टोरेसको निर्णायक गोलमा स्पेन च्याम्पियन

निर्णायक गोल अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको ३७ सेकेन्डमै सम्भव भयो । पेड्रो पोरोले बायाँतर्फबाट दिएको उत्कृष्ट क्रसलाई निको विलियम्सले हेडमार्फत पछाडि फर्काइदिएपछि खाली स्थानमा पुगेका टोरेसले शक्तिशाली हाफ–भली प्रहार गर्दै बललाई जाली चुमाए

काठमाडौँ । अतिरिक्त समयको दोस्रो हाफमा फेरान टोरेसले गरेको एकमात्र निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को उपाधि जितेको छ । १० खेलाडीमा सीमित भएको अर्जेन्टिनामाथि स्पेनले निरन्तर दबाब कायम राख्दै दोस्रोपटक विश्वकपको ट्रफी उचाल्न सफल भएको हो । आइतबार राति अमेरिकाको न्युयोर्कस्थित न्यू जर्सी रंगशालामा सम्पन्न फाइनलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै उपाधि निर्धारण गर्ने क्षण बन्यो । सन् २०१० मा आन्द्रेस इनियस्टाले अतिरिक्त समयमा गरेको गोलबाट स्पेनले पहिलोपटक विश्वकप जितेको १६ वर्ष ८ दिनपछि फेरि अर्को अतिरिक्त समयको गोलले स्पेनलाई विश्व फुटबलको शिखरमा पुर्यायो ।


सम्पूर्ण खेलभर स्पेनले बल नियन्त्रण र आक्रमणमा स्पष्ट वर्चस्व कायम राख्यो । ‘ला रोजा’ले खेलमा कुल २० पटक प्रहार गर्दा अर्जेन्टिनाले त्यसअघिसम्म लक्ष्यतर्फ प्रभावकारी प्रहार गर्नसमेत संघर्ष गरिरहेको थियो । युरोपेली टोलीले निरन्तर दबाब सिर्जना गरे पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो ‘एमी’ मार्टिनेजले उत्कृष्ट प्रदर्शन गर्दै धेरै अवसर विफल बनाएका थिए । अर्जेन्टिनाको अवस्था निर्धारित समयको अन्त्यतिर अझ कठिन बन्यो । खेलको अन्तिमतिर मिडफिल्डर एन्जो फर्नान्डेजले स्पेनका युवा डिफेन्डर पाउ कुबार्सीमाथि गरेको खतरनाक ट्याकलका कारण दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदानबाट बाहिरिनुप¥यो । त्यसपछि १० खेलाडीमा सीमित अर्जेन्टिनामाथि स्पेनको दबाब अझ बढेको थियो ।

निर्णायक गोल अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको ३७ सेकेन्डमै सम्भव भयो । पेड्रो पोरोले बायाँतर्फबाट दिएको उत्कृष्ट क्रसलाई निको विलियम्सले हेडमार्फत पछाडि फर्काइदिएपछि खाली स्थानमा पुगेका टोरेसले शक्तिशाली हाफ–भली प्रहार गर्दै बललाई जाली चुमाए । एमी मार्टिनेजले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन् । प्रतियोगिताभर टोरेसको यो १ मात्र गोल भए पनि त्यसले स्पेनलाई विश्वविजेता बनाउने ऐतिहासिक महत्व बोकेको छ । खेलपछि निर्णायक गोलबारे प्रतिक्रिया दिँदै टोरेसले आफूले धेरै सोच्ने समय नै नपाएको बताए । उनले बल आफूअगाडि आएपछि सम्पूर्ण स्पेनी समर्थकहरूको शक्तिका साथ प्रहार गरेको र त्यसले गोलको रूप लिएको बताए । यस सफलतासँगै स्पेनले युरोकप र विश्वकप लगातार जित्ने उपलब्धि दोस्रोपटक दोहो¥याएको छ । यसअघि पनि स्पेनले युरो च्याम्पियन बनेपछि विश्वकप जितेको इतिहास बनाएको थियो । साथै, यस संस्करणको विश्वकपमा स्पेनले प्रतियोगिताभर केवल १ गोल मात्रै बेहोरेको कीर्तिमान पनि कायम गरेको छ, जुन विश्वकप इतिहासमै नयाँ उपलब्धि मानिएको छ ।

स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्ते पनि नयाँ इतिहास रच्न सफल भए । ६५ वर्षको उमेरमा उनले विश्वकप जिताउने सबैभन्दा ज्येष्ठ प्रशिक्षक बन्ने कीर्तिमान बनाए । उपाधिपछि उनले यो सफलता सम्पूर्ण टोली, प्रशिक्षक समूह र समर्थकहरूको सामूहिक मिहिनेतको परिणाम भएको बताए । उनले एकताकै बलमा यो उपलब्धि सम्भव भएको प्रतिक्रिया दिए ।

अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै

उता, साविक विजेता अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो । अर्जेन्टिनाले यसअघि सन् २०२१ र २०२४ को कोपा अमेरिका तथा २०२२ को विश्वकप जित्दै लगातार प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभुत्व जमाएको थियो । तर यसपटक स्पेनसँग पराजित भएपछि ३ प्रमुख प्रतियोगितामध्ये पहिलोपटक उपाधिबाट वञ्चित हुनुपरेको छ । ३९ वर्षीय कप्तान लियोनल मेसीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै ८ गोल र ४ असिस्ट गरेका थिए । तर फाइनलमा भने स्पेनको कडा दबाबका कारण उनले आफ्नो प्रभाव जमाउन सकेनन् । स्पेनले अग्रता लिएपछि मात्र मेसी केही सक्रिय देखिए पनि टोलीलाई पुनरागमन गराउन सफल भएनन् । पछिल्ला २ विश्वकपमा पटक–पटक निर्णायक भूमिका निर्वाह गरेका मेसी यसपटक अन्तिम खेलमा आफ्नो टोलीलाई अर्को ऐतिहासिक सफलता दिलाउन असफल रहे ।

अर्जेन्टिनाका गोलरक्षक एमी मार्टिनेजले खेलभर ११ उत्कृष्ट बचाउ गर्दै टोलीलाई लामो समयसम्म प्रतिस्पर्धामा कायम राखेका थिए । यद्यपि अन्ततः स्पेनको निरन्तर आक्रमण रोक्न उनको प्रयास पर्याप्त भएन । ३ पटकको विजेता अर्जेन्टिना सन् १९५८ र १९६२ मा लगातार विश्वकप जितेको ब्राजिलपछि लगातार २ विश्वकप जित्ने पहिलो राष्ट्र बन्ने लक्ष्यमा पनि असफल रह्यो । अन्तिम सिटी बज्नेबित्तिकै केहीबेर दुवै टोलीका खेलाडीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो । तर स्थिति चाँडै सामान्य बनाइयो । त्यसपछि स्पेनका खेलाडीहरूले अर्जेन्टिनाका खेलाडीहरूलाई उपविजेताको पदक ग्रहण गर्न जाँदा सम्मानस्वरूप ‘गार्ड अफ अनर’ बनाएर खेलभावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरे । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले पनि स्पेनको उत्कृष्ट प्रदर्शनको खुलेर प्रशंसा गरे । उनले स्पेन नै फाइनलमा राम्रो टोली रहेको स्वीकार गर्दै आफ्नो टोलीले प्रतियोगिताभर गरेको संघर्ष र फाइनलसम्मको यात्राप्रति गर्व रहेको बताए । यस्तो चरणसम्म पुग्न असाधारण मिहिनेत आवश्यक पर्ने उल्लेख गर्दै उनले आफ्ना खेलाडीहरूले गरेको उपलब्धिको उच्च मूल्यांकन गर्नुपर्ने धारणा व्यक्त गरे ।
५ वर्षमा १६ उपाधि ः विश्व फुटबलमा स्पेनको अभूतपूर्व वर्चस्व, के हो सफलताको रहस्य ?

