
बागलुङ । गायक अरूण थापामगर अल्प आयु बाँचे । तर, उनी आफ्ना गीतहरूमा सधैँ अमर छन् । नेपाली सुगम संगीतका मूर्धन्य प्रतिभा थापामगरको मंगलबार २७औँ स्मृति दिवस । विविध तवरबाट उनको सम्झना गरियो । नेपाल मगर विद्यार्थी संघ, बागलुङले ‘अरूण स्मृति साँझ’ आयोजना गर्यो । जहाँ अरुणका कालजयी गीतहरू गुन्जिए । कलाकारहरूले ‘करोडौँ मुटुहरूको एउटै ढुकढुकी नेपाल’बाट सुरु गरी ‘यो मनको के भर हुन्छ’मा पुगेर आफ्नो प्रस्तुति टुंग्याए । पहिलो गीत सूर्य घताने, किशोर थापा, मीना हमाल ठकुरीलगायतले सुनाए । दोस्रो लहरमा प्रस्तुत भयो, गायक थापामगरले आफ्नो जीवनकालमा गाएको एउटा मात्र भजन ‘तिमी राम राम भजी बाँच’ । जसलाई गायक सूर्य घतानेले गाए । उनले अरुणका चर्चित गीत ‘चोट के हो व्यथा के हो’, ‘यो मनको के भर हुन्छ’, ‘आँखाको निद खोसी’ लानेलगायत प्रस्तुत गरे ।
प्रेम पुनले ‘साँझको जूनसँगै आउँछ्यौ कि भनेर’, किशोर थापाले ऋतुहरूमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्न’ र ‘तिमी हेर्छौ भने’ गाए । प्रेम बुढामगरले ‘जति माया लाए पनि’ र ‘म रोए पनि तिमी हाँसिदिनु’, प्रस्तुत गरे । प्रकाश थापामगरले ‘भुलुँभुलुँ लाग्यो मलाई’ र मन्जुल शाक्यले ‘अनौठो व्यथा भएछ’ गाए । स्मृति साँझमा उनका दर्जन बढी चर्चित गीत प्रस्तुत गरिएको थियो । वाद्यवादनमा कलाकार सूर्य घताने, मन्जुल शाक्य, गौतम नाइसा मगर, अभय छन्त्याललगायतले साथ दिए । आफ्ना प्रिय गायकका गीत सुन्दा दर्शक मुग्ध बने । राति अबेरसम्म संगीतमा झुमिरहे । अरूणका गीत गुन्जिरहँदा दर्शकदीर्घामा घरी गहिरो मौनता छाउँथ्यो, घरी वाहीवाही चल्थ्यो । उनका गीत युवा पुस्तामाझ बढी लोकप्रिय छन् । अरूणका अधिकांश गीतमा मानवीय संवेदना, प्रेम र वियोगको अभिव्यक्ति पाइन्छ ।

प्रेम र वैवाहिक सम्बन्धको दुःखान्त अन्त्यपछि गायक थापाले ‘जति माया लाए पनि’, ‘चोट के हो व्यथा के हो’जस्ता लोकप्रिय गीत गाएका थिए । अरुणले २०३४ सालमा गाएको ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौँ’ बिबिसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो । नेपाली सुगम संगीतलाई विश्वजगत्मा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई दिइन्छ । अरुणले आफ्नो जीवनकालमा झन्डै ५० गीत गाएका छन् । कार्यक्रममा नेपाल मगर संघका जिल्ला सचिवालय सदस्य संगम घर्तीमगरले अरुणको व्यक्तित्वबारे चर्चा गरेका थिए । उनले अरुण थापा जनमानसमा लोकप्रिय गायकका रूपमा स्थापित भए पनि तत्कालीन समयमा राज्यको उपेक्षामा परेको उल्लेख गरे । ‘सुरुको कालखण्ड सुखद् रहे पनि अरुण थापाको जीवन वियोगान्त ढंगले टुंगिन पुग्यो,’ उनले भने, ‘उहाँ जत्तिको गायकलाई राज्यकै तवरबाट सम्मान दिइनुपर्थ्यो तर आज मगर समुदायले मात्र सम्झनुपर्ने विडम्बनापूर्ण अवस्था छ ।’

कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य रेनुका काउचा मगरले अरणका गीत सधैँ अमर भएर रहने बताइन् । ‘उहाँका गीत सदावहार छन्, भौतिक रूपमा हामीबीच नरहे पनि अरुण थापा हाम्रो स्मृतिमा सधैँ जीवित हुनुहुन्छ,’ उनले भनिन् । कार्यक्रममा ख्याली, झ्याउरे, सोरठी, थाली, सालैजो, कौराहालगायत मौलिक गीत तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा कलाकारहरूलाई सम्मानसमेत गरिएको थियो । २००९ माघ ११ गते भारतको कोलकातामा जन्मिएका अरुणको २०५६ साउन ५ गते काठमाडौँको एक होटलमा देहान्त भएको थियो ।

जीवनको आखिरीतिर गम्भीर रूपमा अस्वस्थ भई उनको मुत्युवरण भएको थियो । उनले नेपाली सुगम संगीतलाई थोरै तर कालजयी गीतहरू छोडेर गएका छन् । अरुणले २०३२ सालमा रेडियो नेपालमा स्वरपरीक्षा उत्र्तीण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको संगीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठुलो छ संसार’ बोलको गीत रेकर्ड गराएका थिए । यही गीतबाट अरुणको सांगीतिकयात्रा सुरु भएको थियो । उनको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन । २०३४ सालको अन्त्यतिर गाएको ‘ऋतुहरूमा तिमी’ र २०३६ सालमा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो । गायक थापाको सम्मानमा स्मृति साँझको आयोजना गरिएको नेपाल मगर विद्यार्थी संघका अध्यक्ष कृष्ण अठारे मगरले बताए ।



प्रतिक्रिया