काभ्रे । साहित्यिक अभियान्ता तथा हिमाल आरोही, र ‘मेची–महाकाली साहित्यिक दौड’ का प्रणेता लक्ष्मण सापकोटाको निधन भएको छ । उनको आज बिहीबार बिहान निधन भएको हो ।
सापकोटाले २०७६ मा ‘नमोबुद्ध–लुम्बिनी साहित्यिक दौड’ सम्पन्न गर्दै करिब ५०० किलोमिटरको यात्रा दौडिएरै पार गरेका थिए, जसले नेपाली साहित्यमा नयाँ आयाम थपेको थियो । त्यसअघि, २०७३ मा ‘मेची–महाकाली साहित्यिक दौड’ सम्पन्न गर्दै उनले साहित्यिक चेतनाको ज्योति देशभर फैलाएका थिए ।
सापकोटाले केही दिनअघि मात्र पनौती, शंखुमा ‘सौर्यकर्मी’ सँगको एक भेटको क्रममा सगरमाथाको अधुरो यात्रा पूरा गर्ने र काभ्रेली साहित्यिक यात्रामा नयाँ उचाइ ल्याउने दृढता व्यक्त गरेका थिए । उनका शब्दहरू थिएः मेरा पाइला भागेका होइनन् ।’
सापकोटाले २०७४ सालमा इम्जात्से र मेरापिक हिमाल आरोहण गरेका थिए । त्यस वर्ष, उनले सगरमाथा आरोहणको प्रयास गरेका थिए, तर स्वास्थ्य समस्याका कारण ५२०० मिटर उचाइबाट फर्कनुपरेको थियो । उनले भनेका थिए, ‘आफ्नो अभियानबाट विचलित हुने स्वभाव ममा छैन, देश र जन्मभूमिको ताम राखेरै छोड्नेछु ।’ उनको अन्तिम भावना थियो ।
सापकोटाको निधनले नेपाली साहित्यिक र साहसिक क्षेत्रले एक प्रेरणादायी व्यक्तित्व गुमाएको उनलाई निजकबाट नियाल्ने साहित्यिकारहरु बताउँछन् । उनको अधुरो सगरमाथा यात्रा र अधुरो सपना नेपाली साहित्यिक समाजका लागि एक चुनौती र प्रेरणा बनेर रहनेछ ।
नेपाली साहित्य यतिबेला फेरि एक पटक शोकमा डुबेको जानकारहरु बताउँछन् । साहित्यिकारहरु भन्छन्, ‘हामी सबैले सापकोटाको योगदानलाई सम्झनु र उनका अधुरा सपनाहरूलाई पूरा गर्ने दिशामा अघि बढ्नु हाम्रो कर्तव्य हुनेछ ।’
साहित्यकार सापकोटा लामो समयदेखि जेन्डीसको विरामी थिए । आज बिहीबार उपचारको क्रममा धुलीखेल अस्पतालमा उनको निधन भएको हो ।
प्रतिक्रिया