
काठमाडौँ । निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ । सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यको निर्देशनमा बन्न लागेको यो फिल्म एक्सन–एड्भेन्चर विधामा आधारित रहनेछ । निर्माण पक्षका अनुसार फिल्ममा रहस्य, साहसिक यात्रा र अलौकिक कल्पनाको संयोजन प्रस्तुत गरिनेछ । फिल्मको कथाको परिकल्पना सीता मायाले गरेकी हुन् । उनी नै फिल्मकी प्रस्तुतकर्ता हुन् भने दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको भूमिकामा रहनेछन् । छायांकन निर्देशक (डिओपी) का रूपमा हरि हुमागाईं आबद्ध भएका छन् ।
पटकथालाई नेपाली परिवेशअनुकूल संवाद र रूपान्तरण गर्ने जिम्मेवारी लेखक शान बस्नेतले सम्हालिरहेका छन् । निर्माण पक्षले फिल्म नेपाली भाषामा निर्माण गरिए पनि अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै हिन्दी र मलियालम भाषामा डब गर्ने योजना बनाएको जनाएको छ । मुख्य भूमिकामा मलियालम चलचित्र उद्योगसँग आबद्ध अभिनेता रहने जानकारी दिँदै उनको परिचय फस्र्ट लुकमार्फत सार्वजनिक गरिने बताइएको छ । साथै, मलियालम फिल्म उद्योगका केही कलाकार तथा प्राविधिकको समेत सहभागिता रहने निर्देशक आचार्यले जानकारी दिएका छन् ।
करिब ४ करोड रुपैयाँको अनुमानित बजेटमा निर्माण हुने फिल्मको छायांकन यही वर्षको फागुन–चैतदेखि सुरु गर्ने तयारी गरिएको छ । नेपालका विभिन्न पर्यटकीय तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रमा फिल्म खिचिने निर्माण पक्षले जनाएको छ । अधिकांश कलाकार, प्राविधिक तथा गीत–संगीत भने नेपाली सर्जककै रहनेछन् । निर्माण पक्षका अनुसार आधुनिक प्रविधि, आकर्षक दृश्य संयोजन, साहसिक कथा र अलौकिक कल्पनाको मिश्रणमार्फत ‘हजारौँमा एक’लाई स्वदेशी मात्र होइन अन्तर्राष्ट्रिय दर्शकमाझ पनि प्रतिस्पर्धी नेपाली फिल्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया