बालबालिकामा बढ्दै अटिजम

पछिल्लो समयमा बालबालिकामा नयाँनयाँ स्वास्थ्य समस्या बढ्दै गएको पाइन्छ । एक त बालबालिकाले आफूमा भएको समस्या सुनाउन नसक्ने अर्को, उनीहरू सामाजिक रूपमा त्यस अनुसार प्रस्तुत हुन नसक्ने हुँदा समस्या समयमा नै पहिचान गर्न कठिन हुन्छ । यस्तो अवस्थामा समस्या बढ्दै गएर नियन्त्रण बाहिर जाने विज्ञ बताउँछन् ।

विज्ञका अनुसार मस्तिष्क र स्नायु कोषहरूको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार पनि भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायु कोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसीप र कल्पना शक्तिको विकासमा असर पुग्छ । अटिजम हुनमा विभिन्न कारण रहने विज्ञ बताउँछन् ।

समाजमा आएको चेतना र स्वास्थ्यप्रतिको सकारात्मक सोचका कारण अटिजम समस्या बाहिर आउने क्रम बढेको विज्ञ बताउँछन् । पहिला अटिजमलाई स्वास्थ्य समस्याभन्दा पनि अन्धविश्वासका कारण विभिन्न नाम दिने गरिन्थ्यो । अन्धविश्वासकै कारण उपचारमा ढिलाई हुँदा समस्या बिस्तारै बढदै जाने र मान्छेको जीवन नै अस्त व्यस्त हुने अवस्था हुन्थ्यो ।

विशेषज्ञहरूका अनुसार, कतिपय बच्चामा अटिजमको अवस्था हेर्ने, आवाज सुन्ने बेलामा नै पाइन सक्छ । जब, २–३ महिनाको बच्चाले आफ्नो नजिकमा रहने व्यक्तिहरू आमा, बुबा, स्याहार्ने मानिसहरूले बोलाउँदा नहेर्ने, उनीहरूसँग आँखा जुधाएर नहाँस्ने, आफ्नै एकोहोरो तालमा बसिरहने गरेको देखियो भने सम्बन्धित व्यक्तिहरूले विशेष ध्यान दिनुपर्छ । तर, कोही बच्चाको सानो हुँदा राम्रैसँग विकास हुँदै जाने र ठुलो हुँदै जाँदा अचानक एकदमै रिसाहा, जिद्दी, नबोल्ने जस्ता अस्वाभाविक गतिविधि देखियो भने पनि डाक्टरसँग परामर्श लिनुपर्ने विज्ञ बताउँछन् ।

०००

के हो अटिजम ?

मस्तिष्क र स्नायु कोषहरूको स्वभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायु कोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसीप र कल्पना शक्तिको विकासमा असर पुग्छ ।

विज्ञका अनुसार अटिजम एकप्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर हो । यसमा बालबालिकाहरू सामान्य बालबालिकासरह गतिविधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन् । यसमा बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको पाइँदैन ।

यसमा अभिभावकले पनि कहिलेकाहीँ सामान्य ठान्दा समस्या निकै पर पुगिसकेको हुन्छ । छरछिमेकीले सल्लाह दिँदासमेत ‘त्यस्तै हो, मेरो पनि ढिलो बोलेको, ढिलो हिँडेको, अलिक पछाडि मात्र पढ्न थालेको हो’ जस्ता जबाफ दिने गर्छन् जसले अटिजम भएको ढिलो पत्ता लाग्ने र समाधानमा कठिनाइ आउने गरेको पाइन्छ ।

बालबालिकाको शारीरिक गतिविधिको प्रारम्भिक चरण भनेको २ देखि ३ वर्षको अवधिलाई मानिन्छ । यसै उमेरमा उसले हातखुट्टाको प्रयोग गर्ने, साथिभाइसँग इसाराले बोल्ने, शब्द र वाक्य प्रयोग गरेर बोल्ने अथवा सञ्चार गर्ने, साथीभाइ बनाउने मिलेर खेल्ने ईष्र्या गर्ने गर्छन् । यदि नानीबाबुहरूमा सो प्रकृतिका क्रियाकलापहरू देखिएनन् भने अन्य शारीरिक दुर्बलता हो या अटिजमको सिकार बनिरहेछ भनेर गहिरो चासो दिनुपर्छ ।

अटिजम शब्द पहिलोपटक सन् १९०८ मा मनोचिकित्सक युजेन ब्ल्युलरले प्रयोग गरेका थिए । उनले आफ्नो संसारमा फर्किएका ‘सिजोफ्रेनिक’ बिरामीलाई वर्णन गर्न प्रयोग गरे । ग्रिक शब्द ‘अटोस्’ को अर्थ स्वयं हो । ‘अटिजम’ शब्दलाई ‘ब्ल्युलर’ले मर्बिड आत्मकेन्द्रित र स्वयंभित्र तल्लीन रहने अर्थमा प्रयोग गरेका थिए । यो मष्तिस्कको एक विशेष अवस्था हो जुन असामान्य र अस्वीकृत व्यवहारका रूपमा देखिन्छ । यसलाई अंग्रेजीमा ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ भनिन्छ ।

०००

अटिजमका लक्षणहरू

-आफ्ना उमेरका बालबालिकाहरूसँग खेल्न नरुचाउनु ।

-असान्दर्भिक रूपमा हास्नु वा रुनु ।

-आँखामा आँखा जुधाएर कुरा नगर्नु ।

-घाउचोट तथा दुःखाइप्रति वास्ता नगर्नु ।

-एक्लै बस्न रुचाउने तथा सामाजिकीकरण नहुने ।

-सामानहरू घुमाइरहने तथा अँगालो हालेको मन नपराउने ।

-बोलाउँदा नबोल्ने, साथै नसुनेको जस्तो गर्ने । कुनै कुरामा पनि बेवास्ता गर्ने ।

-आफ्नो आवश्यकताका सामान औँलाले नदेखाउने वा ठुलो मानिसको हात समातेर देखाउने, शब्दको प्रयोग नगर्ने ।

-कल्पना गरेर खेल नखेल्ने वा दोहोर्याएर एउटै खेल खेलिरहने ।

-शब्द वा वाक्य दोहोर्याउने । (जस्तैः तिम्रो नाम के हो भन्दा तिम्रो नाम के हो नै भन्ने)

-खतरा नबुझ्ने साथै डर नहुने ।

-सामान्य शिक्षण विधिबाट सिक्न नसक्ने ।

-हरेक दिन एउटै काम गर्न रुचाउने तथा परिवर्तन नरुचाउने

विज्ञका अनुसार अटिजम, सामान्यतया अटिजम स्पेक्ट्रम डिसअर्डरका रूपमा चिनिन्छ । एक कठिन न्युरो–लजिकल विकार हो, जसले मस्तिष्कको विकासलाई असर गर्छ । अटिजमका लक्षणहरू जीवनको प्रारम्भिक चरणहरूमा जस्तै ३ वर्षको उमेरमा देखिन्छन् । अटिजमले बढ्दो उमेरका बच्चाको दैनिक जीवनलाई असर गर्न सक्छ, किनकि यसले मस्तिष्कको उचित विकासमा बाधा पुर्याउँछ ।

अटिजम भएका बालबालिकाहरू युवा वयस्कमा रूपान्तरित हुँदा उनीहरूलाई समाजको मापदण्डहरूमा फिट हुन कठिन हुन्छ । उनीहरूले कार्यस्थल वा विद्यालयमा, वा सहपाठी र वयस्कहरूसँग कुराकानी गर्न आवश्यक पर्ने कार्यहरू बुझ्न कठिन हुन्छ ।
अटिजम हरेक व्यक्तिहरूमा अलग–अलग किसिमका लक्षणहरू देखिन्छन् । बालबालिका जन्मेको ६ महिनादेखि नै क्रमशः ३ वर्षसम्ममा यसका लक्षणहरू प्रष्ट भइसक्छन्, वयस्क अवस्थामा पनि विभिन्न रूपमा रहन्छन् । विज्ञका अनुसार अटिजम सम्पूर्णरूपमा निको पनि हुँदैन । यसलाई विभिन्न किसिमका थेरापी, शिक्षा, हेरचाह एवं तालिमहरूबाट मूलधारको विद्यालय जान सक्नेगरी तयार गर्नुपर्छ । कतिपय बालबालिकाहरू मूलधारका विद्यालय जान सक्ने अवस्थामा पुग्दैनन् । उनीहरूको विद्यालय शिक्षा पनि विशेष विद्यालयमा व्यवस्थापन गर्नुपर्छ । वर्तमान अवस्थामा विश्वभरि नै अटिजम बालबालिकोको जन्मदर बढ्दो छ ।

०००

अटिजम हुनुका कारण

अटिजम ‘स्पेक्ट्रम डिसअर्डर’को सही कारण हालसम्म पत्ता लागेको छैन । यद्यपि, विज्ञहरूका अनुसार यो वातावरणीय र आनुवंशिक कारकहरूको संयोजन हुन सक्छ । बच्चालाई अटिजमको उच्च जोखिममा पार्ने कारण यी हुन सक्छ ।

