बार्सिलोना । लामिन यमलको पोस्ट लागेर गोल भएको कर्लिङ प्रहार, मार्कुस थुरामको गज्जबको ब्याक–हिल फ्लिक, राफिन्हाको बार र गोलकिपर लागेर जाली चुमेको शक्तिशाली प्रहारका कारण युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेग चर्चामा रहको छ ।
बार्सिलोना र इन्टरमिलानबीच बुधबार भएको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग ३–३ को रोमाञ्चक बराबरीमा टुंगिएको छ । यो खेलमा प्रशंसा गर्नलायक थुप्रै गोलहरू देखिए, जसले अर्को हप्ता मिलानमा हुने दोस्रो लेगलाई झनै रोमाञ्चक बनाएको छ ।
च्याम्पियन्स लिग सेमिफाइनलको इतिहासमा बराबरीमा टुंगिएको सबैभन्दा बढी गोल भएको खेल हो । सन् १९९९ मा बायर्न म्युनिख र डायनामो किभबीच भएको खेल पनि यसरी नै बराबरीमा टुंगिएको थियो ।
सो खेललाई गोलको वर्षा गर्ने बार्सिलोना र बलियो रक्षात्मक इन्टरबीचको भिडन्त भनेर हेरिएको थियो । तर, अन्ततः यो ‘सुटआउट’ खेलमा परिणत भयो ।
इन्टरले २ उत्कृष्ट कर्नर गोलसहित बार्सिलोनालाई चुनौती दिएको थियो । बार्सिलोनाका लागि १७ वर्षीय यमल १००औँ खेलमा पुनः चम्कनुप¥यो । खेलको सुरुआतमै डुम्फ्रिजको क्रसमा थुरामले ब्याक–हिलमार्फत गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाएका थिए । २१औँ मिनेटमा कर्नरबाट आएको बललाई ‘बाइसाइकल किक’मार्फत डुम्फ्रिजले इन्टरको अग्रता दोब्बर बनाए ।
२४औँ मिनेटमा यमलले २ डिफेन्डरलाई ‘ड्रिबल’ गर्दै पोस्ट लागेर गोल गरेपछि बार्सिलोनाले खेलमा फर्कने संकेत दियो । केही मिनेटमै उनले अर्को प्रयासमा बार बाधक बन्यो । बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले यमलको प्रशंसा गर्दै भने, ‘ठूला खेलमा चम्कन्छन् भन्ने उनले फेरि देखाए । २–० पछि मैले थाहा पाएँ कि यो २ ठूला क्लबबीचको सेमिफाइनल हो । यमलले हामीलाई बाटो देखाए ।’ राफिन्हाको हेडर पासमा फर्रान टोरेसले बराबरी गोल गरे ।
दोस्रो हाफमा इन्टरका लाउटारो मार्टिनेज घाइते भएर मैदान छाड्नुपरेको थियो । तर, ६३औँ मिनेटमा डुम्फ्रिजले हेडरमार्फत दोस्रो गोल गर्दै इन्टरलाई पुनः अग्रता दिलाए । तर, त्यसको २ मिनेटमै राफिन्हाको शक्तिशाली प्रहार बार लागेर गोलकिपरको पिठ्युँबाट फर्केर गोल भयो र बार्सिलोनाले खेल ३–३ मा ल्यायो ।
‘घरमा खेलेकोले जित्नुपर्ने दबाब थियो । तर, यो नतिजा नराम्रो भने होइन । दोस्रो लेगमा जित निकाल्ने तयारी गर्छौं’, राफिन्हाले भने । बार्सिलोना सन् २०१५ पछि पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा छ भने प्रशिक्षक फ्लिकको पहिलो सिजनमै पुनः ‘ट्रेबल’ जित्ने योजनामा छ ।
इन्टर सन् २०२३ मा म्यानचेस्टर सिटीसँगको फाइनल हारपछि पुनः फाइनल पुग्ने लक्ष्यमा छ । यो २ टोलीले अन्तिमपटक सेमिफाइनलमा भिड्दा सन् २०१० मा इन्टरले बार्सिलोनालाई हराएर उपाधि जितेको थियो । यो खेलको विजेताले मे ३१ मा म्युनिखमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) वा आर्सनलमध्ये एकसँग फाइनल खेल्नेछ । पहिलो लेगमा पिएसजीले आर्सनललाई लन्डनमा १–० ले हराएको छ ।
यमलको तारिफ गर्दै इन्जाघी
