औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं । क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेलाबेलामा देखिने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ । कच्चा पदार्थको मूल्यमा हुने उतारचढावका कारण औषधि अभाव हुने समस्या समाधान गर्न औषधिको मूल्य समायोजनलगायत उपाय अवलम्बन गर्ने तयारी गरिएको हो ।

गत साता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनसहित आवश्यक नीतिगत सुधार अघि बढाउने निर्णय गरेको थियो ।

निमित्त महानिर्देशक खड्गीका अनुसार विगत ११ वर्षदेखि औषधिको मूल्य समायोजन नभएका कारण केही औषधिको आपूर्तिमा समस्या देखिएको छ । उनका अनुसार केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्यभन्दा धेरै बढिसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा बजारमा अभाव सिर्जना भएको छ ।

अर्कोतर्फ, केही औषधिको बजार मूल्य घटिसकेको भए पनि सरकारले निर्धारण गरेको मूल्य अझै उच्च रहेकाले ती औषधिको मूल्य घटाउनुपर्ने अवस्था पनि रहेको छ । मूल्य समायोजनसम्बन्धी मूल्य अनुगमन समितिको सिफारिस स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीको अध्यक्षतामा बस्ने औषधि परामर्श परिषदमा पेस गरिने कानुनी व्यवस्था छ । परिषदबाट स्वीकृत भएपछि प्रस्ताव मन्त्रिपरिषदमा पठाइने छ ।

मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि निर्णय नेपाल राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आउने छ । करिब दुई साताअघि बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका कार्बोप्लाटिन र सिस्प्लाटिनलगायत औषधि तथा सलाइनमार्फत दिइने केही इन्जेक्सन औषधिको अभाव देखिएको थियो । यसले उपचाररत बिरामीलाई आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउन चुनौती सिर्जना गरेको थियो ।

नेपालमा औषधिको मूल्य निर्धारण तथा समायोजन गर्दा भारतको नेशनल ‘फार्मास्युटिकल प्राइसिङ अथोरिटी’ले निर्धारण गरेको सिलिङ मूल्यलाई आधार मान्ने अभ्यास रहँदै आएको छ । यसअघिका मूल्य निर्धारण प्रक्रियामा पनि यही आधार अपनाइएको थियो ।

खड्गीले मूल्य समायोजनको प्रक्रिया कानुनी रूपमा अघि बढिरहे पनि तत्कालका लागि बजारमा औषधिको अभाव हुन नदिन सरकार औषधि उत्पादक, आयातकर्ता तथा व्यवसायीसँग निरन्तर संवादमा रहेको बताइन् । उनीहरूका समस्या र अप्ठ्यारा सुनेर आवश्यक सहजीकरण गर्ने कामसमेत जारी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया