
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि तथा सडक दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
मेट्रो ट्राफिक एफएम ९५.५ को १४औँ वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज आयोजित कार्यक्रममा उनले अपराधविरुद्ध जनचेतना फैलाउन तथा सुरक्षासम्बन्धी सही र विश्वसनीय सूचना सयममै प्रवाह गर्न एफएमले महत्वपूर्ण काम गरेको बताए ।
आगामी दिनमा क्षमता विस्तार गरी सडक सुरक्षा तथा सुरक्षा सचेतनामा समयानुकूल, नवप्रवर्द्धनात्मक, गुणस्तरीय एवं विश्वसनीय नागरिक केन्द्रित कार्यक्रम प्रसारण गर्न एफएमलाई उनले निर्देशन दिए । उनले सडक सुरक्षा सरकार, नागरिक, सञ्चारमाध्यम र सरोकारवालाको साझा दायित्व भएको बताए ।
ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि प्रहरी, नागरिक र तीनै तहका सरकारबीच सहकार्यको खाँचो औँल्याइन् । उनले नागरिक सुरक्षामा खटिइने प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ गर्न ट्राफिक एफएमले सेतुको काम गरिरहेको स्मरण गरिन् ।

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले समाजमा शान्ति सुरक्षा र अमनचयन तथा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन प्रहरीलाई साधनस्रोत सम्पन्न बनाइनुपर्नेमा जोड दिए । महानायक राजेश हमालले ट्राफिक व्यवस्थापन प्रहरीको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै आमनागरिकले पनि त्यसमा हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सडक पूर्वाधार र प्रविधिमा लगानी गरी ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले ट्राफिक प्रहरी, चालक र यात्रुबीच सूचनाको सेतु बन्न एफएम सफल भएको बताए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरण र नागरिकको जीउधन रक्षा गर्न एफएमले ट्राफिक व्यवस्थापन, मौसम र हवाई सेवालगायत प्रत्येक ३०–३० मिनेटमा ‘ट्राफिक अपडेट’ दिँदै आएको जानकारी दिए ।
प्रतिक्रिया