पूरा भएन निर्धारित समयमा कीर्तिपुर रंगशालाको निर्माण कार्य

काठमाडौँ । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि ३१ असार २०८१ मा पहिलो निर्णयका रूपमा ३०० दिनभत्र कीर्तिपुर विश्व विद्यालय क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लड लाइट जडान गर्ने घोषणा गरेका थिए । बुधबार तोकिएको ३०० दिन पूरा भएको छ । तथापि सो काम भने सकिएको छैन । प्याराफिटका लागि १९ फागुन तथा फ्लड लाइट जडानका लागि २२ फागुनमा सम्झौता भएको थियो । ६ वटा फ्लडलाइट तथा १० हजार दर्शक क्षमतको प्याराफिट निर्माण गर्ने सम्झौता भएको हो ।
प्याराफिटतर्फ वित्तीय प्रगति ४५ दशमलव १९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लड लाइटतर्फ वित्तीय प्रगति २३ दशमलव ८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको जनाइएको छ ।

तोकिएको समयमा काम सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री ओलीले कुन लापरबाही, कमजोरी वा के कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीयरूपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी २ महिनाभित्र सम्पन्न गर्न कडा निर्देशन दिए । सोमबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गर्दै सो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठसहित संलग्न निर्माण व्यवसायीसँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

सम्बन्धित निकायबीचको समन्वयमा समय लागेकाले समयमा बोलपत्र आव्हान हुन नसकेको, प्राविधिक कारणले डिजाइनमा सामान्य परिवर्तन भएको तथा केही दिन वर्षाले काम अवरोध भएको लगायत कारण जनाएका छन् । यसैगरी, एलसी खोल्ने प्रक्रियामा ढिलाइ भएको जस्ता कारणले सम्झौतामा तोकिएको अवधिमा काम हुन नसकेको स्वीकार्दै अबको १ महिनाका काम सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्याराफिटका लागि ४९ करोड २५ लाख ६७ हजार ३०२ रुपैयाँ र फ्लडलाइटका लागि ४७ करोड ३७ लाख ६८ हजार ७७ रुपैयाँमा सम्झौता गरिएको थियो ।
यसअघि बारम्बार प्रधानमन्त्री आफैँ सो क्षेत्रमा भ्रमणमा गएर कामको निरीक्षणसमेत गरेका थिए । यसअघि ८ घण्टाका दरले अहिले ३ सिफ्टमा काम पनि भइरहेको छ ।
बिकेओआई–केसिडिसी–बिजी जेभीले मैदानको प्यारापिट र फ्लडलाइट जडान गर्ने काम गरिरहेको छ । सो फ्लडलाइट बनाउने तथा र १० हजार क्षमताको प्यारापिट बनाउने काम वैशाख २४ भित्रै निर्माण गरी उद्घाटन गरेर सफलतापूर्वक सम्पन्न गरेका आयोजना पनि नेपालमा छन् भन्ने सन्देश दिनुपर्ने उनको भनाइ छ ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । २०८२ वैशाख २४ भित्र कार्य सम्पन्न गर्ने गरी निर्माण काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया