२०६० सालको म्याग्दी आक्रमणमा जेलबाट भागेका गुनबहादुर गोठमा लुकिरहेको अवस्थामा समातिए

म्याग्दी । म्याग्दी जिल्ला कारागारबाट करिब दुई दशकअघि फरार भएका कर्तव्य ज्यान मुद्दाका ४५ वर्षीय गुनबहादुर पुर्जालाई प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका– ४, दग्नाम घर भएका पुर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको विशेष टोलीले शुक्रबार राति नियन्त्रणमा लिएको जनाएको छ ।

तत्कालीन सशस्त्र जनयुद्धको समयमा विक्रम संवत् २०६० साल चैत्र ७ गते म्याग्दी आक्रमण हुँदा पुर्पक्षका लागि म्याग्दी कारागारमा रहेका पुर्जा सोही मौकामा फरार भएका थिए ।

जिल्ला अदालत म्याग्दीले कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्ष कैद सजाय तोकेको थियो । फरार रहँदै आएका उनले १९ वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी नै रहेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा खटिएको टोलीले उनलाई रघुगंगा गाउँपालिका–४ बाट करिब ५ किलोमिटर टाढा लेकमा रहेको गोठमा लुकीछिपी बसिरहेको अवस्थामा राति करिब १२ः३० बजे पक्राउ गरेको हो ।

पक्राउ परेका पुर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दी ल्याई बाँकी कैद सजाय भुक्तानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया