस्थानका ब्याटिङ प्रशिक्षक विक्रम राठौर भने आफूले वैभवको खेल प्रतिको लगाव र आकर्षणका कारण यसै किसिमको अस्वाभाविक प्रदर्शनको अपेक्षा गरेको बताउँछन् । ‘उनले यसो गर्न सक्छन् भन्ने मलाई थियो । नेटमा ब्याटिङ गर्ने क्रममा जोफ्रा आर्चरकै बलमा ब्याटिङ गर्ने गरेका थिए’, आर्चर नेटमा अभ्यास गर्न सबैभन्दा कठिन बलर मानिन्छन् ।
प्रतिक्रिया