स्पेनले फेरि एकपटक विश्व फुटबलमा आफ्नो सर्वोच्चता प्रमाणित गरेको छ । २ वर्षअघि जर्मनीको बर्लिनमा युरोपियन च्याम्पियन बनेको स्पेनले अहिले २०२६ फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रोपटक विश्वकप उपाधि जितेको छ । यो उपलब्धिले स्पेनलाई फेरि इतिहास दोहो¥याउने अवसर दिएको छ । सन् २००८ मा युरोपियन च्याम्पियन बनेको टोलीले त्यसको २ वर्षपछि २०१० मा पहिलोपटक विश्वकप जितेको थियो ।

अहिले पनि २०२४ को युरोपियन च्याम्पियन बनेको स्पेनले त्यसको २ वर्षपछि विश्वकप जित्दै उही सफलता दोहो¥याएको हो । तर स्पेनको सफलताको कथा पुरुष टोलीको उपलब्धिमा मात्र सीमित छैन । पछिल्ला केही वर्षमा पुरुष र महिला दुवै फुटबलमा स्पेनले देखाएको निरन्तर सफलताले उसलाई विश्व फुटबलको सबैभन्दा शक्तिशाली राष्ट्रका रूपमा स्थापित गरेको छ ।

५ वर्षमा १६ अन्तर्राष्ट्रिय उपाधि

सन् २०२२ देखि २०२६ सम्मको केवल ५ वर्षको अवधिमा स्पेनले उमेर समूहदेखि सिनियर स्तरसम्म पुरुष र महिला दुवै विधामा गरी विश्व तथा युरोपेली प्रतियोगिताका १६ वटा प्रमुख उपाधि जितेको छ । यस्तो उपलब्धि समकालीन फुटबलमा निकै दुर्लभ मानिन्छ । महिला फुटबलतर्फ स्पेनले ११ वटा उपाधि जितेको छ । सिनियर टोलीले २०२३ को महिला विश्वकप जित्नुका साथै २०२४ र २०२५ मा लगातार २ पटक नेसन्स लिगको उपाधि आफ्नो नाममा पा¥यो । यू–२० टोलीले २०२२ को विश्वकप जित्यो भने यू–१९ टोलीले २०२२, २०२३, २०२४, २०२५ र २०२६ गरी लगातार ५ पटक युरोपियन च्याम्पियन बन्न सफल भयो । यू–१७ टोलीले २०२२ मा विश्वकप र २०२४ मा युरोपियन च्याम्पियनसिप जित्यो ।

पुरुष फुटबलमा पनि उपलब्धि कम प्रभावशाली छैन । सिनियर टोलीले २०२३ मा युइएफए नेसन्स लिग, २०२४ मा युरोपियन च्याम्पियनसिप र २०२६ मा विश्वकप जित्यो । यू–२३ टोलीले २०२४ ओलम्पिकमा स्वर्ण पदक जित्यो भने यू–१९ टोलीले २०२६ मा युरोपियन च्याम्पियनसिपको उपाधि हात पा¥यो । यससँगै स्पेन अहिले एकै समयमा पुरुष र महिला दुवै विश्वकपको वर्तमान विजेता राष्ट्र बनेको छ । महिला टोलीले सन् २०२३ मा अस्ट्रेलियाको सिड्नीमा भएको विश्वकप फाइनलमा इंग्ल्यान्डलाई हराएर उपाधि जितेको थियो भने पुरुष टोलीले अहिले अर्जेन्टिनालाई पराजित गर्दै विश्व विजेता बनेको हो ।

‘यो केवल सफलता होइन, वर्चस्व हो’

स्पेनी फुटबल विश्लेषक गुइलेम बालागुएका अनुसार अहिलेको अवस्था सामान्य सफलताभन्दा धेरै माथिको हो । उनले बिबिसी स्पोर्टसँग कुरा गर्दै भनेका छन्, ‘यो वास्तविक अर्थमा वर्चस्व हो । सबै कुरा मिलेर बनेको एउटा आदर्श अवस्था जस्तै हो । हाम्रो फुटबल संस्कृति नै निश्चित शैलीमा आधारित छ र सबैले त्यसमा विश्वास गर्छन् । सबैभन्दा महत्वपूर्ण कुरा हामी कहिल्यै रोकिन्नौँ ।’ उनका अनुसार सन् २०१० को उपलब्धिपछि फेरि युरोपियन च्याम्पियन बनेर विश्वकप जित्नु स्पेनका लागि अर्को सगरमाथा चढ्नुसरह हो ।

डे ला फुएन्ते : जोखिमपूर्ण नियुक्तिबाट ऐतिहासिक सफलता

स्पेनिस फुटबल महासंघले डिसेम्बर २०२२ मा लुइस एनरिकेको स्थानमा लुइस डे ला फुएन्तेलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्दा धेरैले त्यो निर्णयलाई जोखिमपूर्ण मानेका थिए । कतार विश्वकपमा मोरक्कोसँग अन्तिम–१६ चरणमै पराजित भएपछि स्पेन परिवर्तनको खोजीमा थियो । तर डे ला फुएन्तेसँग कुनै ठुलो क्लबको मुख्य प्रशिक्षकको अनुभव थिएन । त्यसैले उनको नियुक्तिप्रति धेरैले आशंका व्यक्त गरेका थिए ।

तर केही वर्षभित्रै उनले सबै आलोचनालाई गलत सावित गरिदिए । उनको नेतृत्वमा स्पेनले २०२३ मा नेसन्स लिग, २०२४ मा युरोपियन च्याम्पियनसिप र २०२६ मा विश्वकप जित्यो । बालागुए भन्छन्, ‘उनी प्रणाली र खेल शैलीलाई राम्ररी बुझ्ने प्रशिक्षक थिए । महासंघले ठुलो जोखिम उठाएको थियो । तर कसैले पनि उनले यति छोटो समयमा यति धेरै सफलता दिलाउँछन् भन्ने कल्पना गरेको थिएन । डे ला फुएन्तेले खेलाडी जीवन समाप्त गरेपछि विभिन्न क्लबमा प्रशिक्षक, सहायक प्रशिक्षक तथा युवा टोलीसँग काम गरेका थिए । पछि उनले स्पेनका अन्डर–१९, अन्डर–२१ र ओलम्पिक टोलीको जिम्मेवारी सम्हाले । त्यसैले अहिले सिनियर टोलीमा रहेका अधिकांश खेलाडीलाई उनले किशोर अवस्थादेखि नै प्रशिक्षण दिएका थिए ।

पूर्वस्पेनी मिडफिल्डर हुआन माटाका अनुसार यही कुरा अहिलेको टोलीको सबैभन्दा ठुलो शक्ति बनेको छ । उनले भने, ‘डे ला फुएन्तेले यी अधिकांश खेलाडीलाई युवा एकेडेमीदेखि नै चिन्छन् । उनीहरू सँगै हुर्किएका छन् र टोलीका रूपमा निरन्तर विकास गरिरहेका छन् । यो वर्तमानका लागि मात्र होइन, भविष्यका लागि पनि तयार गरिएको टोली हो ।’

सम्मान, धैर्य र निरन्तरतामा जोड

६५ वर्षीय डे ला फुएन्तेले आफ्नो प्रशिक्षण दर्शनमा प्रतिद्वन्द्वीप्रति सम्मान, प्रक्रियाप्रति विश्वास तथा धैर्यलाई विशेष महत्व दिएका छन् । विश्वकप फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘तपाईंहरूमध्ये धेरैजना मभन्दा कान्छा हुनुहुन्छ, त्यसैले अनुभवको सम्मान गर्न सिक्नुपर्छ ।’ उनले थपे, ‘एउटा खेल सकिएपछि केही खेलाडीले मलाई सोधे – अब जित्न बाँकी के छ ? हामीले सबै उमेर समूहमा सबै उपाधि जितिसकेका छौँ । त्यसपछि हाम्रो निष्कर्ष एउटै थियो – अब हाम्रो लक्ष्य सेप्टेम्बरको अर्को खेल हो । यो टोली कहिल्यै सन्तुष्ट हुँदैन ।’

