
काठमाडौं । व्यवसायी शंकर अग्रवाललाई थुनामा पठाउन उच्च अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले जगदम्बा स्टिल लिमिटेडका सञ्चालक अग्रवाललाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले अग्रवाललाई नख्खु कारागार पठाउन आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘जगदम्बा स्टिलको खाता सञ्चालन गर्ने अधिकार पाएका परिवारका सदस्यहरूले व्यावसायिक प्रयोजनका लागि लिएको ऋण अन्यत्र प्रयोग गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिमको कसुर गरेको देखिन आएको छ ।’
अग्रवालको बैंक खाता प्रयोग गरी जटिल तहकिकरण भएको र वित्तीय कारोबारमा जोखिम पुर्याएको भन्दै मुद्दाको किनारा नलागेसम्म उनलाई थुनामै राखेर प्रक्रिया अगाडि बढाउन भनिएको छ ।
जगदम्बा स्टिल लिमिटेडले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अगुवाईमा रहेको कन्सोरियम बैंकहरूबाट वर्किङ क्यापिटल लोन (चालु पुँजी कर्जा) लिएको थियो । तर, उक्त कर्जा जुन प्रयोजनका लागि लिइएको हो, सो काममा प्रयोग नगरी जग्गा खरिद र अन्य कम्पनीको शेयर लगानीमा दुरुपयोग गरिएको पाइएको छ । फरार सूचीमा रहेका उनलाई हिजो बुधबार प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया