राष्ट्रिय दोहोरी गीत आइडल हुँदै, संयोजक बने चन्द्र शर्मा

काठमाण्डौं । राष्ट्रिय दोहोरी गीत आइडल २०८२ आयोजना हुने भएको छ । सांस्कृतिक समाज नेपालको आयोजनामा आगामी जेठ २६,२७ र २८ गते अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय लोक दोहोरीगीत आइडल २०८२ को आयोजना गर्न लागिएको शुत्रबार पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ । राष्ट्रिय लोक दोहोरीगीत आइडल २०८२ को मिडिया पार्टनरको रुपमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल रहेको छ ।

यस आइडलको संयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष चन्द्र शर्मा बनेका छन् । शुक्रबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम राखेर आयोजकले प्रतियोगिताबारे जानकारी गराएका हुन् । प्रतियोगीतामा दोहोरी साँझमा आबद्ध कलाकारहरुले सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगीताका सल्लाहकार वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले यस्ता किसिमका प्रतियोगिताले लोकदोहोरी क्षेत्रलाई फराकिलो बनाउने बताए । ‘नेपालको सौन्दर्यताको बारेमा कसैले सटिक रुपमा परिचय दिन्छ भने त्यो लोक दोहोरीले नै दिन्छ, सल्लाहकार जोशीले भने, अहिले दोहोरीमा छाडा शब्दको प्रयोग भएको पनि कहिँ कतै देख्छु, पहिलेपहिलेका कलाकारहरुले हिट हुनलाई त्यस्तै गर्दैनथे तर अहिलेका कतिपयले संस्कृति बचाउन खोजेको देखिँदैन ।’

राष्ट्रिय लोक दोहोरीगीत आइडलका संयोजक चन्द्र शर्माले देशैभरी छरिएका दोहोरी साँझहरुबाट कलाकारहरुले सहभागीता जनाउन सक्ने जानकारी दिए । उनले भौगोलिक हिसाबमा जहाँसुकैबाट भाग लिन सकिने तर दोहोरी साँझको प्रतिनिधित्व गरेको हुनुपर्ने नियम सुनाए ।

प्रतियोगीतामा भाग लिनका लागी प्रवेश शुल्क १ हजार रुपैयाँ लाग्नेछ भने उत्कृष्ट हुने बिजेता टिमले एउटा मोटरसाइकल र ३३ हजार ३ सय ३३ रुपैयाँ नगद प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने टिमले एउटा स्कुटरसहित २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार पाउनेछन् । बिबिटिएम फाउन्डेसन मुख्य प्रायोजक रहेको यस प्रतियोगीताको फाइनल भने नगरकोटको बताडे डाँडामा सम्पन्न हुने संयोजक शर्माले जानकारी दिए ।

यस्तै यस दोहोरी आइडल यसै वर्ष आयोजना हुन गइरहेको दोहोरी गीत प्रतियोगिता प्रिमियर लिगको पहिलो चरणको कार्यक्रम समेत भएको ब्यवस्थापक अमृत खातीले जानकारी दिए । कार्यक्रमका सभापति सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले सांस्कृति समाज नेपालले यसअघि पनि दोहोरी क्षेत्र बिशेष धेरै कार्यक्रम गरेको र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया