
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन, विकास तथा पुस्तान्तरणलाई कानुनी आधार प्रदान गर्ने बताएका छन् ।
छिन्नतला गीत पुरस्कार गुठीद्वारा आज आयोजित ‘४४औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा उनले विधेयकमार्फत विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायका मौलिक परम्परा, ज्ञान, सीप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।
‘विधेयकमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सूचीकरण, समुदायको सहभागिता, संघ, प्रदेश, स्थानीय तहबीच समन्वय, अनुसन्धान, ‘डिजिटल’ अभिलेख तथा संरक्षण कार्यक्रम सञ्चालनका प्रावधान समावेश छन्’, सभामुख अर्यालले भने ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफलका क्रममा रहेको विधेयकमा सांस्कृतिक सम्पदाको व्यावसायिक प्रयोग गर्दा सम्बन्धित समुदायको हित संरक्षण, उल्लंघनमा कानुनी कारबाही र दण्ड जरिवानाको व्यवस्था गरिएको उनले स्पष्ट पारे ।
‘विधेयकले लोपोन्मुख सम्पदाको संरक्षण, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको सुदृढीकरण, युनेस्कोको सूचीकरणको आधार निर्माण तथा सांस्कृतिक पर्यटन सिर्जनाको उद्योग र रोजगारी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ’, सभामुख अर्यालले भने ।
छिन्नलता गीत पुरस्कार गुठी नेपाली गीतकार तथा स्रष्टा रमोलादेवी शाह ‘छिन्नलता’ को सिर्जनात्मक योगदान र स्मृतिसँग जोडिएको उल्लेख गर्दै उहाँले छिन्नलता गीत पुरस्कारले नेपाली गीत संगीत क्षेत्रमा निरन्तरता, उच्चस्तर र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै आएको धारणा राखे ।
सभामुख अर्यालले कलाकार र स्रष्टाको योगदानलाई सम्मान गर्ने वातावरण निर्माण गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको बताए । ‘नयाँ पुस्तामा नेपाली भाषा, मौलिक संस्कृति, संगीत र सिर्जनाप्रति रुची जगाउनु आजको आवश्यकता हो’, उनले भने, ‘नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासका लागि आवश्यक नीतिगत तथा कानुनी वातावरण निर्माण गर्न प्रतिबद्ध हुनु पर्दछ ।’
समारोहमा सभामुख अर्यालले वरिष्ठ हाँस्यव्यंग कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार डा नवराज लम्साल, संगीतकार किरण कँडेल, गायिका विमला राई र सारिका घिमिरेलाई पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया