काठमाडौं प्रहरीको वार्षिक रिपोर्ट : केपी शर्मा ओली र रमेश लेखकमाथि अनुसन्धान जारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गत भदौ २३ र २४ गते जेनजी आन्दोलन तथा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धानदेखि आर्थिक वर्ष २०८२/०८३ को आफ्नो वार्षिक कार्यसम्पादन तथा जिल्लाको शान्ति सुरक्षासम्बन्धी विस्तृत तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार पछिल्लो समय प्रविधिको प्रयोगबाट हुने अपराध र साइबर ठगीका घटनाहरू तीव्र रूपमा बढेका छन् ।

काठमाडौं परिसरका अनुसार आव २०८२/०८३ मा कुल ११,०७८ वटा मुद्दा दर्ता भएका छन् भने अपराध अनुसन्धानका क्रममा ८,५८१ जनालाई पक्राउ गरिएको छ । परिसर तथा मातहतका कार्यालयहरूमा रहेका कुल मुद्दाहरूमध्ये ६,८६१ वटा केस फाइल प्रणालीमा दर्ता भइसकेका छन् । शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीले प्रविधिको प्रयोगमा जोड दिएको छ ।

निगरानीका लागि Body Worn Real Time Video Surveillance Camera र AI Integrated Advance Drone ५० स्थानमा परिचालन गरिएको छ भने AI Camera को मद्दतले ५९ जना शंकास्पद व्यक्तिलाई पहिचान गरी पक्राउ गरिएको छ । यसै गरी लागुऔषध र विष्फोटक पदार्थ खोजतलासका लागि १५६ पटक Canine Patrol गरिएको छ ।

अदालतमा उपस्थित गराउन नसकिने वा सुरक्षाका कारण भिडियो कन्फ्रेन्स मार्फत अनलाइन म्याद थप गर्ने व्यवस्था मिलाइएको छ, जस अन्तर्गत पुसदेखि असारसम्म कुल २,२७६ वटा अनलाइन म्याद थप गरिएको छ (पुस: १०७, माघ: २२४, फागुन: १६८, चैत: ३१८, वैशाख: ४०१, जेठ: ४९४ र असार: ५६४) ।

आपराधिक गतिविधिको विश्लेषणात्मक आँकडा अनुसार उक्त अवधिमा स्वदेशी पुरुष ७,६५४ र महिला ७७९ गरी ८,४३३ जना तथा विदेशी पुरुष ३९ र महिला १०९ गरी १४८ जना, कुल ८,५८१ अभियुक्त पक्राउ परेका छन् । वैशाखदेखि असारसम्मको विदेशी नागरिक डिपोर्टेशनको तथ्यांक अनुसार अननैतिक क्रियाकलापमा संलग्न कुल ५७ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ ।

जसमा उगान्डाका ३९, भियतनामका ८, केन्याका ४, थाइल्याण्डका २, बंगलादेशका २ र इन्डोनेसियाका २ जना रहेका छन् । प्रहरीले सार्वजनिक सुरक्षा अभिवृद्धिका लागि गैरकानुनी कार्यमा संलग्न ३०९ जनालाई पक्राउ गरी ६१ वटा मुद्दा दर्ता गरेको छ । जस अनुसार बिचौलिया २१ जना (१७ मुद्दा), दुःख हैरानी दिने १३६ जना (४ मुद्दा), यौनजन्य कार्यमा संलग्न १२८ जना (२२ मुद्दा) र गुन्डागर्दीमा संलग्न २४ जना (१८ मुद्दा) रहेका छन् ।

लागुऔषध नियन्त्रणतर्फ ६७० वटा मुद्दा दर्ता भई १,०१३ पुरुष र ६० महिला गरी कुल १,०७३ जना पक्राउ परेका छन् । अघिल्लो आव २०८१/०८२ मा ४३१ मुद्दामा ७२५ पक्राउ र २०८०/०८१ मा ३३३ मुद्दामा ६०४ पक्राउ परेका थिए । प्रहरीले यस अवधिमा नुर्फिन ८,४८५ थान, पुर्माथान ८२१ थान, व्युरोफिन ३,१७७ थान, स्पामो ४५२ थान र नाईट्रोजेपाम ११,४७२ थान बरामद गरेको छ ।

महिला तथा बालबालिका विरुद्धका अपराधतर्फ कुल ३५९ वटा मुद्दा दर्ता भएकोमा २९८ वटा फर्छौट भएका छन् र ६१ वटामा अदालतमा अभियोगपत्र दर्ता (अ.अ. जारी) भएको छ। दर्ता भएका मुद्दाहरूमा जबरजस्ती करणी २६७ (२०८ फर्छौट), बहुविवाह ४४ (३८ फर्छौट), बाल यौन दुर्व्यवहार ३७ (३३ फर्छौट), जबरजस्ती करणी उद्योग २१ (१८ फर्छौट), मानव बेचबिखन ७ (सबै फर्छौट), घरेलु हिंसा कर्तव्य ज्यान ४ (सबै फर्छौट), अपहरण गरी जबरजस्ती करणी ६ (५ फर्छौट), अप्राकृतिक मैथुन ४ (सबै फर्छौट), अवैध गर्भपतन १ (फर्छौट), बालबालिका विरुद्धको कसुर १० (९ फर्छौट), आत्महत्या दुरुत्साहन ४ (सबै फर्छौट), जातीय छुवाछूत १ र शरीर बन्धक गरी जबरजस्ती करणी ४ (३ फर्छौट) रहेका छन् ।

साइबर अपराधतर्फ कुल २,३२५ वटा उजुरी परेका छन् जसबाट १५ करोड ३३ लाख ९४ हजार ४ सय रुपैयाँ बराबरको क्षति वा ठगी भएको छ। साइबर ठगीका मुख्य क्षेत्रहरूमा Online Shopping Fraud (१०३२), OTP/Bank/Wallet Hacked (७३७), Foreign Employment (५०), Parcel/Gift Fraud (१०६), PTE/Exam/Admission Fee (२२), ID Boosting (१३), Telegram/Online Tasking (३३), Identity Misuse (१९), Online Job Amount Transfer (९८), Room Finder Fraud (५२), Lost/Stolen Mobile and Theft Money (८८), Blackmailing (४२) र Defame/Harassment (३३) रहेका छन् ।

अनुचित लेनदेन (मिटर ब्याज) तर्फ प्राप्त कुल २८७ उजुरीमध्ये ४८ वटामा मुद्दा दर्ता भएको छ भने ५० वटा उजुरी मेलमिलाप मार्फत टुङ्ग्याइएको छ । १८९ वटा उजुरी फर्छौट हुन बाँकी छन् । मिटर ब्याजमा कुल १ अर्ब ६५ करोड ६४ लाख ४ हजार ९ सय ९२ रुपैयाँ मागदाबी गरिएकोमा ८ करोड ९१ लाख १ हजार ५ सय रुपैयाँ बराबरको बिगो रकम मेलमिलाप गराइएको छ ।

यस प्रकरणमा ७ महिला र ६ पुरुष गरी १३ जना अभियुक्त पक्राउ परेका छन् भने २ जना पुरुष फरार रहेका छन् । फैसला कार्यान्वयनतर्फ अदालतबाट सजाय ठहर भई फरार रहेका ३९,७९५ जना प्रतिवादीमध्ये २,४०७ जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट कुल २२ करोड ६४ लाख ८६ हजार २४० रुपैयाँ जरिवाना र ५१९ वर्ष ८ महिना ९ दिन कैद असुल गरिएको छ ।

प्रहरीले यस अवधिमा १४५ नाल हातहतियार र ५२ जनालाई पक्राउ गरेको छ भने १७५ जना फरार कैदी र ९४ जना थुनुवा दाखिला गराएको छ । वित्तीय अपराध, क्यासिनो स्क्याम तथा संगठित अपराध तर्फ समेत ठूलो कारबाही भएको छ । Waldo Dynasty क्यासिनोमा अवैध प्रविधिको प्रयोग गरी ठगी गर्ने गिरोहका सञ्चालक Chan Man Ching सहित सुरेश महाजन, विक्रम सिङ, दिनेश वर्मा, भवानी पाण्डे र चिजा खड्कालाई पक्राउ गरिएकोमा सुरेश, विक्रम र दिनेश पुर्पक्षका लागि थुनामा गएका छन् ।

नक्कली नेपाली नोट छाप्ने र कारोबार गर्ने गौरीशंकर यादव, सुकबहादुर स्याङ्बो, रवि भुषण कुमार कायस्थ, गोकर्णबहादुर थापा पुर्पक्षका लागि कारागार चलान भएका छन् भने प्रकाश गुरुङ ३ लाख धरौटी बुझाउन नसकी कारागार चलान, रेणुका भारती ३ लाख धरौटीमा र पासाङ शेर्पा ५० हजार धरौटीमा छुटेका छन् ।

