भारतमा विद्यार्थीको आक्रोशपछि दबाबमा प्रधानमन्त्री मोदी, राहुल गान्धीले लगाए मोदीमाथि गम्भीर आरोप

काठमाडौं । भारतमा सञ्चालित विभिन्न प्रतिस्पर्धात्मक परीक्षाका प्रश्नपत्र चुहावट र अनियमितताको मुद्दाले राजनीतिक रूपमा उग्र रूप लिएको छ । आन्दोलनरत विद्यार्थी र विपक्षी दलहरूको चौतर्फी घेराबन्दीमा परेका प्रधानमन्त्री नरेन्द्र मोदीले फास्ट ट्र्याक अदालत गठनको घोषणा गर्दै बचाउको प्रयास गरे पनि विपक्षी दलका नेता राहुल गान्धीले उनीमाथि तीव्र आलोचना गरेका छन् ।

सडकदेखि सदनसम्म प्रदर्शन चर्किएपछि दबाबमा परेका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत युवाको भविष्य सरकारको प्राथमिकतामा रहेको र दोषीलाई नछाडिने आश्वासन दिएका थिए । तर, मोदीको यो घोषणा लगत्तै कडा प्रतिक्रिया दिँदै लोकसभाका विपक्षी नेता राहुल गान्धीले शिक्षा प्रणाली ध्वस्त पारेको मुख्य जिम्मेवार स्वयं प्रधानमन्त्री भएको आरोप लगाएका छन् ।

राहुल गान्धीले तथ्यांक सार्वजनिक गर्दै भाजपा नेतृत्वको एनडीए सरकार सत्तामा आएयता १५२ वटा प्रश्नपत्र चुहावट भइसकेको र त्यसबाट करिब ७ करोड ५० लाख विद्यार्थीको भविष्य अन्योलमा परेको दाबी गरेका छन् । पछिल्लो १० वर्षमा १५२ वटा प्रश्नपत्र चुहावट हुनुको अर्थ औसतमा हरेक महिना एउटा परीक्षाको प्रश्नपत्र बिक्री भइरहेको भन्दै उनले प्रधानमन्त्री मोदीले शिक्षा प्रणालीलाई विनाश गर्न दिनुका साथै दोषीहरूलाई खुलेआम संरक्षण दिएको आरोप लगाएका छन् ।

यसैगरी कांग्रेसका वरिष्ठ नेता जयराम रमेशले संसदमा बहस गर्न डराएर प्रधानमन्त्रीले सामाजिक सञ्जालको सहारा लिएको टिप्पणी गरेका छन् । भोट चोरी, सिट चोरी र चन्दा चोरीपछि अब परीक्षाको प्रश्नपत्र पनि चोरी भइरहेको भन्दै उनले सरकारको काण्डहरूको सूची दिनप्रतिदिन लामो हुँदै गएको बताएका छन् ।

विद्यार्थी संगठन र काङ्ग्रेस जनता पार्टीले नयाँ दिल्लीको जन्तर मन्तरमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शन तीव्र बनाएका छन् । यस प्रकरणमा केन्द्र सरकार आफ्नै पार्टीका नेताहरूबाट समेत घेरिएको छ ।

तमिलनाडु भाजपाका पूर्वअध्यक्ष के. अन्नामलाईले आन्दोलनरत विद्यार्थीहरूसँग वार्ता गर्न ढिलाइ गरेको भन्दै आफ्नै सरकारको कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् । आन्दोलन निर्णायक मोडमा नपुगुन्जेल सरकार के हेरेर बस्यो र वार्ताका लागि यति लामो समय किन लगाइएको भन्दै उनले प्रश्न उठाएका छन् ।

बढ्दो राजनीतिक दबाब र असन्तोषलाई साम्य पार्न केन्द्रीय स्वास्थ्य मन्त्री तथा भाजपा अध्यक्ष जेपी नड्डाले सरकारको बचाउ गरेका छन् । उनले मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र सत्यतथ्य बाहिर ल्याउने दाबी गरेका छन् ।

विपक्षी प्रहारलाई पन्छाउने प्रयास गर्दै नड्डाले राहुल गान्धीमाथि राजनीति गरेको आरोप लगाएका छन् । विपक्षी शासित राज्यहरू हिमाचल, झारखण्ड, तेलङ्गाना, पश्चिम बंगाल, पञ्जाब, केरला र कर्नाटकमा भएका पेपर लीकका घटनामा गान्धी मौन बसेको भन्दै उनले राहुलको उद्देश्य विद्यार्थीको हित नभई राजनीतिक रोटी सेक्नु मात्र रहेको दाबी गरेका छन् ।

नीटलगायतका ठूला परीक्षाहरूमा भएका धाँधलीले भारतीय शिक्षा प्रणालीको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ । लाखौँ विद्यार्थी सडकमा उत्रिँदा र आफ्नै दलभित्र समेत असन्तोष देखिँदा प्रधानमन्त्री मोदीका लागि यो मुद्दा पछिल्लो समयकै सबैभन्दा ठूलो राजनीतिक चुनौती बनेको छ ।

प्रतिक्रिया