अब वालेटमा पनि राष्ट्रिय परिचयपत्र विवरण अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (वालेट) सम्बन्धी व्यवस्थामा संशोधन गर्दै वालेट (ईसेवा र खल्ती आईएमई पे ) खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण यकिन गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को अ.प्रा. निर्देशन नं. १५/०८२ मा संशोधन गर्दै नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गरेर मात्रै वालेट खोल्ने व्यवस्था गर्न भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको हो।

संशोधित व्यवस्थाअनुसार अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्र भए/नभएको स्वःघोषणा लिनुपर्नेछ। राष्ट्रिय परिचयपत्र लिइसकेका प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर सोही अवधिभित्र अद्यावधिक गर्नुपर्नेछ।

राष्ट्रिय परिचयपत्र नलिएका नेपाली नागरिकलाई भने परिचयपत्र लिएपछि ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक गर्न प्रत्येक महिना मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले भने विदेशमै बसेर अनलाइनमार्फत वालेट खोल्दा राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न सक्नेछन्। तर नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित वालेट प्रदायकले राष्ट्रिय परिचयपत्र विवरण लिएर अद्यावधिक गर्नुपर्नेछ।

यस्तै, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा पनि राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा थप व्यवस्था गरेको जनाएको छ। नयाँ व्यवस्थाले वालेट सेवामा ग्राहक पहिचान प्रक्रिया थप व्यवस्थित र सुरक्षित बनाउने उद्देश्य राखेको छ।

प्रतिक्रिया