फ्रुटीमा नसालु पदार्थ सेवन गराई लुटपाट गर्ने महिला पक्राउ

काठमाडौं । प्रहरीले जग्गा हेर्ने बहानामा बोलाएर पेय पदार्थमा नसालु पदार्थ मिसाई लुटपाट गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका– ९ घर भई हाल काभ्रेपलान्चोकको पनौती नगरपालिका– ५ बस्ने ४७ वर्षीया संगिता तामाङ कार्की रहेकी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गत असार १२ गते साँझ करिब ५ः३० बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित जग्गा हेर्न भनी बोलाइ एक होटलमा खाजा खाने क्रममा तामाङले फ्रुटीमा नसालु पदार्थ मिसाएर पीडितलाई सेवन गराएकी थिइन् ।

पीडित बेहोस भएपछि उनको साथमा रहेको सुनको औँठी, नगद तथा मोबाइल फोनहरू लुटेर उनी फरार भएकी थिइन् । घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा खटिएको प्रहरी टोलीले साउन ७ गते तामाङलाई काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ चौकोटबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया