
काठमाडौँ । अमेरिकामा सम्पन्न फिफा विश्वकप फुटबल २०२६ को फाइनल खेलले अमेरिकी टेलिभिजन इतिहासमै फुटबलका लागि नयाँ दर्शक कीर्तिमान कायम गरेको छ । स्पेन र अर्जेन्टिनाबीच आइतबार राति भएको उपाधि भिडन्त करिब ६ करोड ३० लाख (६२.८ मिलियन) अमेरिकी दर्शकले प्रत्यक्ष हेरेका छन् । यो संख्या अमेरिकामा अहिलेसम्म प्रसारण भएको कुनै पनि फिफा विश्वकप फाइनलको सबैभन्दा ठुलो दर्शक सहभागिता मानिएको छ । न्युयोर्कको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनल खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा रोकिएको थियो । दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि सफल हुन सकेनन् । अन्ततः अतिरिक्त समयको १०६औँ मिनेटमा स्पेनले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई १–० ले पराजित गर्यो र दोस्रोपटक विश्वकप उपाधि जित्न सफल भयो ।
खेलको प्रत्यक्ष प्रसारण अंग्रेजी र स्पेनिस दुवै भाषामा गरिएको थियो । फक्सको अंग्रेजी भाषाको प्रसारणमार्फत ३ करोड ८९ लाख (३८.९ मिलियन) दर्शकले खेल हेरेका थिए । त्यस्तै, कमकास्टको टेलिमुन्डो टेलिभिजन नेटवर्क र पिकक स्ट्रिमिङ सेवामार्फत गरिएको स्पेनिस भाषाको प्रसारणमा थप २ करोड ३९ लाख (२३.९ मिलियन) दर्शक जोडिएका थिए । दुवै भाषाका दर्शक जोड्दा कुल दर्शक संख्या करिब ६ करोड ३० लाख पुगेको हो । यो संख्या सन् २०२२ मा कतारमा सम्पन्न विश्वकप फाइनल हेर्ने अमेरिकी दर्शकको तुलनामा निकै बढी हो । त्यतिबेला अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल अमेरिकामा करिब २ करोड २३ लाख (२२.३ मिलियन) दर्शकले मात्र हेरेका थिए । यसपटकको दर्शक संख्या त्यसको झन्डै ३ गुणा पुगेको देखिन्छ ।
विश्लेषकहरूले यसपटकको विश्वकप प्रसारणलाई अमेरिकी टेलिभिजन कम्पनीहरूका लागि निकै सफल भएको बताएका छन् । सञ्चारमाध्यमहरूका अनुसार फक्सले विश्वकपसहितका प्रसारण अधिकारका लागि करिब ४८ करोड ५० लाख अमेरिकी डलर खर्च गरेको थियो भने कमकास्टले करिब ६० करोड अमेरिकी डलर बराबरको अधिकार खरिद गरेको थियो । विश्वकपभर उच्च दर्शक सहभागिता देखिएपछि यी लगानीलाई सफल मानिएको छ । विश्वकपका नकआउट चरणका अन्य खेलहरूले पनि अमेरिकाका परम्परागत खेल प्रतियोगिताहरूको दर्शक संख्यालाई समेत उछिनेका थिए । अन्तिम १६ अन्तर्गत भएको इंग्ल्यान्ड र मेक्सिकोबीचको खेल करिब ४ करोड ५० लाख दर्शकले हेरेका थिए । यो संख्या मेजर लिग बेसबल (एमएलबी) को विश्व सिरिजको निर्णायक सातौँ खेल हेर्ने करिब २ करोड ७० लाख दर्शकभन्दा धेरै हो ।
त्यसैगरी, एनबिए फाइनलको पाँचौँ खेल, जसमा न्यूयोर्क निक्सले ५३ वर्षपछि उपाधि जितेको थियो, उक्त खेल करिब २ करोड ५० लाख दर्शकले हेरेका थिए । विश्वकपका केही खेलले यी चर्चित अमेरिकी खेल प्रतियोगिताभन्दा पनि बढी दर्शक आकर्षित गरेका हुन् । यद्यपि, विश्वकप फाइनलको दर्शक संख्या अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता सुपर बाउल एलएक्सको भन्दा भने कम रहेको छ । सियाटल सिहक्सले न्यू इंग्ल्यान्ड प्याट्रियट्सलाई पराजित गरेको उक्त खेल करिब १२ करोड ६० लाख दर्शकले हेरेका थिए । त्यसपछि पनि विश्वकपले अमेरिकी फुटबल, बास्केटबल र बेसबलजस्ता खेलको प्रभुत्व रहेको बजारमा फुटबलप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट रूपमा देखाएको विश्लेषण गरिएको छ ।
यसपटकको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले पहिलोपटक संयुक्त रूपमा आयोजना गरेका थिए । अमेरिकी दर्शकलाई लक्षित गर्दै अधिकांश खेलहरू स्थानीय समयअनुसार प्राइम–टाइममा राखिएकाले पनि दर्शक संख्या उल्लेखनीय रूपमा बढेको बताइएको छ । साथै, अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोजस्ता विश्व फुटबलका चर्चित खेलाडीहरूको सम्भावित अन्तिम विश्वकप सहभागिताले पनि प्रतियोगिताप्रति दर्शकको चासो बढाएको मानिएको छ । अमेरिकाले यसअघि सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो । फक्सले प्रतियोगिताका सबै १०४ खेल अंग्रेजी भाषामा प्रत्यक्ष प्रसारण गरेको थियो ।
घरेलु टोली अमेरिका जुलाई ६ मा अन्तिम १६ चरणमा बेल्जियमसँग पराजित हुँदै बाहिरिए पनि त्यसपछि भएका खेलहरूको दर्शक संख्या उच्च नै रहेको तथ्यांकले देखाएको छ । यसले अमेरिकी टोली प्रतियोगिताबाट बाहिरिएपछि पनि फुटबलप्रति दर्शकको रुचि कायम रहेको संकेत दिएको छ । अबको फिफा विश्वकप सन् २०३० मा स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्नेछन् भने त्यसपछिको सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुनेछ । ती दुवै संस्करणका खेलहरू अमेरिकी समयअनुसार कम अनुकूल समयमा सञ्चालन हुने सम्भावना रहेकाले भविष्यमा अमेरिकाको दर्शक संख्या यसपटकको जस्तो उच्च नहुन सक्ने अनुमान गरिएको छ ।
०००
खेल पत्रकारहरूको मतदानमा मेसी विश्वकपका सर्वोत्कृष्ट खेलाडी
अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआइपिएस) ले विश्वभरका खेल पत्रकारहरूको मतदानका आधारमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषणा गरेको छ । विश्वकप उपाधि जित्न नसके पनि प्रतियोगिताभर देखाएको प्रभावशाली प्रदर्शनका कारण मेसीले यो सम्मान प्राप्त गरेका हुन् । एआइपिएसका अनुसार १२१ देशका ४७२ खेल पत्रकार सहभागी भएको मतदानमा मेसीले १ हजार १७९ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरे । फ्रान्सका किलियन एम्बाप्पे ९७१ अंकसहित दोस्रो तथा इंग्ल्यान्डका जुड बेलिंघम ९४७ अंकसहित तेस्रो स्थानमा रहे ।
मतदानमा सहभागी पत्रकारहरूले उत्कृष्ट ३ खेलाडीलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो प्राथमिकतामा छनोट गरेका थिए । यस प्रणालीअनुसार पहिलो रोजाइका खेलाडीलाई ५, दोस्रोलाई ३ र तेस्रोलाई १ अंक प्रदान गरिएको थियो । जुलाई १३ मा सार्वजनिक गरिएको अन्तिम मनोनयन सूचीमा २० खेलाडी समावेश थिए । अन्तिम नतिजाअनुसार विश्वभरका खेल पत्रकारहरूको सबैभन्दा बढी समर्थन मेसीले प्राप्त गरे । ३९ वर्षीय मेसीले २०२६ को विश्वकपसँगै विश्वकप इतिहासमा ६ संस्करण खेल्ने दुर्लभ उपलब्धि हासिल गरेका छन् । उनी उक्त कीर्तिमान बनाउने सीमित खेलाडीमध्ये एक हुन् ।
प्रतियोगितामा अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गर्दा मेसीले टोलीको नेतृत्व गर्दै ८ खेलमा ८ गोल र ४ असिस्ट गरेका थिए । निर्णायक खेलहरूमा उनको प्रदर्शन अर्जेन्टिनाको सफल यात्राको मुख्य आधार बनेको थियो । यद्यपि फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप उपाधि जित्ने सपना अधुरै रह्यो । हारपछि भावुक बनेका मेसीले सामाजिक सञ्जालमार्फत समर्थकप्रति आभार व्यक्त गर्दै टोलीले अन्तिमसम्म गरेको संघर्षलाई सधैँ सम्झिरहने बताएका थिए । विश्वकप २०२६ पछि मेसीले व्यक्तिगत रूपमा पनि अनेकौँ ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
उनी विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् भने उनको नाममा विश्वकपमा सर्वाधिक १२ असिस्टको कीर्तिमान पनि रहेको छ । साथै विश्वकपमा सर्वाधिक ३४ खेल खेल्ने, सर्वाधिक २३ खेल जित्ने तथा नकआउट चरणमा सर्वाधिक १७ खेल खेल्ने कीर्तिमानसमेत उनले कायम गरेका छन् । मेसीले आफ्नो ६ विश्वकप यात्रामा अर्जेन्टिनालाई तीनपटक फाइनलमा पुर्याएका छन् । उनले २०२२ मा विश्वकप उपाधि जितेका थिए भने २०२६ मा सिल्भर बल पुरस्कार प्राप्त गरे । उपाधि हात पार्न नसके पनि विश्व फुटबलमा उनको प्रभाव, निरन्तरता र नेतृत्व क्षमताको सम्मानस्वरूप एआइपिएसले उनलाई विश्वकप २०२६ को उत्कृष्ट खेलाडीका रूपमा चयन गरेको जनाएको छ ।
०००
फ्रान्सको मुख्य प्रशिक्षकमा जिदान नियुक्त
फ्रान्सेली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पूर्वकप्तान तथा चर्चित प्रशिक्षक जिनेदिन जिदान नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फ्रान्सले जिदानसँग सन् २०३० को जुनसम्मका लागि सम्झौता गरेको छ । यससँगै उनले सन् २०२७ को युइएफए नेसन्स लिग, सन् २०२८ को युरोपियन च्याम्पियनसिप (युरो) र सन् २०३० को फिफा विश्वकपसम्म फ्रान्सेली टोलीको नेतृत्व गर्ने अपेक्षा गरिएको छ । विश्वकप २०२६ सम्म फ्रान्सको जिम्मेवारी डिडियर डेसच्याम्सले सम्हालेका थिए । उनको प्रशिक्षणमा फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित हुँदै उपाधि दौडबाट बाहिरिएको थियो । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा पनि अपेक्षित प्रदर्शन गर्न नसक्दा फ्रान्स चौथो स्थानमा सीमित भएको थियो ।
५४ वर्षीय जिदानले सन् २०२१ मा रियल म्याड्रिड छाडेपछि कुनै पनि क्लब वा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिएनन् । प्रशिक्षकका रूपमा उनले रियल म्याड्रिडलाई लगातार तीनपटक युइएफए च्याम्पियन्स लिग, दुई पटक ला–लिगा उपाधिसहित विभिन्न घरेलु र अन्तर्राष्ट्रिय सफलता दिलाएका थिए । उनको अनुभव र सफलताको आधारमा फ्रान्सेली टोलीलाई पुनः उपाधि दाबेदार बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया