एम्बाप्पेले छाडेको पिएसजी च्याम्पियन्स लिग सेमिफाइनलमा

म्याड्रिड । पेरिस सेन्ट–जर्मेन (पिएसजी) फेरि एकपटक इंग्ल्यान्डबाट उच्च मनोबलसहित फर्किएको छ । सो टोली च्याम्पियन्स लिगको दोस्रो फाइनल यात्रा अब केही हातको दुरीमा छ । मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा ओस्मान डेम्बेलेले खेलको चौथो मिनेटमै गरेको गोलले पिएसजीलाई आर्सनलविरुद्ध १–० को जित दिलाएको हो । खेलको अन्त्यतिर केही अवसरहरू नचुकाएको भए अग्रता अझ फराकिलो हुन सक्थ्यो । ‘यो एक सानदार रात थियो । हामीले अझ गोल गर्न सक्थ्यौँ । १–० को नतिजामा सन्तुष्ट छौँ । अब हामी फाइनल पुग्न सबैथोक गर्नेछौँ, पिएसजीका मिडफिल्डर भिटिन्हाले भने ।’

पहिले नै प्रिमियर लिग च्याम्पियन लिभरपुल र एस्टन भिल्लालाई नकआउट चरणमा हराइसकेको पिएसजीले आर्सनललाई पनि विपक्षीको घरेलु मैदानमा नै पराजित ग¥यो । गत अक्टोबरमा यही स्टेडियममा आर्सनलसँग पिएसजी २–० ले पराजित भएको थियो । यसपटक टोलीले परिपक्वता देखायो ।
हरेक खेलमा चम्किने खेलाडी किलियन एमबाप्पेबिना नै यो युवा टोली अझ सशक्त देखिएको छ । उल्लेखनीय कुरा के हो भने एमबाप्पेको रियल मड्रिडले यही मैदानमा क्वार्टरफाइनलमा ३–० को हार बेहोरेको थियो ।

खेलको सुरुमा नै पिएसजीले आर्सनललाई दबाबमा राख्दै आक्रमण थालेको थियो । चौथो मिनेटमा ख्विचा ख्वारात्स्खेलियाको पासमा डेम्बेलेले पहिलो टचमै गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यो गोल बनाउन पिएसजीले लगातार २६ पास खेलेको थियो, जुन सन् २००३–०४ यता च्याम्पियन्स लिगमा टोलीको सर्वाधिक हो ।

‘हामीले हाम्रो शैली देखायौँ । हामीले जसरी खेल्ने गर्छौं, त्यसरी नै खेल्दै सुरुमै गोल ग¥यो’, पिएसजीका प्रशिक्षक लुइस एनरिकेले भने । आर्सनल भने पहिलो सेमिफाइनलमा सन् २००९ यता पुगेको थियो । मध्यपंक्तिका खेलाडी थोमस पार्टे प्रतिबन्धित भएपछि टोली थप दबाबमा देखियो ।

पिएसजीको तीव्र खेल शैलीलाई आर्सनलले रोक्न सकेन । पहिलो हाफमा फ्रेन्च टोलीले पूर्ण दबाब राख्यो । उनीहरूले खेलको सुरुमै गोल गरे र पहिलो १५–२० मिनेटसम्म पूर्ण नियन्त्रणमा राखेका थिए । यो त केबल पहिलो हाफ हो, सकारात्मक पक्षमा लिन्छौँ, आर्सनलका गोलकिपर डेविड राया भन्छन् ।
ख्वारात्स्खेलियाले लगातार आर्सनललाई अप्ठ्यारोमा पारिरहे । उनले १७औँ मिनेटमा पेनाल्टीको माग गरे र २६औँ मिनेटमा रायाले सट बचाए । ३१औँ मिनेटमा डेसाइर डोउएको प्रयास पनि उनले जोगाए ।

पहिलो हाफको केहीअघि ग्याब्रियल मार्टिनेलीको सटलाई जियानलुइजी डोनारुम्माले एक हातले अद्भुत बचाउ गर्दै आर्सनललाई बराबरी गर्न दिएनन् । दोस्रो हाफमा आर्सनलले सुधारिएको प्रदर्शन ग¥यो । डेक्लान राइसको फ्रिकिकमा मिकेल मेरिनोले हेडरमार्फत गोल गरेका थिए । लामो भिएआर जाँचपछि अफसाइड ठहरियो ।

लिआन्ड्रो ट्रोसार्डको सटलाई पनि डोनारुम्माले कुशलतापूर्वक बचाए । यही त हो गोलकिपरको काम हो । होइन र ? उनीहरू त्यसैका लागि दिनरात अभ्यास गर्छन्, प्रशिक्षक एनरिकेले भने । पिएसजीका वैकल्पिक खेलाडी ब्राडली बारकोला र गोन्कालो रामोसले खेलको अन्त्यतिर स्पष्ट मौका पाएका थिए । तथापि गोल गर्न सकेनन् । बारकोलाको प्रहार थोरै फराकिलो भयो भने रामोसको प्रहार बारमा ठोकियो ।

अब हामी पेरिसमा गएर जित्नैपर्छ । च्याम्पियन्स लिग फाइनल पुग्न विशेष केही गर्नैपर्छ र हामी त्यो गर्न तयार छौँ, आर्सनल प्रशिक्षक मिकेल आर्टेटाले भने ।
दुवै टोली आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छन् । पिएसजीले सन् २०२० मा बायर्न म्युनिखसँग फाइनल हार बेहोरेको थियो । आर्सनल भने २००६ मा बार्सिलोनासँग पराजित हुँदा उपविजेता भयो । अब अर्को सेमिफाइनलमा बुधबार बार्सिलोना र इन्टरमिलान आमनेसामने हुँदैछन् ।

प्रतिक्रिया