विश्वकप २०२६ को नालीबेली : स्पेनको सफलता, नयाँ कीर्तिमान र अविस्मरणीय क्षणहरू

काठमाडौँ । उत्तर अमेरिकामा सम्पन्न फिफा विश्वकप २०२६ ले विश्व फुटबलमा नयाँ इतिहास रचेको छ । पहिलोपटक ४८ टोलीको सहभागितामा आयोजित यस २३औँ संस्करणको प्रतियोगिताले प्रतिस्पर्धात्मक खेल, नयाँ कीर्तिमान, अप्रत्याशित नतिजा र भावनात्मक क्षणहरूको मिश्रण प्रस्तुत गर्यो । १६ वटा रंगशालामा ३९ दिनसम्म सञ्चालन भएका १०४ खेलमार्फत विश्वभरका करोडौँ समर्थकलाई फुटबलको उत्सवमा सहभागी गराउँदै प्रतियोगिता सम्पन्न भएको हो । यस संस्करणको सबैभन्दा ठुलो उपलब्धि स्पेनको दोस्रो विश्वकप उपाधि रह्यो ।

अतिरिक्त समयमा अर्जेन्टिनामाथि १–० को कठिन जित निकाल्दै स्पेनले १६ वर्षपछि पुनः विश्व फुटबलको सर्वोच्च उपाधि जित्न सफल भयो । सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकप जितेको स्पेनले यसपटक अनुशासित, सन्तुलित र आकर्षक खेल प्रदर्शन गर्दै पुनः आफूलाई विश्वकै उत्कृष्ट टोलीका रूपमा स्थापित गर्यो । स्पेनले प्रतियोगिताभर बल नियन्त्रण, उत्कृष्ट पासिङ, संयमित रक्षापंक्ति र प्रभावकारी आक्रमणको उत्कृष्ट नमुना प्रस्तुत गर्यो ।

निर्णायक क्षणमा अवसरको सदुपयोग गर्ने क्षमताले टोलीलाई उपाधिसम्म पुर्यायो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले व्यक्तिगत रूपमा पनि विभिन्न सम्मान प्राप्त गर्दै स्पेनको सफलतालाई अझ ऐतिहासिक बनाए । स्पेनका कप्तान रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै प्रतिष्ठित गोल्डेन बल अवार्डका विजेता बने । उनले प्रतियोगिताभर मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई दोस्रो विश्वकप उपाधिसम्म पु¥याउन महŒवपूर्ण भूमिका खेलेका थिए ।

अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलबाट स्पेन विजयी बनेपछि रोड्रीलाई फाइनल खेलपछि गोल्डेन बल प्रदान गरिएको हो । यस्तै, स्पेनका युवा डिफेन्डर पाउ क्युबार्सीले प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको पुरस्कार जिते । कम उमेरमै उत्कृष्ट परिपक्वता र आत्मविश्वासपूर्ण प्रदर्शन गरेका क्युबार्सी प्रतियोगिताभर स्पेनको रक्षापंक्तिका भरपर्दा खेलाडीका रूपमा स्थापित भए । स्पेनकै गोलरक्षक उनाई सिमोनले गोल्डेन ग्लोभ अवार्ड जिते ।

उनले प्रतियोगिताभर महत्वपूर्ण बचाउ गर्दै स्पेनको सफल यात्रामा उल्लेखनीय योगदान दिए । विशेषगरी नकआउट चरणका खेलहरूमा उनको प्रदर्शन निर्णायक मानिएको छ । उता, लगातार दोस्रोपटक विश्वकप जित्ने लक्ष्यसहित मैदान उत्रिएको अर्जेन्टिनाको सपना भने अधुरै रह्यो । कप्तान लियोनल मेसीको नेतृत्वमा सातौँपटक विश्वकपको फाइनल पुगेको टोलीले उपाधि जोगाउने अवसर गुमायो । फाइनलमा अर्जेन्टिनाले अपेक्षाअनुसार आक्रामक खेल प्रदर्शन गर्न सकेन ।

अग्रपंक्तिका खेलाडीहरूले सिर्जना गरेका अवसर सीमित रहे भने पास आदानप्रदानमा समेत तालमेलको कमी देखियो । स्पेनको दबाबपूर्ण खेलका कारण अर्जेन्टिना आफ्नो स्वाभाविक लयमा देखिन सकेन । यद्यपि अर्जेन्टिनाको समग्र यात्रा प्रभावशाली रह्यो । समूह चरणदेखि नकआउटसम्म टोली अपराजित रहँदै फाइनल पुगेको थियो । मेसीले प्रतियोगिताभर उत्कृष्ट नेतृत्व प्रदर्शन गर्दै ८ गोल गरे भने अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै नयाँ कीर्तिमानसमेत बनाए ।

फाइनलमा पराजित भए पनि अर्जेन्टिनाले लगातार २ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीका रूपमा आफ्नो स्थान सुरक्षित राख्यो । विश्वकप–२०२६ खेलस्तरका साथै आर्थिक दृष्टिले पनि ऐतिहासिक बन्यो । विश्व फुटबल महासंघ (फिफा) ले हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि घोषणा गर्दै कुल ८७ करोड १० लाख अमेरिकी डलर वितरण ग¥यो । विजेता स्पेनले ५ करोड अमेरिकी डलर प्राप्त गर्दा उपविजेता अर्जेन्टिनाले ३ करोड ३० लाख डलर हात पा¥यो । तेस्रो र चौथो हुने टोलीलाई क्रमशः २ करोड ९० लाख र २ करोड ७० लाख डलर प्रदान गरियो ।


प्रतियोगितामा सहभागी सबै ४८ टोलीलाई तयारी खर्चस्वरूप १५ लाख अमेरिकी डलर उपलब्ध गराइएको थियो । समूह चरण पार गर्ने, राउन्ड अफ ३२, राउन्ड अफ १६ तथा क्वार्टरफाइनल पुग्ने टोलीका लागि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको थियो । यसले विश्वकपमा सहभागी साना तथा विकासोन्मुख फुटबल राष्ट्रहरूलाई समेत आर्थिक रूपमा ठुलो सहयोग पुगेको मानिएको छ । यस संस्करणमा थुप्रै उत्कृष्ट गोल पनि चर्चामा रहे ।

नर्वेका एन्टोनियो नुसाले इंग्ल्यान्डविरुद्ध कठिन कोणबाट गरेको गोल प्रतियोगिताकै उत्कृष्टमध्ये एक मानियो । केप भर्डेका सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा गरेको गोल तथा अर्जेन्टिनाका जुलियन अल्भारेजले स्विट्जरल्यान्डविरुद्ध बक्स बाहिरबाट गरेको प्रहारले पनि समर्थकलाई रोमाञ्चित बनायो । व्यक्तिगत प्रदर्शनतर्फ फ्रान्सका किलियन एम्बाप्पे पुनः चर्चामा रहे । फ्रान्स उपाधिबाट वञ्चित भए पनि उनले विश्वकप इतिहासमा सर्वाधिक २२ गोल गर्ने खेलाडी बन्दै गोल्डेन बुट जिते ।

यस संस्करणमा मात्रै उनले १० गोल गरे । टोली फाइनल पुग्न नसके पनि एम्बाप्पेको प्रदर्शन विश्व फुटबलका लागि अर्को ठुलो उपलब्धि मानिएको छ । विश्वकपमा भावनात्मक क्षणहरूको पनि कमी रहेन । ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार खेलाडी नेयमार मैदानमै भावुक बनेका दृश्य विश्वभर चर्चाको विषय बने । लामो समयको चोटपछि फर्किएर पनि टोलीलाई उपाधिसम्म पु¥याउन नसक्दा उनी आँसु रोक्न सकेनन् । यस्तै, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने अन्तिम सपना पनि यसपटक पूरा हुन सकेन ।

लगातार ६ विश्वकपमा गोल गर्ने दुर्लभ कीर्तिमान कायम गरे पनि उनी आफ्नो टोलीलाई विश्वविजेता बनाउन असफल रहे । विश्वकप–२०२६ ले केवल फुटबल पावरहाउस स्पेनलाई विश्वविजेता मात्र बनाएन, यसले विश्व फुटबलमा उदाउँदै गरेका टोली र खेलाडीलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गराउने अवसर प्रदान ग¥यो । परम्परागत शक्तिशाली राष्ट्रहरूका साथै पहिलोपटक वा सीमित अनुभव भएका टोलीहरूले पनि उत्कृष्ट प्रदर्शन गर्दै भविष्यका लागि आशा जगाएका छन् ।

यस संस्करणको सबैभन्दा प्रेरणादायी टोलीमध्ये अफ्रिकाको सानो टापु राष्ट्र केप भर्डे रह्यो । करिब ५ लाख ६० हजार जनसंख्या भएको यस राष्ट्रले पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदै प्रतियोगिताभर प्रभावशाली प्रदर्शन ग¥यो । अनुभव र स्रोतसाधनका हिसाबले बलिया राष्ट्रभन्दा निकै पछाडि भए पनि मैदानमा देखाएको आत्मविश्वास, अनुशासन र संघर्षशील खेलले विश्व फुटबल समर्थकको मन जित्यो । विशेष गरी, अर्जेन्टिनाविरुद्धको नकआउट खेलमा केप भर्डेले दिएको चुनौती उल्लेखनीय रह्यो ।


