अमेरिकामा लिम्बू संस्कृति र तीनवटै मौसम समेट्दै ‘युप्पारुङ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपाली लोक तथा सांगीतिक क्षेत्रमा एउटा फरक र फराकिलो प्रयासस्वरूप अमेरिकाको न्युयोर्क आसपासका विभिन्न दृश्यमा तयार पारिएको बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्ट्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

अमेरिकामा बसोबास गर्दै आएका निर्देशक किशोर सुब्बाको परिकल्पना र निर्देशनमा तयार भएको यस भिडियोले प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति र भूगोलको विविधतालाई कलात्मक रूपमा प्रस्तुत गर्ने कोसिस गरेको छ ।

करिब १० लाख नेपाली रुपैयाँको लागतमा निर्मित यो भिडियो पूरा गर्न निर्माण टोलीलाई झन्डै ७ महिना लागेको थियो । निर्देशक सुब्बाका अनुसार हिउँद, वर्षा र गर्मी तीनै मौसमका प्राकृतिक सौन्दर्यका साथै गाउँ–सहरको परिवेश र सांस्कृतिक उत्सवहरूलाई जीवन्त रूपमा पर्दामा उतार्न लामो समय खर्चिनुपरेको हो ।

सुब्बाको निर्देशनमा अमेरिकामा बनेको यो सातौँ म्युजिक भिडियो हो । सुनिता थेगिम र मनि ताम्लिङको सुमधुर स्वर रहेको यस गीतमा बिवस वेनामको शब्द तथा मनि ताम्लिङकै संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ ।

भिडियोतर्फ चर्चित मोडल तथा अभिनेत्री रन्जिता गुरुङ र सुमन लिम्बूको दमदार अभिनय देख्न सकिन्छ । नृत्य निर्देशन गोविन्द राईले गरेका हुन् भने सम्राट कार्की र सुनिल मगरले छायांकनको जिम्मा सम्हालेका छन् । त्यसैगरी राजेन्द्र मोक्तानको रंग संयोजन तथा मन्दिल श्रेष्ठको सम्पादनले भिडियोलाई थप आकर्षक बनाएको छ ।

किरात याक्थुङ चुम्लुङ अमेरिका, किरात माङ्हिम न्युयोर्क तथा स्थानीय व्यक्तित्वहरू परण लिम्बू र धनुका लिम्बूको विशेष सहयोगमा निर्मित यस भिडियोले दर्शक तथा श्रोताको मन जित्नेमा निर्माण पक्ष पूर्ण विश्वस्त रहेको छ ।

प्रतिक्रिया