
हाम्रा धार्मिक र सांस्कृतिक मान्यतामा रुढीवाद मात्रै छैन कैयौँ सकारात्मक पक्ष पनि छन् । कतिपय राम्रा कुरा थाहा भएर प्रयोगमा आएका छन् भने, कैयौँ कुरा अहिले पनि आममान्छेलाई जानकारी छैन । त्यसैले त काम लाग्ने र राम्रो चिज पनि मान्छेले त्याग्दै गएका छन् । यसमध्ये एक हो जमरा । जमरा भन्ने बित्तिकै दसैँमा टीका लगाएर आशीर्वादसँगै शिरमा राख्ने देवीको प्रसाद भन्ने बुझिन्छ । धार्मिक मान्यताका आधारमा मात्रै हेर्ने हो भने, जमराको काम त्यही हो । तर, हाम्रो स्वास्थ्यसँग जोडिएका यसका अन्य पक्ष पनि रहेको कुरा धेरैलाई जानकारी नहुन सक्छ ।
हाम्रो ठुलो सांस्कृतिक पर्व दसैँमा लगाइने टीका र जमराको आफ्नै धार्मिक मान्यता छ । तर, यो त्यही जमरा धार्मिक मान्यताभन्दा अलिकत पर स्वास्थ्यको दुष्टिकोणले पनि लाभदायक रहेको विज्ञ बताउँछन् । जमरालाई गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतायुक्त गुणकारीका रूपमा पनि लिने गरेको पाइन्छ । त्यसैले पछिल्लो समय जमराको जुस पिउने प्रचलन बढ्दै गएको छ । जमराको जुस सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ ।
जमरामा एन्टीअक्सिडेन्ट तत्वसमेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनले पुष्टि गरेका छन् । तर, जमराको सेवन गर्दा मात्राको भने ख्याल गर्न जरुरी हुन्छ । मात्राको ख्यालै नगरी आफूखुसी कुनै पनि जमराको जुस सेवन गर्न नहुने विज्ञ बताउँछन् ।
विज्ञका अनुसार जमराको महत्वको बारेमा धेरै अनुसन्धान भएको छ । यसको राम्रो गुणहरू र स्वास्थ्यमा फाइदा हुने कुराहरू पत्ता लगाइएको छ । यो स्वास्थ्य रक्षा र रोग लागेका मान्छेहरूले पनि अरू औषधिसँग सँगै खान मिल्ने अध्ययनहरूले देखाएका छन् । जमराको जुसले मिर्गौला तथा कलेजो सफा गर्ने विश्वास गरिन्छ । तर, चाहिने भन्दा बढी खायो भने असर गर्ने विज्ञ बताउँछन् । अझ छिट्टै जमरा उमार्न (तयार गर्न) विषादीयुक्त रासायनिक प्रयोग भएमा त्यसले नकारात्मक असर पु¥याउने बताइन्छ । तर प्राकृतिक रूपमा राम्ररी उमारेको जमराले कुनै असर गर्दैन । यसले उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकालाई ज्यादै फाइदा पुग्ने विज्ञहरूको राय छ ।
जमराको जुसलाई सुपरफुटको रूपमा पनि लिने गरेको पाइन्छ । यसमा हाई भिटामिन ‘ए’, ‘बी’, ‘डी’ र के हुन्छ । यसका साथै जमरामा आइरन क्याल्सियम र प्रोटिन पनि पाइन्छ । जसले क्यान्सरसँग लड्न सहयोग पु¥याउने विश्वास गरिएको छ । मुटुको समस्या र नसासम्बन्धी रोगहरूमा पनि यो निकै फाइदाजनक मानिन्छ । यसले कोलेस्ट्रोलको मात्र घटाउन पनि सहयोग पु¥याउँछ । बिहान र बेलुका खाली पेटमा खाँदा क्यान्सरलाई धेरै फाइदा गर्ने विज्ञहरू बताउँछन् । उच्च रक्तचाप र मधुमेह भएका बिरामीहरूमा पनि यसले धेरै फाइदा गर्छ । शरीरको आन्तरिक शुद्धीकरणमा समेत यसले सहयोग गर्छ । जमरामा शरीरलाई आवश्यक खनिज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । यसका साथै शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।
०००
खाने विधि
जमराको जुस बिहान खाली पेटमा खाँदा राम्रो हुने अनुसन्धानले देखाएके विज्ञ बताउँछन् । जमराको ताजा जुसलाई मात्रा मिलाएर खानुपर्ने उनीहरूको सुझाव छ । यो एकदिनमा ३० एमएलभन्दा बढी खान नहुने विज्ञहरू बताउँछन् । त्यो भन्दा धेरै खानु राम्रो मानिँदैन । कतिलाई जमराको जुस खाँदा डायरिया र अपच हुन सक्ने भएकाले थोरै थोरै गरेर खान सुरु गर्न विज्ञहरूको सुझाव छ ।
फाइबर धेरै हुनाले जमराको जुस पिउँदा राम्रो हुने भए पनि त्यसमा कागती धेरै हालेर खाली पेटमा खान नहुने पोषणविद् डा.उमा कोइरालाले बताइन् । उनका अनुसार त्यस्तो अवस्थामा ग्यास्ट्रिक, अल्सर हुने अवस्था आउन सक्छ । सामान्यतः मात्रा मिलाएर पिउँदा त्यसले शरीरलाई बेफाइदा नगर्ने उनले बताइन् ।
जमराको जुस गर्भवती महिला, बच्चालाई दुध खुवाउनेहरूले खान नहुने बताइन्छ । त्यस्तै कसैलाई यो खाँदा एलर्जी हुने हुन्छ, त्यसो भयो भने पनि रोक्नु पर्दछ । पछिल्लो समय बजारमा समेत जमाराको जुस पाइने गरेको छ । तर, ती जमरा कस्तो हुन भन्ने बुझेर मात्रै प्रयाग गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
जमराको जुस सेवनका बारेमा कतिपयले आफ्नै धारणा बनाउने र आफूखुसी खाएको पनि पाइन्छ । तर, त्यसो गर्न नहुने विज्ञ सुझाउँछन् । यसलाई आधुनिक चिकित्साले समेत स्वीकार गरेको छ । तर, जमराको जुस धेरै मात्रामा मनलाग्दी र अस्वस्थ्य अवस्थामा सेवन गर्दा कलेजोमा समस्या भएर उपचारका लागि अस्पताल पुग्ने गरेको डाक्टरहरूो भनाइ छ । जमराको जुसले फाइदा गरे पनि सबै रोगीका लागि लाभदायक नहुने पनि भएकोले चिकित्सकको परामर्शमा विरामीको अवस्था हेरेर प्रयोग गर्न विज्ञहरूको सुझाव छ ।
०००
के हो जमरा ?
जमरा जौ, गहुँ, मकैजस्ता अन्नबालीबाट उम्रिएको आँकुरालाई भनिन्छ । सामान्यतया जमरा दसैँमा धेरैको घरमा उमारिन्छ । तर पछिल्लो समय स्वस्थ रहन जमराको जुस बनाएर बिक्री गर्ने व्यापारीले समेत नियमित रूपमा उमार्ने गरेका छन् । बजारमा पाइने जमरा भने स्वास्थ्यका रागि राम्रो मानिन्न । त्यसैगरी खानका लागि उमार्ने जमरा जौको हुनपर्ने विज्ञ बताउँछन् । जौको जमराको जुसमा शरीरलाई फाइदा गर्ने धेरै तत्व पाइने बताइन्छ । रोगको उपचारका लागिभन्दा पनि शरीरका विकार फाल्न, पाचन शक्ति राम्रो बनाउन, शक्ति प्रदान गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन यसको सेवन गर्ने प्रचलन बढेको आयुर्वेद चिकित्सकहरू बताउँछन् ।
विशेषगरी जौको जमरा नियमित सेवन गर्नु लाभदायी हुने बताइन्छ । यस्तोे जमराको रसमा एमिनो एसिड, भिटामिन र प्रोटिनको मात्रा पर्याप्त पाइने हुनाले शरीर सन्तुलन कायम गर्न र स्फूर्ति बढाउन उपयोगी मानिन्छ । जौको जमराको रसमा क्लोरोफिल बढी हुन्छ, जसले हेमोग्लोबिन बढाउने र रगतमा अक्सिजन सञ्चार राम्रो बनाउन सहयोग पुग्ने विज्ञहरू बताउँछन् । रातो रक्त कोषिका र सेतो कोषिका निर्माणमासमेत यसको सहयोगी भूमिका रहन्छ ।
जौको जमराको जुसले रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्ने र यसमा हुने एन्टिअक्सिडेन्टले शरीरबाट बिकारहरू बाहिर निकाल्न मद्दत पु¥याउँने विज्ञहरू बताउँछन् । गहुँको जमराको जुसले दाँत र गिँजालाई मजबुत राख्नुका साथै मुख गन्हाउने, गिँजाबाट रगत बग्ने समस्यामा समेत उपयोगी रहन्छ । यसमा एन्टिसेप्टिक गुणसमेत हुने हुनाले कुनै घाउ वा किराले टोकेको स्थानको विष सफा गर्नसमेत प्रयोग गर्न सकिन्छ ।
००००
जमराको जुस औषधि होइन, तर स्वास्थ्यका लागि फाइदाजनक छ : डा.प्रकाश ज्ञवाली, पूर्वअध्यक्ष, आयुर्वेद चिकित्सक संघ

जमराको जुसले रोग निको पार्छ भन्ने भ्रम छ । यसले रोग निको पार्ने होइन । जमराको जुसमा एन्टिअक्सिडेन्ड हुने हुनाले यसले शरीरमा भएका विकारहरूलाई बाहिर निकाल्छ । यो विज्ञानले पनि प्रमाणित गरेको कुरा हो । जमरामा एन्टिअक्सिडेन्ड र केही खनिज तत्वहरू हुने भएकाले ती तत्व स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यसका साथै रगतमा हुने होमोग्लोबिन बढाउने पनि यसले सहयोग गर्छ । रातो र सेतो रक्त कोषिका निर्माणमा पनि यसले फाइदा गर्छ ।
हामीले जमराको जुुस कसरी प्रयोग गर्दैछौँ भन्ने कुरामा विषेश ध्यान दिनुपर्छ । जमरा कसरी उत्पादन गरेका छौँ, जुस कसरी बनाएका छौँ, प्रयोग कसरी गर्दै छौँ, जमराको जुस बनाउँदा र पिउँदै गर्दा उपयोग गर्ने सामान जस्तै – जुस बनाउने मेसिन, पिउने ग्लास, जमरा उमार्दा प्रयोग गरिने पानी, माटो र मल जस्ता कुराले फरक पार्छ । त्यसैले यसले फाइदा गर्छ भनेर बाहिरबाट किनेर खाने होइन, आफैँले बनाएर शुद्ध प्रकारको खानु राम्रो हुन्छ ।