राष्ट्रिय टोलीको सफलताले क्लब फुटबललाई पनि फाइदा

स्पेनिस प्रशिक्षकहरूको प्रभाव अहिले युरोपेली क्लब फुटबलमा पनि स्पष्ट देखिन्छ । पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटी छाडे पनि २०२६–२७ सिजन सुरु हुँदा इंग्लिस प्रिमियर लिगका प्रशिक्षकमध्ये कम्तीमा एकचौथाइ स्पेनी हुने अपेक्षा गरिएको छ । त्यस्तै स्पेनको राष्ट्रिय टोलीले अहिले सबै प्रतियोगिता गरी लगातार ३८ खेल अपराजित रहने नयाँ कीर्तिमान बनाएको छ । यो युरोप वा दक्षिण अमेरिकाका कुनै पनि राष्ट्रिय टोलीले बनाएको सबैभन्दा लामो अपराजित यात्रा हो ।

महिला फुटबलमा दशकभरको परिवर्तन

स्पेनको महिला फुटबलमा पनि पछिल्लो दशकमा ठुलो परिवर्तन आएको छ । अहिलेको सफलताको आधार धेरै वर्षअघिदेखि गरिएको संरचनात्मक सुधारमा रहेको विश्लेषकहरूको भनाइ छ । पूर्वखेलाडी तथा अहिले पत्रकार मारिया गारिडोका अनुसार अवस्था १० वर्षअघिको भन्दा पूर्ण रूपमा बदलिएको छ । उनले भनिन्, ‘मैले बार्सिलोनाबाट खेल्दा केटीहरूका लागि ला मासिया एकेडेमी नै थिएन । प्रशिक्षणमा आउन–जान आफ्नै खर्च लाग्थ्यो । अभिभावकले प्रशिक्षणस्थलसम्म ल्याइदिनुहुन्थ्यो र हामीले कुनै पारिश्रमिक पाउँदैनथ्यौँ । उनका अनुसार पछिल्ला ५ वर्षमा महिला फुटबलमा व्यापक लगानी भएको छ । नयाँ उमेर समूह सिर्जना गरिएका छन्, प्रशिक्षण सुविधा सुधारिएको छ, खेलाडीका लागि राम्रो वातावरण बनाइएको छ र केटीहरूका लागि छुट्टै फुटबल एकेडेमी स्थापना गरिएको छ ।’

गारिडो भन्छिन्, ‘यी परिवर्तनले महिला फुटबललाई मात्र होइन, समाजमा त्यसप्रतिको सम्मानलाई पनि पूर्ण रूपमा बदलिदिएको छ ।’ स्पेनले २०२३ मा महिला विश्वकप जित्दा त्यो प्रतियोगितामा उसको तेस्रो सहभागिता मात्र थियो । पहिलोपटक २०१५ मा विश्वकप खेलेको टोलीले केही वर्षमै विश्व च्याम्पियन बन्न सफल भयो । त्यसपछि लगातार दुईपटक नेसन्स लिग जितेर आफ्नो उत्कृष्टतालाई अझ मजबुत बनायो ।

उज्यालो भविष्य

स्पेनको वर्तमान सफलताले भविष्य झन् आशाजनक देखिएको छ । पुरुष टोलीमा लामिन यमाल र पाउ कुबार्सीजस्ता किशोर प्रतिभाले १९ वर्षकै उमेरमा विश्वकप विजेताको पदक जितेका छन् । यमाल विश्वकप फाइनल खेल्ने इतिहासकै तेस्रो कान्छा खेलाडी बने । उनीभन्दा कम उमेरमा केवल ब्राजिलका महान खेलाडी पेले (१९५८) र इटालीका जिउसेप्पे बेर्गोमी (१९८२) ले मात्रै विश्वकप फाइनल खेलेका थिए । यमालसँगै १९ वर्षीय कुबार्सी पनि फाइनलमा सुरुआती टोलीमा थिए ।


यससँगै स्पेन विश्वकप फाइनलमा एकै खेलमा २ किशोर खेलाडीलाई सुरुआती टोलीमा उतार्ने पहिलो राष्ट्र बन्यो । महिला टोलीमा पनि प्रतिभाको कमी छैन । भिकी लोपेजले १९ वर्षकै उमेरमा बार्सिलोनासँग तीनपटक महिला च्याम्पियन्स लिग जितिसकेकी छन् भने फरवार्ड साल्मा पारालुएलोले २३ वर्ष नपुग्दै राष्ट्रिय टोलीबाट ५० भन्दा बढी खेल खेलिसकेकी छन् ।

‘जित्ने बानीले अझ जिताउँछ’

इंग्ल्यान्डका पूर्व गोलरक्षक जो हार्टका अनुसार अहिले स्पेनको खेल शैलीको विकल्प विश्व फुटबलमा कसैले भेट्टाउन सकेको छैन । उनले भने, ‘स्पेनको खेल्ने तरिका यति व्यवस्थित छ कि अहिले संसारमा कुनै पनि टोली त्यसको नजिक पुग्न सकेको छैन । यो विश्वकपभर उनीहरूलाई कसैले पनि वास्तविक चुनौती दिन सकेन । प्रतियोगिताभर विपक्षीले उनीहरूको पोस्टतर्फ जम्मा १० वटा मात्र प्रभावकारी प्रहार गर्न सके ।’ फ्रान्सका विश्वकप विजेता पूर्वस्ट्राइकर थिएरी हेनरीले पनि स्पेनको सफलताको श्रेय केवल खेलाडीलाई नभई सम्पूर्ण प्रणालीलाई दिएका छन् ।

उनले भने, ‘म उनीहरूको प्रणालीलाई सम्मान गर्न चाहन्छु । किनकि पहिले स्पेनले यसरी लगातार जित्दैनथ्यो । अहिले भने उनीहरू हरेक उमेर समूहमा उपाधि जितिरहेका छन् ।’ स्पेनको सफलताको आधार एउटै पुस्ता वा केही स्टार खेलाडी मात्र नभई बलियो फुटबल संरचना, उत्कृष्ट युवा विकास प्रणाली, प्रशिक्षकको निरन्तरता र स्पष्ट खेल दर्शन रहेको देखिन्छ । त्यसैले धेरै फुटबल विश्लेषकहरूको विश्वास छ— यदि यही प्रणाली कायम रह्यो भने स्पेनको यो स्वर्णिम युग अझ धेरै वर्षसम्म जारी रहनेछ ।

०००

व्यक्तिग अवार्डमा पनि स्पेनकै प्रभुत्व

रोड्रीलाई गोल्डेन बल, क्युबार्सी उत्कृष्ट युवा खेलाडी, सिमोन उत्कृष्ट गोलरक्षक

अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले हराउँदै दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको स्पेनले टोलीगत सफलतासँगै व्यक्तिगत अवार्डहरूमा पनि प्रभुत्व जमाएको छ । विश्वकप–२०२६ सकिएसँगै सार्वजनिक गरिएका व्यक्तिगत पुरस्कारहरूमा स्पेनका तीन खेलाडीले प्रमुख अवार्ड जितेका छन् भने फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे लगातार दोस्रोपटक सर्वाधिक गोलकर्ताको सम्मानबाट सम्मानित भएका छन् । स्पेनका कप्तान रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै प्रतिष्ठित गोल्डेन बल अवार्डका विजेता बने ।

उनले प्रतियोगिताभर मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई दोस्रो विश्वकप उपाधिसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलबाट स्पेन विजयी बनेपछि रोड्रीलाई फाइनल खेलपछि गोल्डेन बल प्रदान गरिएको हो । यस्तै, स्पेनका युवा डिफेन्डर पाउ क्युबार्सीले प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको पुरस्कार जिते । कम उमेरमै उत्कृष्ट परिपक्वता र आत्मविश्वासपूर्ण प्रदर्शन गरेका क्युबार्सी प्रतियोगिताभर स्पेनको रक्षापंक्तिका भरपर्दा खेलाडीका रूपमा स्थापित भए ।

स्पेनकै गोलरक्षक उनाई सिमोनले गोल्डेन ग्लोभ अवार्ड जिते । उनले प्रतियोगिताभर महत्वपूर्ण बचाउ गर्दै स्पेनको सफल यात्रामा उल्लेखनीय योगदान दिए । विशेषगरी नकआउट चरणका खेलहरूमा उनको प्रदर्शन निर्णायक मानिएको छ ।

एम्बाप्पले जिते लगातार दोस्रोपटक गोल्डेन बुट

उता, फ्रान्सका कप्तान तथा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले प्रतियोगितामा सर्वाधिक १० गोल गर्दै लगातार दोस्रोपटक गोल्डेन बुट अवार्ड जिते । यससँगै उनी विश्वकप इतिहासमा लगातार २ संस्करणमा सर्वाधिक गोलकर्ताको सम्मान जित्ने पहिलो खेलाडी बने । एम्बाप्पेले यसअघि सन् २०२२ को कतार विश्वकपमा पनि ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यस संस्करणमा उनले ८ खेल खेल्दै १० गोल गरेका हुन् । तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स इंग्ल्यान्डसँग ६–४ ले पराजित भए पनि एम्बाप्पेले २ गोल गर्दै आफ्नो कुल गोलसंख्या १० पु¥याएका थिए ।
गोलकर्ताको सूचीमा एम्बाप्पेपछि अर्जेन्टिनाका लियोनल मेसी ८ गोलसहित दोस्रो स्थानमा रहे । नर्वेका अर्लिङ हालान्ड तथा इंग्ल्यान्डका जुड बेलिंघमले समान ७–७ गोल गरे भने इंग्ल्यान्डका ह्यारी केन र फ्रान्सकै ओसमान डेम्बेलेले समान ६–६ गोल गरे । एम्बाप्पेले समूह चरणमा सेनेगल र इराकविरुद्ध समान २–२ गोल गरेका थिए । त्यसपछि अन्तिम ३२ मा स्विडेनविरुद्ध २ गोल, अन्तिम १६ मा पाराग्वेविरुद्ध पेनाल्टीमार्फत १ गोल, सेमिफाइनलमा मोरक्कोविरुद्ध १ गोल तथा तेस्रो स्थानको खेलमा इंग्ल्यान्डविरुद्ध २ गोल गर्दै प्रतियोगिता १० गोलका साथ समाप्त गरेका हुन् । स्पेनले टोलीगत सफलतासँगै व्यक्तिगत अवार्डमा पनि वर्चस्व कायम गर्दा विश्वकप–२०२६ उसकै नाममा ऐतिहासिक संस्करणका रूपमा दर्ज भएको छ ।

मेसीको सम्भावित अन्तिम विश्वकपले समर्थकलाई बनायो भावुक

स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ । समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीको सम्भावित अन्तिम विश्वकप यात्रा पनि समाप्त भएको क्षण बनेको छ । ब्युनस आयर्सका बार, क्याफे र सार्वजनिक चोकहरूमा खेल हेर्न भेला भएका हजारौँ समर्थक खेल सकिएको घोषणासँगै स्तब्ध बने । खेल सुरु हुँदा उत्साह, जयजयकार र आशाले भरिएका समर्थकहरू खेल सकिँदासम्म आँसु, निराशा र भावुकतामा डुबेका देखिए । धेरैले अब ३९ वर्षीय मेसीलाई विश्वकपमा फेरि देख्न नपाइने पीडा सबैभन्दा ठुलो रहेको प्रतिक्रिया दिएका छन् ।

२२ वर्षीय वास्तुकला विद्यार्थी क्यामिलो चिचेरोले आफूलाई खाली महसुस भएको बताउँदै मेसीको विश्वकप यात्रा यतिमै टुंगिएको स्वीकार गर्न गाह्रो भएको प्रतिक्रिया दिए । उनले कम्तीमा मेसीले आफ्नो करिअरमा जित्नुपर्ने सबै प्रमुख उपाधि जितिसकेको तथ्यले केही सान्त्वना दिएको बताए । उनका साथी तथा कानुनका विद्यार्थी जुआन सेन्जले पनि मेसीकै युगमा आफू हुर्किएको उल्लेख गर्दै यो केवल एक खेलाडीको बिदाइ नभई एउटा युगको अन्त्य भएको प्रतिक्रिया दिए । यद्यपि हारपछि पनि अर्जेन्टिनाका समर्थकहरूले आफ्नो टोलीप्रतिको सम्मान कायम राखेका छन् ।

राजधानी ब्युनस आयर्सको प्रसिद्ध ओबेलिस्क क्षेत्रमा हजारौँ समर्थक भेला भएर टोलीको हौसला बढाउँदै उत्सव मनाएका थिए । उनीहरूले टोली स्वदेश फर्किएपछि स्वागत गर्न सडकमा उत्रने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । राष्ट्रपति जेभियर मिलेईले सामाजिक सञ्जाल एक्समार्फत खेलाडीहरूले अन्तिम क्षणसम्म संघर्ष गरेको भन्दै उनीहरूलाई धन्यवाद व्यक्त गरेका छन् । फाइनलअघि अर्जेन्टिनी समर्थकहरू लगातार कठिन जितका आधारमा टोलीले पुनः च्याम्पियन बन्ने विश्वासमा थिए । राष्ट्रिय झण्डा र निलो–सेतो जर्सी लगाएर उनीहरू बिहानैदेखि बार र सार्वजनिक स्थानमा भेला भएका थिए । खेल अगाडि बढ्दै जाँदा उत्साह क्रमशः तनावमा बदलिएको थियो ।

दोस्रो हाफ र अतिरिक्त समयमा समर्थकहरू प्रार्थना, चिच्याहट र चिन्तामा डुबेका थिए । एन्जो फर्नान्डेज रातो कार्ड पाएर मैदान बाहिरिएपछि धेरै समर्थक झन् निराश बने । अन्ततः अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलले अर्जेन्टिनाको उपाधि रक्षा अभियान समाप्त गरिदियो । पराजयपछि केही समर्थकहरूले टोलीको प्रदर्शन, रणनीति, खेलाडी छनोट तथा निर्णायकको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । तर धेरैले खेलाडीहरूले अन्तिमसम्म पूरा शक्ति लगाएर खेलेकाले उनीहरूप्रति गर्व रहेको बताएका छन् ।

६२ वर्षीय सेवानिवृत्त एबेल टोरेसले अर्जेन्टिनाले अन्तिम क्षणसम्म संघर्ष गरेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि उठेर अघि बढ्ने राष्ट्रको चरित्र टोलीले मैदानमा प्रस्तुत गरेको बताए । मेसीको जन्मस्थान रोजारियोमा पनि सयौँ समर्थक भेला भएर आतसबाजीसहित टोली र मेस्सीलाई सम्मान व्यक्त गरेका छन् । समर्थक सर्जियो इराजाबलले विश्वकप गुमाए पनि मेस्सीले अर्जेन्टिनालाई विश्व फुटबलको शिखरमा पु¥याइसकेको भन्दै उनको योगदान सधैँ स्मरणीय रहने बताए ।

प्रतिक्रिया