
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागवण्डा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसको अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रममा सहकुलपति पोखरेलले सुधार र रुपान्तरणको दृष्टिकोणसहित सबै विश्वविद्यालयमा उपकुलपतिहरु नियुक्त भएसँगै विश्वविद्यालयहरु गतिशिल भइरहेको बताए ।
उनले त्रिविको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने, प्राज्ञिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागवण्डाको अन्त्य गर्ने र योग्यताप्रणाली कार्यान्वयन गर्न आग्रह गरे ।
विश्वविद्यालयहरुमा सरकारबाट कुनै पनि प्रकारको हस्तक्षेप वा दबाब नहुने उल्लेख गर्दै मन्त्री पोखरेलले नवनियुक्त उपकुलपतिलगायत विश्वविद्यालयको सम्पूर्ण संयन्त्रलाई सुशासनको प्रत्याभुति हुने गरी काम गर्न अनुरोध गरे । उनले अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन र त्रिविका प्राध्यापकहरुलाई विश्वका विश्वविद्यालयहरूसँग ज्ञान आदानप्रदान गर्न सुझाए ।
विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले उच्चशिक्षाको ऐतिहासिक निकाय तथा उच्चशिक्षाको राष्ट्रिय धरोहरको रुपमा परिचित त्रिभुवन विश्वविद्यालयलाई बदलिदो परिस्थिति अनुरुप थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले सुशासन कायम गर्न प्रणाली स्थापना गर्ने, विश्वस्तरमा सहकार्यमा जोड दिई ज्ञान, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रीत भई नैतिक तथा प्रतिस्पर्धी शैक्षिक संस्थाको रुपमा अघि बढाउने बताए । कार्यक्रममा त्रिविको वार्षिक प्रकाशन समेत विमोचन गरिएको थियो ।
प्रतिक्रिया