कसरी गर्ने बिहानको खानपानको सुरुआत ?

बिहानको समयमा सबैभन्दा पहिले मनतातो पानी पिउनु सरल र राम्रो मानिन्छ । उठ्नेबित्तिकै १–२ गिलास मनतातो पानी पिउनु राम्रो हुने विज्ञ बताउँछन् । मनतातो पानीले आन्द्राको गति बढाउँछ र कब्जियत कम गर्छ भन्ने कुरा केही अध्ययनहरूले पनि पुष्टि गरिसकेको छ । यसले पाचन प्रणालीलाई आराम दिने, डिहाइड्रेसन हटाउने र दिनको सुरुआत राम्रो बनाउँछ ।

खानपिनका बारेमा मान्छेको आ–आफ्नै स्वभाव र दृष्टिकोण हुन्छ । समयअनुसार कति बेला के खाने भन्ने सबैको एउटै नियम र बान्की हुँदैन । कोही उठ्ने बित्तिकै तातो पानी पिएर दिनको सुरुआत गर्छन्, कोही चिसो पानीले त, कोही तातो चिया वा कफीले । जे होस् मान्छे उठेपछि केही न केही खान्छ । अझ कतिपय त चिया कफीसँगै अरू खाने कुरा पनि खान्छन् । यसमा मान्छेको स्वभाव फरक फरक भए पनि स्वास्थ्य र पोषणका दृष्टिले भने कति बेला के खाने वा उठ्ने बित्तिकै के खाँदा राम्रो हुन्छ भन्ने प्रमुख विषय हो ।

कतिपयलाई लाग्छ, बिहान उठ्नेबित्तिकै खाली पेटमा चिया कफी खानु हुँदैन । यसमा हुने क्याफिन र एसिडले ग्यास्ट्रिक बढाउँछ भन्ने पनि पाइन्छ । तर, कतिलाई ओछ्यानमा नै बसेर चिया कफी नखाइ नहुने बानी नै हुन्छ । उठेर नित्यकर्म गरी समान्य व्यायाम पछि चिया कफी खाने पनि प्रशस्तै भेटिन्छ । त्यो सबै मान्छेको स्वभावमा भर पर्ने कुरा हो ।

बिहान उठ्नेबित्तिकै खाली पेटमा के खाने वा पिउने भन्ने कुरामा धेरै जना अलमलिन्छन् । कसैले तातो पानी, कसैले कागती पानी, कसैले मेथी पानी, कसैले चिया वा कफी पिएको राम्रो मान्छन् र त्यसै अनुसार सुझाउँछन् पनि । तर चिकित्सकीय दृष्टिले वा पौष्टिक र स्वास्थ्यका दृष्टिले हेर्दा सबैभन्दा सरल, सुरक्षित र उपयुक्त विकल्प के हुन्छ त ? यस बारेमा पनि जान्नु उचित हुन्छ । जानेर बुझेर प्रयोग गरिने हरेक चिजले परिणाम पनि राम्रो दिन्छ ।

०००

विज्ञका अनुसार राति ८–१० घण्टा उपवासपछि शरीरमा पानीको कमी हुन्छ, पाचन एन्जाइमहरू सुस्त हुन्छन् र आन्द्राको गति कम हुन्छ । यस्तो अवस्थामा पहिले शरीरका लागि पानीको मात्रा पूर्ति गर्नु आवश्यक हुन्छ । पानीले पेटलाई जागृत गर्ने र रगतको प्रवाह बढाउने भएकाले यसले प्राकृतिक रूपमा मल त्याग सहज बनाउँछ । त्यसैले शरीरलाई हित हुने र त्यसको प्रभाव सकारात्मक हुनेगरी खानपान गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

बिहानको समयमा सबैभन्दा पहिले मनतातो पानी पिउनु सरल र राम्रो मानिन्छ । उठ्नेबित्तिकै १–२ गिलास मनतातो पानी पिउनु राम्रो हुने विज्ञ बताउँछन् । मनतातो पानीले आन्द्राको गति बढाउँछ र कब्जियत कम गर्छ भन्ने कुरा केही अध्ययनहरूले पनि पुष्टि गरिसकेको छ । यसले पाचन प्रणालीलाई आराम दिने, डिहाइड्रेसन हटाउने र दिनको सुरुआत राम्रो बनाउँछ । यसका अलवा पनि बिहानको खाना के उचित हुन्छ भन्ने विज्ञका विभिन्न सुझावहरू छन् । त्यसमा पर्ने खानाहरू यसप्रकार रहेका छन् ।

००००

चियासिडः खाली पेटमा चियासिड खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । चियासिडमा घुलनशील फाइबर प्रशस्त हुन्छ, जसले कब्जियत घटाउने र पेट सफा राख्न मद्दत गर्ने पोषणविद् बताउँछन् ।

पानीमा भिजेपछि चियासिड फुलेर पेट भरिएको अनुभूति दिन्छ र यसले अनावश्यक भोक कम गर्ने बताइन्छ । फाइबरले ग्लुकोजको अवशोषण ढिलो गराउँछ, जसले मधुमेह नियन्त्रणमा सहयोग पुर्याउँछ । यसमा पाइने ओमेगा–३ फ्याटी एसिडले खराब कोलेस्टेरोल घटाउन र मुटु स्वस्थ राख्न मद्दत गर्छ ।

मेथी पानीः बिहानको समयमा मेथी पानी पिउनु पनि फाइदाजनक मानिन्छ । किनकि मेथीमा घुलनशील फाइबर (ग्याल्याक्टोम्यान) हुन्छ जसले ब्लड सुगर नियन्त्रण गर्छ, इन्सुलिन संवेदनशीलता बढाउँछ र भोक कम गर्छ । केही अध्ययनहरूले पनि टाइप–२ मधुमेहका बिरामीमले दैनिक मेथी पानी पिउँदा फास्टिङ ब्लड सुगर, एचबिएवानसी र तौल नियन्त्रणमा सहयोग गर्छ भन्ने देखाएको विज्ञ बताउँछन् । यसको सेवनले पाचन राम्रो बनाउने र कब्जियत घटाउँछ । तर सबैका लागि मेथीपानी राम्रोे नहुन पनि सक्छ । सामान्य अवस्थामा सादा पानी नै काफी हुने भएकाले सादा पनी बढी राम्रो मानिन्छ ।

जमराको जुस : बिहानको समयमा जमराको जुसको सेवनले पनि फाइदा पुग्ने बताइन्छ । यसमा फाइबरले भरिपूर्ण हुने भएकाले पाचन सहज हुने, तौल नियन्त्रण र ब्लड सुगर स्थिर राख्न मद्दत गर्छ । बिहान खाली पेटमा पिउँदा शरीरमा पानीको मात्रा पूर्ति गर्ने र हल्का ‘क्लिन्ज’ प्रभाव दिने विज्ञ बताउँछन् ।

कागती र महपानी : कागती पानीमा मह मिसाएर सेवन गर्नाले भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्ट दिन्छ । यसले पाचन शक्तिलाई सक्रिय गर्ने काम गर्छ । तर कागती एसिडिक हुन्छ । एसिड रिफ्लक्स, अल्सर वा संवेदनशील पेट भएकालाई जलन हुन सक्छ । मह थोरै मात्रा १ चम्चा राख्दा राम्रो हुन्छ । तर यसको सेवनले स्वाटै तौल घट्ने भने होइन ।


जिरा पानी : बिहान उठ्नसाथ खाली पेटमा जिरा पानी पिउनु पनि पेटका लागि राम्रो मानिन्छ । एक गिलास पानीमा एक चम्चा जति जिराको दाना मिसाएर उमाल्नुपर्छ । मनतातो भएपछि पिउन सकिन्छ । जिरामा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल हुन्छ, जुन पाचन तन्त्रलाई स्वस्थ राख्न सहयोग गर्छ ।

हाम्रो खानपानले मान्छेको स्वास्थ्य कस्तो हुने भन्ने देखाउँछ । यदि असन्तुतिल खाना खाइयो भने, त्यसले स्वास्थ्यमा असर पुग्न सक्छ । त्यसैले पनि मान्छे कति बेला के खाने भन्नेबारेमा सचेत हुनपर्दछ । यद्यपि कैयौँ अवस्थामा भने सचेतनाको कमी र हेलचक्राइँले खानपानको असन्तुलनले स्वास्थ्य बिग्रन्छ ।

०००

बिहान के खाँदा गर्छ असर ?

विज्ञका अनुसार बिहान उठ्नेबित्तिकै खाली पेटमा चिया कफी खानु हुँदैन । यसमा हुने क्याफिन र एसिडले ग्यास्ट्रिक बढाउँछ । एसिडका कारण पेट दुख्ने र अम्लीयपना जस्ता समस्या निम्त्याउन सक्छ । जसले एसिड रिफ्लक्स, जलन, ग्यास्ट्राइटिस निम्ताउने बताइन्छ ।

दही स्वास्थ्यका लागि एकदमै लाभदायक मानिन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्ने विज्ञ बताउँछन् । दहीमा ल्याक्टिक एसिड हुने भएकाले यसले पेटमा अम्लीयपना बढाएर पेटमा अम्लको स्तर बिगार्ने गर्दछ । खाली पेटमा दुधबाट उत्पादन हुने खानेकुराहरूले पेटमा हुने राम्रो ब्याक्टेरियालाई मार्छ र यसले अम्लीयपना बढाउँछ । त्यसैले बिहान खाली पेटमा यसको सेवन गर्न राम्रो मानिँदैन ।

यसका साथै बिहानको समयमा कुनै पनि प्रकारको कार्बोनेटेड पेय खाली पेटमा पिउनु हुँदैन । यो आफैँमा एसिडिक हुन्छ । यसले एसिडको मात्रा बढ्छ जसले दिनभरि पाचन प्रणाली बिगार्न सक्ने पोषणविद् बताउँछन् । यसका साथै यस्ता धेरै गुलियो पेयपदार्थ बिहान खाली पेटमा पिउँदा दिनभर शरीरमा चिनीको मात्रा बढ्ने विज्ञ बताउँछन् । यसका कारण दिनभर थकित महसुस हुने र कुनै पनि काम गर्न जाँगर नचल्ने बताइन्छ । यसले आलस्यपनसमेत बढाउँछ ।


बिहानको खालीपेटमा खाने कुरामा ध्यान दिनुपर्ने अर्को चिज हो, मसलेदार खाना । बिहान खालीपेटमा कहिले पनि मसलेदार खानेकुरा सेवन गर्नुहुँदैन । खाली पेटमा मसला र पिरो खानेकुरा खाँदा पेटमा जलन पैदा हुन्छ । खाली पेटमा खाइने यस्ता खानाले अम्लीय प्रतिक्रिया गराउने र पेटमा ऐठन पैदा गरेर समस्या निम्त्याउने विज्ञहरू बताउँछन् । त्यस्ता खानेकुराले पाचन यन्त्रमा गम्भीर असर पुर्याउन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने पोषणविद् बताउँछन् ।


०००

बिहानको दिनचर्या

पोषणविद्का अनुसार बिहान उठ्ने बित्तिकै १–२ गिलास मनतातो पिउनुपर्छ । यदि मन लाग्यो भने मेथी पानी, जौ पानी वा थोरै कागती पानी पिउन सकिन्छ । त्यसको ३०–४५ मिनेटपछि हल्का व्यायाम÷योग गनुपर्छ । त्यसपछि प्रोटिन, फाइबर र स्वस्थ चिल्लो नभएका सन्तुलित खानेकुरा खानु राम्रो हुन्छ । यस्ता खानाले शरीरमा ताजगी दिनुको साथै स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्दछ ।

कुनै पनि नयाँ बानी सुरु गर्दा शरीरको प्रतिक्रिया हेर्नु पर्ने पोषणविद् बताउँछन् । विज्ञका अनुसार कुनै पनि व्यक्तिमा दीर्घरोग भए चिकित्सकसँग सल्लाह लिनुपर्छ । कुनै कुरा खानु पिउनुले चमत्कारी नतिजा दिँदैन । तर नियमित र सन्तुलित बानीले नै स्वास्थ्य राम्रो हुन्छ । त्यसैले यी खाने कुरामा पनि शारिरिक अवस्था र स्वास्थ्यका आधारमा हानि नपुग्ने गरी प्रयोग गर्नु राम्रो हुन्छ ।

०००

खाली पेटमा चियाभन्दा सातु राम्रो : डा.उमा कोइराला पोषणविद्

सामान्यतः मान्छे बिहान उठ्नै बित्तिकै चिया कफी खाने भन्ने गर्छन् । हाम्रो चलन चल्तीको खाना पनि त्यही हो । तर, बिहान उठ्ने बित्तिकै चिया वा कफी खानु स्वास्थ्यका लागि राम्रो हुँदैन । चिया कफि नखाई प्रायः मान्छेको मन मान्दैन । तर, चिया कफी खानु पहिला कुनै पनि सातु थोरै पानीमा घोलेर खानु राम्रो हुन्छ । कुनै पनि अन्न हल्का खानु राम्रो हुन्छ । यसले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउँछ ।

खाली पेटमा चिया कफी खानु राम्रो हुँदैन । अर्कोकुरा चिया कफीमा दुध राखेर खाने गरिन्छ । खाली पेटमा त्यसले सकारात्मक असर पुर्याउँदैन । दुध राखेको चिया कफीले नकारात्मक असर गर्ने, ग्यास्ट्रिक बनाउने गर्छ । त्यसले गर्दा चिया कफी खाने बानी छ छोड्न सकिन्न भने, पहिला १–२ चम्चा वा अरू कुनै पनि अन्नको सातुमा मनतातो पानी हालेर खानुपर्छ । त्यसैगरी चना पनि खान सकिन्छ । त्यसरी खाँदा ग्यास्ट्रिक हुने सम्भावना कम हुन्छ ।

बिहानको खाना पनि उमेर र शरीरअनुसार खानुपर्ने हुन्छ । मान्छेलाई लाग्छ, खाली पेटमा चिया कफी खाएर के हुन्छ ? तर, उमेर ढल्कदै जाँदा यसले फाइदा भन्दा बेफाइदा धेरै गर्छ । त्यसैले शरीर स्वस्थ्य राख्ने हो भने, कति बेला के खाने भन्ने कुरामा ख्याल गर्नुपर्छ । बिहान खालीपेटमा मकै, गहुँको रोटी बनाएर पनि खान सकिन्छ ।

यसका साथै बिहान फलफूल खान पनि सकिन्छ । तर, कति नेपालीले सधँै फलफूल खान सक्लान् ? मौसमी फलफूल त खान सकिएला तर बेमौसमी फलफूल सधैंै जुटाउन सकिन्न । त्यसैले हामीले आफूले जुटाउन सकिने र आफूसँग भएका कुनै पनि हल्का अन्न बिहान खानु राम्रो हुन्छ । यसले स्वास्थ्य र पाचन प्रणालीलाई राम्रो बनाउँछ ।

प्रतिक्रिया