वरिष्ठ पत्रकार गोपाल गुरागाईं र नरेश श्रेष्ठ पुरस्कृत

काठमाडों । वरिष्ठ पत्रकार गोपाल गुरागाईं र वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ पुरस्कृत भएका छन् । बिहीबार समाजवादी प्रेस संगठन, नेपालले गुरागाईंलाई ‘प्रदीप नेपाल पत्रकारिता पुरस्कार’ र श्रेष्ठलाई ‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरेको हो ।

राजधानीमा आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गुरागाईं र श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

पत्रकार गुरागाईँ २०३६ सालदेखि पत्रकारितामा सक्रिय छन् भने श्रेष्ठ ४० वर्षदेखि निरन्तर फोटो पत्रकारितामा सक्रिय छन् ।

पुरस्कार वितरण समारोहमा पूर्वप्रधानमन्त्री नेपालले परिवर्तनको हरेक आन्दोलनमा पत्रकारले खेलेको भूमिकाको चर्चा गरेका थिए । उनले पत्रकार समाजको ऐना भएको उल्लेख गर्दै निर्भिकताको साथ अगाडि बढ्न आग्रह गरे ।

समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रकारको हकहितमा संगठन केन्द्रित रहेको र नयाँ परिस्थितिमा अझ परिस्कृत भएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । अग्रज पत्रकारलाई सम्मान गर्न पाउँदा खुसी लागेको उनले बताए ।

पुरस्कृत पत्रकार गुरागाईंले विगतका कठिन दिनहरू स्मरण गर्दै संगठनले सम्झिएकोमा धन्यवाद दिए । कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा प्रवक्ता प्रकाश ज्वाला, प्रेस सेन्टरका अध्यक्ष कमल गिरीलगायतको उपस्थिति थियो ।

समाजवादी प्रेस संगठन नेपालले पूर्व सन्चारमन्त्री एवं साहित्यकार प्रदीप नेपालको नाममा स्थापना गरेको ‘प्रदीप नेपाल पत्रकारिता पुरस्कार ५० हजार राशीको छ भने २०८१ चैत १५ गतेको तीनकुने घटनामा आगजनीमा परी ज्यान गुमाएका फोटो पत्रकार सुरेश रजकको नाममा स्थापित ‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’ को राशी २५ हजार छ ।

प्रतिक्रिया