स्पेनमा बार्सिलोना उपाधि यात्रामा

बार्सिलोना । राफिन्हा र फेर्मिन लोपेजको गोलले बार्सिलोनालाई रेलिगेट भइसकेको भालाडोलिडविरुद्ध हारबाट जोगाउँदै ला–लिगा उपाधितर्फको यात्रालाई कायम राख्न सहयोग पु¥याएको छ । शनिबारको २–१ जितसँगै अब बार्सिलोना च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग खेल्न इन्टरमिलान जाने तयारीमा छ । खेलको छैटौँ मिनेटमा बार्सिलोनाले गोल बेहोरेको थियो । राफिन्हाले ५४औँ मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए । त्यसपछि लोपेजले ६०औँ मिनेटमा निर्णायक गोल गर्दै जित सुनिश्चित गरे ।

खेलको सुरुमा बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले मुख्य खेलाडीहरूलाई विश्राम दिँदै टोलीमा व्यापक फेरबदल गरेका थिए । ‘३ अंक जित्नु सुखद् हो । अझ सुखद् कुरा के भने केही खेलाडीले इन्टरविरुद्धको महत्वपूर्ण खेलअघि कम समय खेले’, प्रशिक्षक फ्लिकले भने ।


भालाडोलिडले छैटौँ मिनेटमा अग्रता लिएको थियो । इभान सान्चेजको प्रहार डिफेन्डर रोनाल्ड अराउजोलाई लागेर पोस्टमा गयो । त्यसपछि चोटका कारण डेब्यु गरेका बार्सिलोनाका ड्यानिएल रोड्रिगेजले आधा घण्टामै मैदान छोड्नुप¥यो ।
दोस्रो हाफ सुरु हुँदा राफिन्हा मैदान पसे र उनले गोलकिपरले पन्च गरेको बल पर्खेर गोल गरे । त्यसपछि लोपेजले ६०औँ मिनेटमा सुन्दर प्रहार गर्दै खेल बार्सिलोनाको पक्षमा पारिदिए ।


१७ वर्षे लमिन यामलले पनि उत्कृष्ट प्रदर्शन गरे । उनको प्रहार भालाडोलिडका क्यान्डेलाले गोल लाइनबाट बचाएका थिए । सेप्टेम्बरपछि पहिलोपटक मैदान फर्किएका गोलकिपर मर्क–आन्द्रे तेर स्टेगनले भने, ‘मैदानमा फर्कन पाउँदा निकै खुसी छु । जितसाथ फर्कनु अझ विशेष भयो ।’


हाल सिटीको ला–लिगा अंक तालिकामा बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडमाथि ७ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाको ३४ खेलबाट ७९ अंक छ । स्पेनिस ला–लिगाको अन्य खेलमा एट्लेटीको म्याड्रिड र डेपोर्टिभो अल्भासको खेल गोलरहित बराबरी भयो । अर्को खेलमा भिल्लारियलले ओसासुनालाई ४–२ ले हरायो । भ्यालेन्सियाले लास पल्माससँगको खेलमा ३–२ को सफलता पायो । तालिकामा ३४ खेल खेलेको बार्सिलोनाको ७९ तथा ३३ खेल खेलेको रियल म्याड्रिडको ७२ अंक छ ।


एसियामा अल हिलालको सफलता


अल–अहलीले शनिबार जापानी क्लब कावासाकी फ्रन्टालेलाई २–० ले पराजित गर्दै पहिलोपटक एएफसी च्याम्पियन्स लिग एलिट उपाधि जितेको छ ।


साउदी अरबको जेदाहमा रहेको किङ अब्दुल्ला स्पोट्र्स सिटी स्टेडियममा ६० हजार समर्थकको सामु अल–अहलीले सहज जित हात पार्दै अपराजित रहेर उपाधि उचालेको हो । घरेलु मैदानमा भएको खेलमा स्टार खेलाडीले भरिएको अल–अहलीलाई उपाधि दिलाउन पहिलो हाफमा गालेनो र फ्रान्क केस्सीले गरेको गोल नै पर्याप्त बन्यो ।


यससँगै अल–अहली एएफसी च्याम्पियन्स लिग जित्ने साउदी अरबको तेस्रो क्लब बनेको छ । यसअघि जेदाहकै अर्को क्लब अल–इत्तिहाद र रियादको अल–हिलालले यो उपाधि जितेका थिए ।


यो संस्करणको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल तीनै चरण जेदाहमा आयोजित भएकोले अल–अहलीले घरेलु समर्थनको भरपुर फाइदा उठायो । खेलको ३५औँ मिनेटमा रोबर्टो फिरमिनोको क्रसमा गालेनो पेनाल्टी बक्सको बाहिरी क्षेत्रबाट सुन्दर कर्लिङ सटमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । गालेनो यस वर्ष जनवरीमा पोर्टोबाट करिब ५५ मिलियन अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।


त्यसपछि खेल सकिन ३ मिनेट बाँकी रहँदा फेरि फिरमिनोको पासबाट केस्सीले हेडर गर्दै दोस्रो गोल गरे । केस्सी एसी मिलान र बार्सिलोनाका पूर्वखेलाडी हुन् । फिरमिनोलाई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने ।


५ पटकको जापानी च्याम्पियन कावासाकीले यसअघि सेमिफाइनलमा क्रिस्टियानो रोनाल्डोको अल–नासरलाई हराएर पहिलोपटक फाइनल पुगेको थियो । तर, फाइनलमा टोलीले स्पष्ट अवसर बनाउन सकेन ।


लिभरपुलबाट सन् २०२३ मा साइन भएका फिरमिनो, म्यानचेस्टर सिटीबाट आएका रियाद महरेज र चेल्सीबाट आएका गोलकिपर एडुअर्ड मेन्डी अघिल्लो युरोपेली च्याम्पियन्स लिग पनि जितेका अनुभवी खेलाडी हुन् । महरेजले यस प्रतियोगितामा ९ गोल गरे । महरेजले खेलको अन्त्यतिर तेस्रो गोल गर्ने अवसर गुमाए । त्यसबेला घरेलु समर्थकहरू पहिले नै जितको खुसी मनाइरहेका थिए ।

प्रतिक्रिया