चितवन र झापाका ३९ भूमिहीनलाई कानुनी स्वामित्व : लालपुर्जा पाएपछि वर्षौँदेखिको सपना पूरा

काठमाडौं । वर्षौँदेखि ओगटेर बसेको तर आफ्नो नाममा स्वामित्व नभएको जग्गाको कानुनी धनी बनेपछि चितवन र झापाका ३९ भूमिहीन परिवारमा खुसीयाली छाएको छ । लामो समयको पर्खाइपछि जिल्ला भूमि समस्या समाधान समितिमार्फत जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) हात परेसँगै उनीहरू औपचारिक रूपमै घरजग्गाको मालिक बनेका हुन् ।

यसै क्रममा चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको छ । आफ्नै भूमि भएर पनि कानुनी पहिचान नपाएका स्थानीयवासी पुर्जा प्राप्त गरेपछि ढुक्क बनेका छन् ।

उता झापाको कनकाई नगरपालिकामा पनि आजै पाँच भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाण–पुर्जा पाएका छन् ।

सरकारले देशभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या स्थायी रूपमा समाधान गर्ने लक्ष्यसहित लालपुर्जा वितरण अभियानलाई तीव्रता दिएको छ ।

देशका विभिन्न भागमा रहेका भूमिहीनलाई क्रमबद्ध रूपमा कानुनी स्वामित्व दिलाउने कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाउँदै आएको छ ।

प्रतिक्रिया