इन्टरमिलानका प्रशिक्षक सिमोने इन्जाघीले लामिन यमलको प्रदर्शन देखेपछि भने, ‘यस्ता प्रतिभा ५० वर्षमा एकपटक मात्र जन्मिन्छन् ।’ च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनासँग ३–३ को रोमाञ्चक बराबरी खेलपछि उनले १७ वर्षीय बार्सिलोनाका खेलाडीको प्रशंसा गरेका हुन् । ‘मैले उनलाई पहिले कहिल्यै प्रत्यक्ष देखेको थिइनँ, तर आज साँच्चै प्रभावित भएँ,’ इन्जाघीले भने, ‘पहिलो हाफको अन्तिम २५ मिनेटमा उनले हाम्रा लागि ठूलो समस्या खडा गरे ।’
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले यमललाई प्रतिभाशाली खेलाडी मान्छन् । उनले क्लबका लागि खेलेको १००औँ खेलमा देखाएको प्रदर्शनलाई समेत फ्लिक खुलेर तारिफ गर्न पछि परेनन् । ‘उनी एक जिनियस हो भनेर मैले पहिल्यै भनेको छु’, फ्लिकले भने, ‘ठुला खेलहरूमा उनी चम्किन्छन् । मलाई खुसी लाग्छ ५० वर्षमा एकपल्ट आउने खेलाडी बार्सिलोनामा अहिल्यै आएको छ ।’
इन्टरविरुद्धको खेलअघि पत्रकार सम्मेलनमा यमलले आफूलाई अर्जेन्टिनी कप्तान तथा बार्सिलोनाका पूर्वस्टार लिओनल मेसीसँग तुलना नगर्न आग्रह गरेका थिए । तापनि मैदानमा उनले देखाएको प्रदर्शनले मेसीलाई सम्झायो । दायाँ भागबाट बल लिएर अघि बढ्ने, पास दिने र डिफेन्डरहरूलाई छलाउने उनको शैली दर्शनीय रह्यो ।
उनले गरेको गोल भने ‘युट्युब कम्पाइलेसन’को लागि योग्य थियो । इन्टरले मार्कस थुराम र डेन्जेल डुम्फ्रिजको गोलमा २–० को अग्रता लिएको थियो । २४औँ मिनेटमा यमलले १ डिफेन्डरलाई छलाउँदै चुनौतीलाई पार गरे । बललाई आफ्नो बायाँ खुट्टामा राखे र अर्को २ डिफेन्डरको अगाडि कर्ल गर्दै गरेको प्रहार पोस्टमा लागेर गोल भयो ।
उनी १७ वर्ष २९१ दिनको उमेरमा च्याम्पियन्स लिग सेमिफाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । केही बेरपछि उनले फेरि २ डिफेन्डर छलाउँदै प्रहार गरे, जुन बल क्रसबारमा लागेर फर्कियो । ‘यो केटा अविश्वसनीय छ’, म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले स्न्यापच्याटमा लेखे ।
त्यसपछि यमलले फेरान टोरेस र डानी ओल्मोलाई पास दिए, जसको प्रहार इन्टरका गोलकिपर यान सोमरले रोके । त्यसपछि राफिन्हाले हेडरमार्फत टोरेसलाई पास दिए र उनले गोल गर्दै स्कोर २–२ बनाए ।
डुम्फ्रिजले इन्टरलाई फेरि अग्रता दिलाए पनि राफिन्हाको लामो दुरीको प्रहार गोल भएपछि खेल ३–३ मा टुंगियो । यमल भने अन्तिम समयमा विजयी गोल नआएकोमा अलि निराश देखिए । ‘सारा संसारले देख्न सक्छ, ऊ कति उत्कृष्ट खेलाडी हो’, इन्टरका मिडफिल्डर हेनरिक म्खितार्यानले भने, ‘हामीले उसलाई रोक्न खोज्यौँ, तर, त्यो धेरै गाह्रो भयो । आशा छ अर्को साता उसलाई यति धेरै खेल्न दिने छैनौँ ।’
खेलपछि यमालले सबैको प्रशंसा सुन्दा खुसी लागेको प्रतिकृया दिए । उनी दोस्रो लेगमा केन्द्रित छन् । ‘सबैको प्रशंसा सुन्दा खुसी लागेको छ । तर, म अब दोस्रो लेगमा केन्द्रित छु । हामीले यो खेल जित्न सक्थ्यौँ भन्ने थाहा थियो, अब हाम्रो ध्यान दोस्रो खेलमा जितेर फाइनल पुग्नेमा छ’, उनले भने ।
बार्सिलोना सन् २०१५ पछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने प्रयासमा छ । इन्टरले सन् २०१० मा बार्सिलोनालाई हराएर अन्तिमपटक उपाधि जितेको थियो । फाइनल खेल मे ३१ मा म्युनिखमा हुनेछ ।
प्रतिक्रिया