
काठमाडौँ । नेपाली अर्थतन्त्रमा आयातको हिस्सा थपिँदै जाँदा बलियो बन्दै वैदेशिक व्यापारको आकार २४ खर्ब नाघेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालको वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको पुगेको हो । भन्सार विभागका अनुसार कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।
व्यापारको आकारसँगै आयात र व्यापार घाटा पनि चुलिँदै गएको छ । गत आवमा व्यापार घाटा मात्रै १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख ९६ हजार रुपैयाँ पुगेको हो । विभागका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा २० खर्ब ९७ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात गर्दा, ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँको बस्तु निर्यात गरिएको छ ।
कुल व्यापारमा आयातको हिस्सा ८६.९३ र निर्यातको हिस्सा १३.०७ प्रतिशत छ । गत आवको तथ्यांक हेर्दा नेपालले १ रुपैयाँको वस्तु विदेशमा बेच्दा त्यसको बदलामा ६ रुपैयाँ ६५ पैसाको वस्तु उताबाट खरिद गरेको हो । अघिल्लो आर्थिक वर्ष यस्तो आयात १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ र निर्यात २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ रहेको थियो ।
पौने २ खर्बको डिजेल आयात
नेपालले गत आर्थिक वर्षमा पौने २ खर्बको डिजेल आयात गरेको छ । विभागको तथ्यांकअनुसार गत आवमा १ खर्ब ७२ अर्ब ४२ करोड बराबरको डिजेल आयात भएको छ । भटमासको कच्चा तेल आयातमामा १ खर्ब ३२ अर्ब ७६ करोड, पेट्रोलको आयातमा ७७ अर्ब २६ करोड, एलपी ग्यासमा ६० अर्ब २८ करोड, फलाम तथा स्टिल उद्योगमा प्रयोग हुने अर्धप्रशोधित फलाममा ५८ अर्ब ५२ करोड र स्मार्टफोन आयातमा ४८ अर्ब ६९ करोड रुपैयाँ बाहिरिएको छ ।
यी हुन धेरै निर्यात भएका बस्तु
गत आर्थिक वर्षमा १ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ बराबरको भटमासको तेल (कच्चा पदार्थ) आयात गरेर नेपालमा प्रशोधन गरेर १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात गरिएको छ । भटमासको तेल नेपालको आयातमा दोस्रो र निर्यातमा पहिलो स्थानमा आउँछ । यसैगरी १२ अर्ब ६४ करोड रुपैयाँ बराबरको अलैँची, १० अर्ब ३८ करोडको ऊनीको गलैँचा, ८ अर्ब ९४ करोडको सूर्यमुखी तेल र ७ अर्ब १४ करोड बराबरको जुटका काँचो कपडा निर्यात गरिएको छ । त्यस्तै, ६ अर्ब ६६ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ । रोचक के छ भने नेपालमा उत्पादन नै नहुने पाम तेलको निर्यात अंक ठुलो छ ।
उपभोग्य वस्तु, औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री, ऊर्जा तथा पूर्वाधारसँग सम्बन्धित सामग्रीको माग बढ्दा आयात विस्तार भएको देखिन्छ । उत्पादनमूलक उद्योग विस्तार, निर्यातयोग्य वस्तुको विविधीकरण, स्वदेशी उत्पादन क्षमता वृद्धि र प्रतिस्पर्धात्मक क्षमता सुधार नगरेसम्म व्यापार घाटाको दबाब थप बढ्दै जाने देखिन्छ । अर्थतन्त्रमा उपभोगमुखी गतिविधि बलियो भए पनि उत्पादन र निर्यात क्षमता अपेक्षाअनुसार विस्तार हुन नसक्दा भविष्यको चिन्ता थपिएको अर्थविद्हरू बताउँछन् ।
व्यापारघाटाको ठुलो हिस्सा भारतसँग
गत आर्थिक वर्षमा भारतसँग मात्रै ९ खर्ब ५१ अर्ब ९५ करोडभन्दा बढी रहेको छ । भारतबाट १२ खर्ब १० अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा २ खर्ब ५८ अर्ब ६५ करोड बराबरको निर्यात गरिएको छ । चीनसँग ४ खर्ब २३ अर्ब ३५ करोड बराबरको व्यापार घाटा छ । चीनबाट ४ खर्ब २५ अर्ब २४ करोड बराबरका वस्तु आयात गर्दा, जम्मा १ अर्ब ८९ करोड बराबरको वस्तु मात्रै निर्यात भएको छ ।
बढी आयात निर्यात हुने भन्सार नाका
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक वैदेशिक व्यापारमा भन्सार कार्यालयहरूको हिस्साको आधारमा आयात र निर्यात दुवैतर्फ वीरगन्ज भन्सार कार्यालय देशकै पहिलो र उत्कृष्ट भन्सार नाका बनेको छ । कुल २८ मध्ये ११ वटा भन्सार कार्यालयबाट त निर्यात पूर्ण रूपमा शून्य रहेको तथ्यांकले देखाएको छ ।
सबैभन्दा बढी वीरगन्ज नाकाबाट ९ खर्ब ८६ अर्ब ४३ करोड अर्थात् कुल आयातको ४७.०५ प्रतिशत बराबरको वस्तु आयात भएको छ । सोही नाकाबाट १ खर्ब १४ अर्ब ८५ करोड अर्थात् कुल निर्यातको ३६.४३ प्रतिशत बराबरका वस्तु विदेश निर्यात भएको छ ।
त्यस्तै, भैरहवा नाकाबाट ३ खर्ब ४ अर्ब १७ करोडको बस्तु आयात हुँदा ३४ अर्ब ९२ करोडको निर्यात भएको छ । विराटनगर नाकाबाट २ खर्ब ४१ अर्ब ९६ करोडको बस्ुत आयात हुँदा ८८ अर्ब ७२ करोडको निर्यात भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट २ खर्ब ३ अर्ब ५१ करोडको वस्तु आयात हुँदा ३७ अर्ब ९४ करोडको बस्तु निर्यात भएको छ ।
२८ भन्सार कार्यालयमध्ये ११ वटा कार्यालयबाट निर्यात शून्य देखिएको छ । ठुलो लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र चर्चित उत्तरी नाका तातोपानीबाट समेत निर्यात शून्य देखिएको छ । निर्यात शून्य रहेका अन्य भन्सार कार्यालयहरूमा सुठौली, सुनसरी, जनकपुर, महेशपुर, सती, भद्रपुर, सिराहा, राजविराज र ठाडी रहेका छन् ।
धेरै आयात र निर्यात भएका वस्तुहरू
आयात
डिजेल – १ खर्ब ७२ अर्ब ४२ करोड
भटमासको तेल (कच्चा पदार्थ) – १ खर्ब ३२ अर्ब ७६ करोड
पेट्रोल – ७७ अर्ब २६ करोड
एलपी ग्यास – ६० अर्ब २८ करोड
अर्धप्रशोधित फलाम – ५८ अर्ब ५२ करोड
स्मार्टफोन – ४८ अर्ब ६९ करोड
निर्यात
भटमासको तेल – १ खर्ब २८ अर्ब ७४ करोड
अलैँची – १२ अर्ब ६४ करोड
ऊनीको गलैँचा – १० अर्ब ३८ करोड
सूर्यमुखी तेल – ८ अर्ब ९४ करोड
जुटजन्य बस्तु – ७ अर्ब १४ करोड
पाम तेल – ६ अर्ब ६६ करोड
प्रतिक्रिया