सार्वजनिक विदा पुनरावलोकन गर्दै सरकार

काठमाडौँ । हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिन थालिएपछि सरकारले यसअघि कायम रहेका अन्य सार्वजनिक विदा पुनरावलोकन गर्ने भएको छ । मुख्यसचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा सोमबार(आज) बसेको सचिवस्तरीय बैठकले सार्वजनिक विदा पुनरावलोकनका लागि अन्तरमन्त्रालय कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने गरी कार्यदल गठन गरिनेछ । कार्यदललाई हाल कायम सार्वजनिक विदा पुनरावलोकन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

मिति २०८३ श्रावण ४ गतेको सचिव बैठकका २२ नम्बर निर्णय

२२. हप्तामा शनिवार र आइतबार दुई दिन विदा दिन थालिएपश्चात् साविकमा रहेका अन्य सार्वजनिक विदाहरूलाई पुनरावलोकन गर्न आवश्यक देखएकाले गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी सार्वजनिक विदा पुनरावलोकन कार्यदल गठन गर्ने र उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने।

प्रतिक्रिया