यसैगरी सम्पत्ति शुद्धीकरण सम्बन्धी ४ वटा मुद्दा दर्ता भई ६ जना पक्राउ परेका छन् भने रु ५ अर्ब ४ करोड १६ लाख २३ हजार ३६६ दशमलव ५ रुपैयाँ रकम बिगो कायम गरिएको छ । हुन्डी कारोबारमा ९ वटा मुद्दामा २१ जना पक्राउ परी २ करोड २ लाख ७२ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ भने अभौतिक मुद्रा (Cryptocurrency) कारोबारमा १३ वटा मुद्दामा ३० जनालाई पक्राउ गरी ५ अर्ब ८ करोड ९ लाख ४९ हजार ४७३ रुपैयाँ मागदाबी बिगो राखिएको छ ।

२०८२ भाद्र २३ र २४ गते भएको घटना तथा जेनजी आन्दोलनको अनुसन्धानतर्फ काठमाडौंमा ४९ जनाको मृत्यु भएको थियो, जसमध्ये ७ शवको पहिचान हुन नसकी DNA प्रक्रियामा रहेको र ४२ शवको पहिचान भई जाहेरी प्राप्त भए अनुसार अनुसन्धान सुरु गरिएको छ । भाद्र २३ को घटनामा सुरुमा प्राप्त ९ वटा जाहेरी २०८२/०६/२७ मा जिल्ला सरकारी वकिल कार्यालयको निर्णयले तामेलीमा राखिएकोमा जाँचबुझ आयोगको प्रतिवेदन (२०८२/१२/१३ गृहमन्त्रालयको पत्रादेश) पछि १ जाहेरीको तामेली जगाई अनुसन्धान सुरु गरिएको हो ।

उक्त घटनामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान गरिएको र सर्वोच्च अदालतको मिति २०८२/१२/२३ को परमादेश बमोजिम २६ गतेदेखि हाजिर जमानीमा राखी CCTV फुटेज, लासजाँच मुचुल्का, क्षतिको विवरण र प्रत्यक्षदर्शीको बयानको आधारमा अनुसन्धान भइरहेको छ ।

भाद्र २३ र २४ गतेका घटनामा आधारित कुल २४८ वटा मुद्दा दर्ता भएकोमा १३५ वटा मिसिल अदालत/सरकारी वकिल कार्यालयमा पेस गरिएको छ, ७४ वटा मुद्दा नचल्ने निर्णय भएको छ भने ३९ वटा अनुसन्धानमै छन् । पक्राउ परेका कुल ३४९ प्रतिवादीमध्ये ४९ जना आपराधिक उपद्रव, २६ जना हतियार, ३ जना चोरी, २० जना आपराधिक उपद्रव र चोरी, १७ जना कर्तव्य ज्यान र १ जना ज्यान मार्ने उद्योग गरी कुल ११६ जना पुर्पक्षका लागि थुनामा छन् ।

अन्य १०१ जना धरौटीमा, १२१ जना हाजिर जमानीमा, ३ जना मुद्दा नचल्ने निर्णय भई र ८ जना अन्य प्रक्रियाबाट छुटेका छन् । भौतिक संरचना क्षतिको विवरण अनुसार विभिन्न आन्दोलन र घटनामा प्रहरीका १२७ संरचनामध्ये ४२ वटा पूर्ण, ३७ वटा आंशिक, १८ वटा सामान्य क्षति भएका छन् भने ३१ वटा सुरक्षित छन् । पूर्ण क्षति हुनेमा जिल्ला अदालत १, जिल्ला प्रशासन कार्यालय १, प्रहरी वृत्त ८, प्रहरी प्रभाग १०, प्रहरी चौकी ३, प्रहरी बिट ११, अस्थायी प्रहरी बिट ६ र अस्थायी प्रहरी पोष्ट २ रहेका छन् ।

प्रदर्शन र ठूला कार्यक्रमको सुरक्षातर्फ प्रहरीले १,६०० धर्ना, ४४३ जुलुस/विरोध, ५२ कोणसभा, ३५ अनसन, २८ र्‍याली र १९ तालाबन्दीको व्यवस्थापन गरेको छ, जहाँबाट ३५१ जना प्रदर्शनकारी पक्राउ परेका थिए । साथै ६६ वटा मेला/पर्व (३९,८५४ प्रहरी परिचालन) र ३२ वटा खेलकुद प्रतियोगिता (३३,८९२ प्रहरी परिचालन) मा सुरक्षा दिइएको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ को सुरक्षाका लागि ५१४ गस्ती सञ्चालन, ६७ नाल लाइसेन्सवाला हतियार संकलन र निर्वाचन विरोधी गतिविधि गर्ने २८ जनालाई कारबाही गरिएको छ ।

सेवा प्रवाह तथा नागरिक सहजीकरण तर्फ प्रहरी कार्यालयमा कुल १,८२,६६४ जना सेवाग्राही (६२,०९० महिला, १,२०,४८८ पुरुष, ८६ अन्य) आएका छन्। उजुरीको नियमित फलोअप अन्तर्गत फोनबाट ३०,६००, SMS बाट १,७०० र Email बाट १,५५० जनालाई सम्पर्क गरिएको छ । कुल १७,९२९ निवेदन (ठाडो उजुरी १४,९८६ र शान्ति सुरक्षा २,९४३) प्राप्त भएकोमा १७,८७९ वटा फर्छौट भई ५० वटा मात्र बाँकी छन् ।

मोबाइल खोजतलास तर्फ १०,३३७ निवेदन परेकोमा २,८८३ थान (२७.८९%) फेला पारिएको छ। विभिन्न प्रमाणीकरण तथा सिफारिसतर्फ कुल ९,६६३ वटा सेवा प्रदान गरिएको छ (चालचलन आदि ५,३३४, म्यानपावर/सेक्युरिटी दर्ता ८, मानव अंग प्रत्यारोपण २३, नागरिकता सरजमिन १,३७०, सवारी दुर्घटना बिमा १,४५६ र प्रहरी क्लियरेन्स १,४७२) । लैङ्गिक हिंसा र नागरिक सहकार्य अन्तर्गत घरेलु हिंसामा १४८ पुरुष र १,१७९ महिला तथा ठाडो निवेदनमा १०७ पुरुष र ५२७ महिला पीडित भई निवेदन परेका छन् ।

प्रहरीले १,७९४ जनालाई मनोसामाजिक परामर्श, ६१ जनालाई सुरक्षित आवास गृह र ४३९ जनालाई OCMC मा पठाएको छ। ‘समुदाय प्रहरी साझेदारी’ अन्तर्गत २,९०० वटा कार्यक्रम गरी १,०६,०६५ जना नागरिकलाई सहभागी गराइएको छ। जसमा विद्यालय प्रशिक्षण (४४७), लागुऔषध (३७०), प्रचारप्रसार (२२५), ट्राफिक सचेतना (१५०), साइबर अपराध (१२७), मानव बेचबिखन (११३), सार्वजनिक सुनुवाइ (३३) लगायतका कार्यक्रम सामेल छन् ।

सवारी दुर्घटना तथा विपद् उद्धारतर्फ आफैँ दुर्घटना (Self Accident) का ५१४ घटनामा २९ जनाको मृत्यु र ६८४ जना घाइते भएका छन् भने Hit & Run का २,५५७ घटनामा ७८ जनाको मृत्यु र ३,४३९ जना घाइते भएका छन् (कुल ३,०७१ घटनामा १०७ मृत्यु र ४,१२३ घाइते) । आत्महानी/आत्महत्या सम्बन्धी १,२०१ घटनामा ३७७ जनाको मृत्यु भएको छ (झुण्डिएर ३१९ मृत्यु, विष/औषधी सेवन ४६ मृत्यु, फाल हालेर/धारिलो हतियार ९ मृत्यु, आत्मदाह ३ मृत्यु) । विपद्का २५१ घटनामा २ जनाको मृत्यु, ३६ घाइते र २ जना बेपत्ता भएका छन् भने प्रहरीले ९२ जनाको सकुशल उद्धार गरेको छ ।

प्रहरीले अनुगमनतर्फ पेट्रोल पम्प, खाद्य पसल, औषधी पसल, पुनर्स्थापना केन्द्र, ग्यास डिपो लगायत बजार अनुगमनमा समन्वय गरेको छ। हाल काठमाडौं प्रहरीलाई प्रविधिगत सीमा, CCTV coverage को कमी, डिजिटल प्रमाण र फरेन्सिक क्षमताको अभाव, साइबर र फरेन्सिकमा दक्ष जनशक्तिको कमी, विदेशी नागरिक निगरानी तथा ट्रेसिङ जटिलता, र AI-आधारित अफवाह (Deepfake) बाट हुने सामाजिक अस्थिरता जस्ता मुख्य चुनौतीहरू रहेका छन्। यी चुनौतीका बाबजुद प्रमाणमुखी अनुसन्धान, तत्काल Response, र व्यावसायिक मापदण्ड (Professional Standard) कायम गर्दै सार्वजनिक सुरक्षा सुदृढ बनाउने प्रतिबद्धता प्रहरीले व्यक्त गरेको छ ।

प्रतिक्रिया