एमाले र नेकपाबीच ३ बुँदे सहमति, ५ प्रदेशमा भागबन्डा

काठमाडौं । सुशासन र समृद्धिको नारा दिँदै आएका दुई प्रमुख कम्युनिष्ट घटक—नेपाल कम्युनिष्ट पार्टी (एमाले) र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारको नेतृत्वमा पुनः पुरानै भागबन्डाको राजनीति हाबी भएको छ ।

प्रदेशसभामा सहकार्य र संयुक्त सरकार गठनका नाममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डले हस्ताक्षर गरेको तीन बुँदे सहमतिले प्रादेशिक सत्ताको तालाचाबी दुई दलबीच सीमित गरिदिएको छ ।

सहमति अनुसार दुई दलले पाँचवटा प्रदेशको नेतृत्व सोझै आपसमा बाँडफाँड गरेका छन् । जसअन्तर्गत कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले लिने छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको कमान नेकपाको हातमा सुम्पिने तय भएको छ ।

यद्यपि, गणितीय जटिलताका कारण मधेस र गण्डकी प्रदेशमा भने दुई दलले सोझै कब्जा जमाउन सकेका छैनन् । ती दुई प्रदेशमा सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य साना तथा क्षेत्रीय दलहरूसँग परामर्श गर्नुपर्ने बाध्यतामा उनीहरू पुगेका छन् ।

संयोजक दाहालका स्वकीय सचिव गोविन्द आचार्यले संयुक्त सरकार गठनको सहमति भएको जानकारी दिए पनि बारम्बार हुने सत्ता फेरबदल र भागबन्डाको यो नयाँ अध्यायले प्रदेशमा कत्तिको स्थिरता र सुशासन दिन्छ भन्नेमा भने व्यापक संशय खडा भएको छ ।

प्रतिक्रिया