अतिरिक्त समयसम्म खेललाई प्रतिस्पर्धात्मक बनाएको टोली अन्ततः आत्मघाती गोलका कारण प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । स्पेनसँग गोलरहित बराबरी खेल्नु र बलिया प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्नु पनि टोलीका लागि ठुलो उपलब्धि बन्यो । प्रतियोगिताभर केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाले गरेको उत्कृष्ट बचाउले उनी विश्वभरका समर्थकको प्रशंसाका पात्र बने । यसैगरी, इजिप्ट, बोस्निया एन्ड हर्जगोभिना तथा डिआर कंगोेजस्ता टोलीले उपाधि जित्न नसके पनि आफ्नो संघर्षपूर्ण खेलका कारण व्यापक समर्थन प्राप्त गरे ।

पहिलोपटक नकआउट चरणसम्म पुगेका केही टोलीले सीमित अनुभवका बाबजुद उत्कृष्ट प्रदर्शन गरेर भविष्यमा विश्व फुटबलको शक्ति सन्तुलन परिवर्तन हुन सक्ने संकेत दिएका छन् । यस संस्करणले साना राष्ट्रका खेलाडी पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको सन्देश दिएको छ । प्रतियोगिताको सबैभन्दा दुःखद् घटनामध्ये दक्षिण अफ्रिकाका युवा खेलाडी जेडेन एडम्सको मृत्यु रह्यो ।

विश्वकप सम्पन्न भएपछि स्वदेश फर्केलगत्तै २५ वर्षीय एडम्सको मृत्यु भएको खबर सार्वजनिक भएपछि फुटबल जगत् शोकमा डुब्यो । प्रतियोगिताका क्रममा आफ्नी हजुरआमाको मृत्यु भए पनि राष्ट्रिय टोलीका लागि खेललाई निरन्तरता दिएका उनले राष्ट्रप्रतिको समर्पणको उदाहरण प्रस्तुत गरेका थिए । दक्षिण अफ्रिकालाई पहिलोपटक विश्वकपको नकआउट चरणसम्म पु¥याउन महŒवपूर्ण भूमिका खेलेका एडम्सको सम्झनामा विभिन्न खेलअघि मौनधारण गरिएको थियो ।

उनको असामयिक मृत्युले विश्व फुटबल परिवारलाई भावुक बनाएको थियो । प्रतियोगिताले आधुनिक प्रविधिको प्रयोगलाई पनि थप प्रभावकारी रूपमा स्थापित गर्यो । भिडियो सहायक रेफ्री (भिएआर), अर्धस्वचालित अफसाइड प्रणाली तथा उन्नत खेल विश्लेषण प्रविधिले निर्णय प्रक्रियालाई अझ पारदर्शी र विश्वसनीय बनाउन योगदान पुर्यायो । खेलाडीको प्रदर्शन विश्लेषणदेखि दर्शकको अनुभव सुधारसम्म प्रविधिको व्यापक प्रयोगले विश्व फुटबल नयाँ युगमा प्रवेश गरेको अनुभूति दिलायो ।

समग्रमा, फिफा विश्वकप–२०२६ स्पेनको ऐतिहासिक सफलतासँगै विश्व फुटबलको विकास, प्रविधिको विस्तार, नयाँ प्रतिभाको उदय र विश्वव्यापी एकताको सन्देश बोकेको अविस्मरणीय प्रतियोगिताका रूपमा इतिहासमा दर्ज भएको छ । खेलभावना, अनुशासन, प्रतिस्पर्धा र विश्वबन्धुत्वको भावनालाई सुदृढ बनाउँदै यस संस्करणले भविष्यका विश्वकपका लागि नयाँ मापदण्डसमेत स्थापित गरेको फुटबल विश्लेषकहरूको भनाइ छ ।

फ्रान्सको मुख्य प्रशिक्षकमा जिदान नियुक्त

फ्रान्सेली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पूर्वकप्तान तथा चर्चित प्रशिक्षक जिनेदिन जिदान नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फ्रान्सले जिदानसँग सन् २०३० को जुनसम्मका लागि सम्झौता गरेको छ । यससँगै उनले सन् २०२७ को युइएफए नेसन्स लिग, सन् २०२८ को युरोपियन च्याम्पियनसिप (युरो) र सन् २०३० को फिफा विश्वकपसम्म फ्रान्सेली टोलीको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।

विश्वकप २०२६ सम्म फ्रान्सको जिम्मेवारी डिडियर डेसच्याम्सले सम्हालेका थिए । उनको प्रशिक्षणमा फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित हुँदै उपाधि दौडबाट बाहिरिएको थियो । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा पनि अपेक्षित प्रदर्शन गर्न नसक्दा फ्रान्स चौथो स्थानमा सीमित भएको थियो । ५४ वर्षीय जिदानले सन् २०२१ मा रियल म्याड्रिड छाडेपछि कुनै पनि क्लब वा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिएनन् ।

प्रशिक्षकका रूपमा उनले रियल म्याड्रिडलाई लगातार तीनपटक युइएफए च्याम्पियन्स लिग, दुई पटक ला–लिगा उपाधिसहित विभिन्न घरेलु र अन्तर्राष्ट्रिय सफलता दिलाएका थिए । उनको अनुभव र सफलताको आधारमा फ्रान्सेली टोलीलाई पुनः उपाधि दाबेदार बनाउने अपेक्षा गरिएको छ । यद्यपि फ्रान्सेली फुटबल महासंघले नियुक्तिबारे औपचारिक घोषणा गरिसकेको छैन । तर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जिदान र महासंघबीच सम्झौता सम्पन्न भइसकेको जनाएका छन् ।

विश्वविजेता स्पेनको टोलीलाई म्याड्रिडमा ऐतिहासिक स्वागत, लाखौँ समर्थक सडकमा उत्रिए

विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको स्पेनको राष्ट्रिय फुटबल टोलीलाई राजधानी म्याड्रिडमा भव्य स्वागत गरिएको छ । विश्वकप विजेता टोलीलाई अभिनन्दन गर्न झन्डै १८ लाखदेखि २० लाखसम्म समर्थक सडकमा उत्रिएको अनुमान गरिएको छ । विश्वकप जितेको उत्साहमा म्याड्रिडका प्रमुख सडकहरू समर्थकले भरिभराउ भएका थिए ।

अमेरिकाको न्यु जर्सीमा सम्पन्न विश्वकप फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रोपटक विश्वविजेता बनेको स्पेनको टोली सोमबार स्वदेश फर्किएको हो । टोली स्वदेश पुगेलगत्तै खेलाडी र प्रशिक्षक मण्डलले स्पेनका राजपरिवारका सदस्यसँग भेट गरेका थिए । त्यसपछि उनीहरूले प्रधानमन्त्री पेड्रो सान्चेजसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्री सान्चेजले टोलीलाई बधाई दिँदै खेलाडी र प्रशिक्षकको प्रशंसा गरे ।

उनले स्पेनले प्रतियोगिताभर प्रदर्शन गरेको आकर्षक खेल शैली, निरन्तरको मिहिनेत र ऐतिहासिक सफलताले सम्पूर्ण देशलाई गौरवान्वित बनाएको बताए । उनले स्पेनिस टोलीको खेल हेर्न पाउँदा देशवासी अत्यन्त उत्साहित भएको उल्लेख गरे । औपचारिक भेटघाटपछि खेलाडीहरू खुला छाना भएको बसमा सवार भएर म्याड्रिडका मुख्य सडक हुँदै विजय उत्सव मनाउन निस्किएका थिए ।

बसमा ‘स्टार्स साइन टुगेदर’ (ताराहरू सँगै चम्किन्छन्) भन्ने सन्देश लेखिएको थियो भने खेलाडीहरूको तस्बिर पनि राखिएको थियो । खेलाडीहरूले विश्वकपको ट्रफी बोकेका थिए भने उनीहरूले ‘सोमोस क्याम्पियोनेस’ अर्थात् ‘हामी च्याम्पियन हौँ’ लेखिएको विशेष टी–सर्ट लगाएका थिए । बस यात्राका क्रममा खेलाडीहरूले समर्थकतर्फ हात हल्लाउँदै अभिवादन गरे, नाचे र उत्सवमा सहभागी हजारौँ समर्थकसँग खुसी साटासाट गरे ।

सडकका दुवैतर्फ राष्ट्रिय झन्डा बोकेका समर्थकहरूले टोलीको स्वागत गर्दै नाराबाजी गरेका थिए । मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले विजय यात्राअघि प्रतिक्रिया दिँदै स्पेनजस्तो महान् देश र उत्साही समर्थकहरूको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि अत्यन्त भावुक र गर्वको क्षण भएको बताए । उनले टोली अहिले अपार खुसीले भरिएको उल्लेख गर्दै यो सफलता सम्पूर्ण स्पेनिस नागरिकको भएको बताए । विजय र्याली प्रधानमन्त्रीको आधिकारिक निवास मोन्क्लोआ दरबार नजिकबाट सुरु भएर ऐतिहासिक सिबेलेस स्क्वायरसम्म पुगेको थियो ।

स्थानीय प्रशासनका अनुसार सिबेलेस क्षेत्रमा मात्र करिब १ लाख २० हजार समर्थक उपस्थित थिए । टोली पुग्नुअघि नै सयौँ समर्थक बिहानैदेखि स्थान सुरक्षित गर्न पुगेका थिए । अत्यधिक गर्मीका कारण धेरैले छाता बोकेका थिए । त्यस दिन म्याड्रिडको तापक्रम ३५ डिग्री सेल्सियससम्म पुगेको थियो । सिबेलेस स्क्वायर स्पेनका राष्ट्रिय टोलीले ठुलो सफलता हासिल गरेपछि उत्सव मनाउने परम्परागत स्थानका रूपमा परिचित छ । स्पेनिस क्लब रियल म्याड्रिडले पनि प्रमुख उपाधि जितेपछि यही स्थानमा समर्थकसँग विजय उत्सव मनाउने परम्परा रहँदै आएको छ । समारोहमा चर्चित गायिका आइताना, आना मेना र लोला इन्डिगोले सांगीतिक प्रस्तुति दिने कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

स्पेनले आइतबार सम्पन्न फाइनलमा अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनालाई पराजित गर्दै सन् २०१० पछि पहिलो तथा समग्रमा दोस्रो विश्वकप उपाधि जितेको थियो । स्पेनको सफलतापछि प्रतियोगिताका सह–आयोजक ३ देशका नेताहरूले पनि बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउम तथा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले स्पेनिस टोलीलाई ऐतिहासिक सफलताको शुभकामना दिएका हुन् । फाइनल खेल समाप्त भएलगत्तै म्याड्रिडसहित देशका विभिन्न सहरमा स्वतःस्फूर्त उत्सव सुरु भएको थियो ।

हजारौँ समर्थक बार, रेस्टुरेन्ट र सार्वजनिक स्थलबाट सडकमा निस्किएका थिए । धेरैले स्पेनको राष्ट्रिय झन्डा ओढेका थिए भने कतिपय टोलीको जर्सी लगाएर नाचगानमा सहभागी बनेका थिए । राजधानीको पुर्टा डेल सोलसहितका प्रमुख चोकहरू समर्थकले भरिएका थिए । गीत–संगीत, नाचगान, गाडीका हर्न र रंगीन फ्लेयरका बीच विजयको उत्सव रातभर जारी रहेको थियो । १९ वर्षीय समर्थक भिक्टर अल्भारेजले आफू केवल ३–४ घण्टा मात्र सुते पनि टोलीको सफलताका लागि त्यो कुनै ठुलो कुरा नभएको बताए ।

उनले विश्वकप जितेको क्षण आफ्नो जीवनकै अविस्मरणीय अनुभव भएको प्रतिक्रिया दिए । यस्तै, ५९ वर्षीया सरकारी कर्मचारी गेमा रोडेरोले परिवारसँग घरमै बसेर खेल हेर्दा अत्यन्त भावुक बनेको बताइन् । उनले टोलीको सफलताले सम्पूर्ण देशलाई एकताबद्ध बनाएको उल्लेख गरिन् । यद्यपि उत्सवका बीच एउटा दुःखद् घटना पनि भएको छ ।

स्थानीय प्रशासनका अनुसार म्याड्रिडको उत्तरपश्चिममा रहेको सालामान्कामा साथीहरूसँग विजय उत्सव मनाइरहेका १३ वर्षीय एक बालक फोहरामा चढेका बेला संरचना भत्किँदा उनको मृत्यु भएको छ । यस विश्वकप सफलतासँगै स्पेनले पुरुष र महिला दुवै विश्वकप उपाधि एकै समयमा आफ्नो कब्जामा राख्ने पहिलो राष्ट्र बन्ने ऐतिहासिक कीर्तिमान पनि बनाएको छ । स्पेनको महिला टोलीले सन् २०२३ मा महिला विश्वकप जितेको थियो भने अहिले पुरुष टोलीले पनि विश्व फुटबलको सर्वोच्च उपाधि उचाल्दै देशको फुटबल इतिहासमा अर्को स्वर्णिम अध्याय थपेको छ ।

प्रतिक्रिया