जमराको जुस आफैँमा राम्रो हो तर जमरा उमार्ने बेला कुनै विषादी वा रासायनिक मलको प्रयोग गर्नु हुँदैन । पानी र माटो शुद्ध हुनुपर्छ । बनाउने मेसिन र खाने भाँडा सफा हुनुपर्छ । यस्तो कुरामा ख्याल गरिएन भने, त्यसले सकारात्मक भन्दा नकारात्मक प्रभाव पार्न सक्छ । प्रायः हाम्रोमा जमराको जुस औषधि हुन्छ भन्दै खाने र यसको व्यापार पनि गरेको पाइन्छ । तर, कति खाने कसरी खाने भन्ने बारेमा भने ख्याल गरेको पाइन्न ।
भारत तथा युरोपेली देशमा जमराको जुसबारे धेरै अनुसन्धान भएका छन् । यस्ता अनुसन्धानबाट शरीरलाई जमराको जुस फाइदाजनक मानिएको छ । कुनै पनि विषादी प्रयोग नगरी शुद्ध रूपमा उमारिएको जमराले स्वास्थ्यलाई फाइदा गर्ने कुरा अध्ययनले नै देखाएको छ । वैज्ञानिक रूपमा नै यो फाइदाजनक छ भनेर पुष्टी भइसकेको छ । धेरै अध्ययनले यो राम्रो छ भन्ने देखाएको छ । तर, खान भने मात्रा मिलाएर खानुपर्छ । एकदिनमा ३० एमएल मात्रै यस्तो जुस खानुपर्छ । खानका लागि जौको हरियो जमरा उचित हुन्छ । दसँैमा प्रयोग हुने जमरा पहेँलो राम्रो मानिन्छ भने, खानका लागि हरियो राम्रो हुन्छ ।
कुनै आर्युवेद चिकित्सकले जमराको जुसलाई कुनै उपचारका लागि प्रेस्काइब गर्दैन । किनकि यो औषधि होइन । त्यसैले कुनै रोगको उपचारका लागि यसको प्रयोग हुँदैन । तर स्वस्थ रहन प्रकृतिमा पाइने धेरै चिजमध्ये जमराको जुस स्वास्थ्यका दृष्टिकोणले आफैँमा राम्रो रहेको छ । तर स्वास्थ्य अवस्था राम्रो नभएको, सिरोसिस जस्ता समस्या छ भने यसको सेवन गर्नु हुँदैन । दीर्घरोगी र अरू बिरामीहरूले पनि आफ्नो स्वास्थ्यका विषयमा चनाखो रहेर चिकित्सकसँग सल्लाह गरेर मात्रै पिउनु पर्छ ।
शरीरमा रहेको मन्द प्रकारको विषलाई पखालेर रगत शुद्धीकरण गर्न जमराको जुस राम्रो मानिन्छ । जसले गर्दा शरीरका अन्य अंगहरू प्रकृतिक हिसाबले सुचारु हुन्छन् । लामो समयसम्म कुनै औषधि प्रयोग नगरी स्वस्थ रहन पनि जमराको जुसको महत्व छ । रोगको रोकथामका लागि जमराको जुस प्रयोग गर्न सकिन्छ तर उपचारका लागि होइन । बिरामीले औषधि खाइरहँदा फलफूल औषधिका रूपमा नभएर फाइदाका लागि खाए जस्तै हो यो ।
यसको बारेमा प्रष्ट बुझ्नुपर्ने के छ भने, फाइदा गर्छ भन्दैमा चिकित्सकको परमर्श बेगर आफूखुसी खानु हुँदैन । अर्को कुरा हामीले खाएको सबै खाना आन्द्राबाट जाने भनेको कलेजोमा हो । त्यसकारण पहिला हाम्रो कलेजो स्वस्थ्य रहनुपर्छ । जमराको जुसले कलेजोलाई स्वास्थ्य बनाउँछ । तर, अस्वस्थ्य कलेजो छ भने, चाहिँ यसले नकारात्मक असर पुर्याउन सक्छ । कलेजोको अवस्था सामान्य छ भने यसले राम्रो गर्छ ।
जमराको जुसका बारेमा अर्को भ्रम भनेको यो क्यान्सरको औषधि हो भनेको सुनिन्छ । यसले क्यन्सर निको पार्ने होइन । यदि कसैलाई क्यान्सर छ भने, यसमा भएको एन्टिअक्सिडेन्ड, भिटामिन र केही खनिज तत्वहरूले शरीर शुद्धीकरण गर्छ । त्सो गर्दा केही अंगमा भएको समस्यामा राम्रो गर्न सक्छ । क्यान्सरको औषधि प्रयोग भएका बिरामीमा कमजोरी भएको बेला मात्रा मिलाएर खाँदा फाइदा गर्छ ।
प्रतिक्रिया