कांग्रेसले जलवायु चेतनाको नारासहित ४४औँ बीपी स्मृति दिवस मनाउने

काठमाडौं । नेपाली कांग्रेसले ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने मुख्य नाराका साथ जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस देशव्यापी रूपमा विविध कार्यक्रम गरी मनाउने भएको छ ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माद्वारा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो ।

पार्टीका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, साउन ६ र ७ गते दुई दिनसम्म काठमाडौं उपत्यकासहित देशैभर विभिन्न कार्यक्रमहरूको आयोजना गरिने छ ।

बीपी कोइरालाको प्रधानमन्त्रीकालमा गरिएको जंगल राष्ट्रियकरणको दूरदर्शी निर्णय र वर्तमान संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई जोड्दै यस पटक जलवायु परिवर्तनको मुद्दालाई मुख्य प्राथमिकतामा राखिएको कांग्रेसले जनाएको छ ।

साउन ६ गते काठमाडौं उपत्यकामा तीनवटा मुख्य कार्यक्रमहरूको आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । जसअन्तर्गत बिहान ६ बजे ललितपुरको यूएन पार्कबाट सुरु भई जाउलाखेलसम्म पुग्ने ५ किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिने छ ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुने यस दौडमा सहभागी हुन चाहनेका लागि साउन ४ गते मध्यरातसम्म अनलाइन रजिस्ट्रेशन खुला गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विजेताहरूलाई क्रमशः ५० हजार, २५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिनेछ भने चौथो, पाँचौ र छैटौँ स्थान हासिल गर्नेलाई क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँ पुरस्कार दिइने छ ।

प्रतिस्पर्धामा भाग लिन नसक्नेहरूका लागि २.५ किलोमिटरको अप्रतिस्पर्धी रूटको समेत व्यवस्था गरिएको छ । सहभागी संख्याको आधारमा निश्चित रकम जम्मा गरी विस्थापित सुकुम्वासी परिवारका वृद्धवृद्धा र बालबालिकाको सहयोगका लागि ‘मानवीय सहयोग कोष’ स्थापना गरिने जानकारी विज्ञप्तिमा उल्लेख छ ।

दौड प्रतियोगिता लगत्तै बिहान ७ः०० बजे जावलाखेल चोकको फाल्चामा ‘जलवायु परिवर्तन र नेपालः प्रकृति, लोकतन्त्र र भावी पुस्ता’ विषयमा ‘न्ग्रीन टेबल’ प्यानल डिस्कसन हुनेछ । उक्त संवादमा जलवायु विषयविज्ञहरू मञ्जित ढकाल, अभिषेक यादव, डा. मनु कार्की र सगरमाथा आरोही पूर्णिमा श्रेष्ठका साथै वातावरण विज्ञानका विद्यार्थीहरूको सहभागिता रहने छ ।

जावलाखेलमा संवाद चलिरहेकै समयमा २० भन्दा बढी सुपरिचित कलाकारहरूले प्रत्यक्ष रूपमा क्यानभासमा जलवायु संकटको गम्भीरता झल्काउने ‘लाइभ पेन्टिङ’ गर्ने छन्, जसको उद्घाटन सभापति गगन थापाले क्यानभासमा स्केच गरेर गर्ने छन् । पहिलो दिनका कार्यक्रममा सहभागी हुने सबैलाई मायाको चिनो स्वरूप एक–एक वटा बिरुवा वितरण गरिने छ ।

स्मृति दिवसको दोस्रो दिन साउन ७ गते अपरान्ह २ः०० बजे राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थितिस् नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गरिने छ । सोही विशेष समारोहमा कांग्रेस सभापति गगनकुमार थापाले ‘जरा अभियान’ पछिको पार्टीको अर्को नयाँ ‘नवीन अभियान’ को घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया