
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसले विभाजनको औपचारिक उद्घोष गरेको छ । संस्थापक स्वर्गीय नेता कोइरालालाई साक्षी राख्दै संस्थापन र इतर पक्षले आ–आफ्नो बाटो तय गरेका हुन् । इतर पक्षले छुट्टै कार्यक्रममार्फत् राष्ट्रिय भेला आह्वान गर्दै विभाजनको बाटोलाई औपचारिकता प्रदान गरेको हो । संस्थापनसँग एकताको सम्भावना सकिएको र सभापति गगन थापाले एकता नचाहेको आरोप लगाउँदै इतर पक्षका शीर्ष नेताहरूले नयाँ पार्टी बनाउने उद्घोष गरे । कांग्रेस संस्थापनले आगामी १६–१९ मा बोलाएको पार्टीको १५औँ महाधिवेशन अस्वीकार गर्दै छुट्टै महाधिवेशन बोलाउने भन्दै सुरु गरिएको समानान्तर गतिविधिले अन्ततः फुटकै रूप लिएको हो । विपीलाई साक्षी राखेर कांग्रेस विभाजनको रेखा कोरिएको छ ।

पार्टी विभाजनलाई औपचारिकता दिन इतर पक्षले २९ साउनमा राष्ट्रिय भेला बोलाएको छ । इतर पक्षका शीर्ष नेताहरू, १४औँ महाधिवेशनका पदाधिकारी र केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारी र जिल्ला सभापतिहरूसँग छुट्टाछुट्टै भेलापछि इतर पक्षले प्रदेशस्तरीय भेलासमेत गरिसकेको छ । पार्टी विभाजनलाई औपचारिकता दिन राष्ट्रिय भेला गर्ने नेताहरूको तयारी र कार्यकर्ताहरूको छिटो गर्नुपर्ने दबाबका बीच सहमति प्रयासका लागि भेला आयोजनामा ढिलाइ गरिएको थियो । तर, सभापति गगन थापा र नेता पूर्णबहादुर खड्काबीचको वान–टू–वान् वार्ता, नेताहरूका छुट्टाछुट्टै र सामूहिक वार्ताले पनि एकताको आधार तयार गर्न नसकेपछि अन्ततः इतर पक्ष नयाँ पार्टीकै पक्षमा पुगेको हो । नेताहरूले राष्ट्रिय भेलापछि नयाँ पार्टी गठन हुने बताएका छन् ।
यता, संस्थापन पक्षले भने पार्टी विभाजनका लागि इतर पक्ष औपचारिक रूपमा अघि बढिसक्दा पनि एकताका लागि गम्भीरता देखाएको छैन । बुधबारको सभामा बोलेका इतर पक्षका नेताहरूले सभापति थापामाथि आक्रोश पोख्दै उनकै कारण पार्टीमा बस्ने स्थिति नभएको बताए । पार्टी विभाजनको विकल्प नभएको उनीहरूको धारणा छ ।
ब्यानरमै गगन थापाले पार्टी कब्जा गरेको सन्देश !
कांग्रेसमा बिपी जन्मजयन्ती तथा स्मृति दिवसलाई निकै महत्वका साथ हेरिन्छ र हरेक वर्ष पार्टीले औपचारिक रूपमा मनाउने गर्छ । कांग्रेस संस्थापनले दौड प्रतियोगितासहितको औपचारिक कार्यक्रम आयोजना गरिरहँदा इतरले विद्रोह गरेर छुट्टै कार्यक्रम राख्यो ।
एकताको सम्भावना सकिएको देखेको इतरले ‘संवाद, सहमति र एकता आजको आवश्यकता’ भन्दै ब्यानरमै उल्लेख गरेर आफूहरू एकताको पक्षमा रहेको सन्देश दिएको थियो । बिपी स्मृति दिवस आयोजक समितिको आयोजनामा गरिएको कार्यक्रममा कांग्रेसको चारतारे झन्डा र बिपीको फोटो समावेश थियो भने संस्थापनप्रति चोटिलो प्रहारसमेत गरिएको थियो ।
नेता बिपी कोइरालाले कुनै समयमा भनेको ‘सुकिलामुकिलाहरू पार्टीमा एक पटक हाबी हुन सक्छन् । हामी तिनका दास हुनुहुँदैन’ भन्ने भनाइ ब्यानरमै उल्लेख गरेर सभापति थापालगायतले पार्टी कब्जा गरेको सन्देश प्रवाह गरिएको छ । त्यस्तै उनीहरूको दास नहुने भन्दै आफूहरू आफ्नै तरिकाले अगाडि बढ्ने सन्देश पनि दिइएको छ । यसले एकताको सम्भावना पूर्णतः रोकेको छ ।
०००
गगनप्रति आक्रामक सुनिए नेताहरू
इतर पक्षको मुख्य माग वर्तमान केन्द्रीय कार्यसमितिमा १४ औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति समायोजन हो । अर्को, क्रियाशील सदस्यताको पुरानै अद्यावधिक कायम गर्नु हो । यी दुवै कुरा संस्थापनले अस्वीकार गरेपछि सहमति बन्न सकेन । यसो गर्न स्वाभाविक रूपमा राजनीतिक र कानुनी रूपमा संस्थापनलाई अप्ठ्यारो छ । देखिएको कारण यति भए पनि पार्टीलाई एकताबद्ध बनाइराख्न सभापति थापाकै कारण नसकेको भनेर उनीप्रति नेताहरू आक्रामक देखिए ।
विभाजनका लागि राष्ट्रिय भेलाको विकल्प नभएको उनीहरूको भनाइ थियो । पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. शेखर कोइराला, डा. शशांक कोइराला, एनपी साउद, डा. प्रकाशशरण महत, विजय गच्छदार, मोहनबहादुर बस्नेतलगायत शीर्ष नेताहरूको उपस्थिति रहेको कार्यक्रममा बोल्ने सबैले विभाजनका लागि सभापति थापा नै जिम्मेवार रहने र आफूहरूले अलग बाटो तय गर्नुपरेको बताएका थिए ।
नेता खड्काले पटक–पटक वार्ता गरे पनि एकताको सम्भावना कमजोर हुँदै गएको बताए । उनले केन्द्रीय कार्यसमिति समायोजन गर्नुपर्ने आफूहरूको माग भए पनि त्यो पदको आकांक्षा र बार्गेनिङका लागि नभएको बताए । उनले मर्न तयार हुने, तर सिद्धान्तलाई तिलाञ्जली नदिने उल्लेख गर्दै भने, ‘सम्मान, स्वाभिमान समाप्त पारेर, पार्टीको सिद्धान्तलाई तिलाञ्जली दिएर कसैसँग समर्पण गर्न सकिँदैन, बरु मर्न तयार भइन्छ ।’ उनले कोही पनि निष्क्रिय बस्नेवाला नभएको भन्दै आफूहरू युवालाई अघि सारेर युवाहरूको रक्षाकवच भएर हिँड्न तयार रहेको बताए ।
त्यस्तै, नेता डा. शेखर कोइरालाले कांग्रेस हुुकुमी शासनले चलेको टिप्पणी गरे । उनले सदस्यता अद्यावधिकको विषयमा निरंकुशता लादिएको भन्दै कांग्रेसभित्रको निरंकुशता अन्त्य गर्नु जरुरी भएको बताए । ‘नेपाली कांग्रेसभित्र निरंकुशता जन्म भइरहेको छ । त्यसको अन्त्य हामीले गर्नुपर्ने जरुरी छ,’ उनको भनाइ थियो । उनले पार्टी एकताका लागि सभापति थापा नै जिम्मेवार हुनुपर्ने धारणा राखे । नेता कृष्णप्रसाद सिटौलाले आफूहरूले कुनै छलछाम नगरेको बताउँदै राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय गरेर अघि बढ्ने उल्लेख गरे । उनले त्यसअघि नै पार्टी एकताको वातावरण बनाउन सभापतिलाई आग्रह पनि गरे ।
नेता डा. शशांक कोइरालाले पार्टी एकतामा क्षति भए तथा पार्टी विभाजनको अवस्थामा पुगे त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने बताए । नेता विजयकुमार गच्छदारले कांग्रेसको आत्मा र भावना आफूहरूसँग भएको जिकिर गर्दै पार्टीमा त्याग र बलिदानी गरेकाहरू संस्थापन पक्षभन्दा बाहिर रहेको बताए । नेता डा. प्रकाशशरण महतले सभापति थापाले पार्टी छलफलबिना एक्लै चलाउने गरेको आरोप लगाए । नेता मोहनबहादुर बस्नेतले एकता भनेर बस्नुको कुनै अर्थ नभएको बताए । उनले पार्टी विभाजन नभई नयाँ बनाउने भन्दै राष्ट्रिय भेलाअघि सबै भ्रातृ संस्थामा समानान्तर गतिविधि अघि बढाउनुपर्ने बताए । सबै नेताहरूको एकस्वर भएसँगै राष्ट्रिय भेलाको मिति तोक्दै विभाजनको बाटोमा समूह अघि बढेको हो ।
०००
संस्थापन मौन, आज धारणा आउने
बिपी स्मृति दिवसमा इतर पक्षले विभाजनको रेखा कोरे पनि संस्थापन भने सो सम्बन्धमा मौन देखियो । संस्थापनले आयोजना गरेको ‘ग्रिन रन’ प्रतियोगितामा १ हजार ७६० जना सहभागी भए । दौडमा सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत शीर्ष नेताहरू पनि सहभागी थिए ।

कांग्रेसले नवीन अभियान घोषणा गर्ने र समसामयिक विषयमा प्रष्ट पार्ने भन्दै आज बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रममा कांग्रेसभित्रको समस्याका बारेमा सभापति थापाले प्रष्ट पार्ने नेताहरूले बताएका छन् । सभापति थापाले काठमाडौँको रानीवनमा पुगेर मानव सेवा आश्रममा रहेका आश्रितहरूलाई बेलुकीको खाना खुवाएका थिए । करिब १०० जनाको संख्यामा रहेका आश्रितहरूलाई उनले एक छाक खानाको व्यवस्था गरेका हुन् ।
प्रतिक्रिया