-जन्मनुअघि वा पछि विषाक्त पदार्थहरूको सम्पर्क वा प्रयोग ।

-जन्मनुअघि रोगको संक्रमण र कम तौल हुनु ।

-अटिजम भएको वृद्ध आमा–बाबु वा दाजुभाइ भएमा । (वंशाणुगत कारण पनि हुन्छ) ।
-भाइरल संक्रमणहरू जस्तै मेनिन्जाइटिस वा इन्सेफलाइटिस, जसले मस्तिष्कलाई क्षति पुर्याउँछ ।

-आनुवंशिक अवस्थाहरू अटिजम स्पेक्ट्रम विकारमा संलग्न छन्, भनिन्छ ।

मस्तिष्कका स्नायु कोषहरूमा कमजोरी भई अटिजम हुन्छ भनिएको छ । तर के कारणले मस्तिष्कका स्नायु कोषहरूमा विचलन हुन्छ स्पष्ट रुपमा बुझ्न नसकिएको विज्ञ बताउँछन् । विज्ञहरू भन्छन्, ‘कस्ता खालका जैविक परिवर्तनले अटिजमको खतरा बढाउँछन् भन्ने कुराको पहिचान गर्न सकिएको छैन ।’

अहिलेसम्मको अनुसन्धान हेर्दा अस्वस्थकर खाना, संक्रामक रोग, गह्रौँ धातु, घोलक पदार्थहरू, डिजेलको धुवाँ, प्लास्टिकका सामाग्रीमा प्रयोग हुने विषादी, धूमपान, मदिरा पान, लागुऔषध, खोप र जन्मपूर्वको तनावबाट अटिजम हुन सक्ने बताइएको छ । तापनि यी कुराबाट अटिजम हुन्छ भनेर प्रमाणित भएको छैन । पारिवारिक आयस्रोत, शिक्षा र जीवनशैलीले अटिजमको जोखिमलाई असर पारेको देखिँदैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १ प्रतिशत बालबालिकामा अटिजम देखिने गरेको तथ्यांक छ । नेपालमा भने यसको वास्तविक अवस्था र तथ्यांक छैन । तर विकराल अवस्थाबारे सहजै आकलन गर्न सकिन्छ । नेपालको जनगणना २०७८ अनुसार, अटिजम भएका व्यक्तिहरूको संख्या ४ हजार ८८६ जना देखाएको छ । अझै धेरै अटिजम भएका व्यक्तिहरूको पहिचान हुन नसकेको र डाटामा समेटिन छुटेको हुनसक्ने भएकोले यो पूर्ण तथ्यांक मानिँदैन ।

०००

अटिजम कुनै रोग होइन । यो बौद्धिक अपांगता पनि होइन । मष्तिस्कको एक विशेष अवस्था मात्रै हो जुन असामान्य र अस्वीकृत व्यवहारका रूपमा देखिन्छ ।

अटिजम मष्तिस्कको एक विशेष अवस्था हो : डा.अनील ओझा, बालरोग विशेषज्ञ पाटन अस्पताल

डा.अनील ओझा, बालरोग विशेषज्ञ पाटन अस्पताल

पछिल्लो समय बालबालिकामा अटिजम बढिरहेको छ । यो संख्या बढ्नुका कारण उपचारको प्रक्रियामा आउनु पनि हो । केस बाहिर आउने र पहिचान भएकाले पनि बढी देखिएको हो । पछिल्ला दिनमा अभिभावक पनि सचेत भएको पाइन्छ । त्यसले पनि समस्या बाहिर आएर परिक्षण र उपचारको क्रम पनि बढेको छ । अर्को कुरा भनेको अहिलेको अवस्थामा विभिन्न वातावरणीय प्रभावले पनि अटिजम हुने बालबालिकाको संख्या बढ्दो छ ।

वातावरणका साथै जेनेटिक समस्या पनि प्रमुख हुने गरेको छ । परिवारका कसैमा यो समस्या भएमा त्यसको प्रभाव बालबालिकामा पनि देखिने गरेको छ । त्यो बाहेक खानपिन र वातावरणको प्रभावले पनि बालबालिकामा अटिजम हुनसक्छ । यसका साथै वातवरणीय प्रदूषणले पनि असर गर्छ । पछिल्लो समय खाने कुरा स्वस्थ्य हुँदैन । अर्को कारण भनेको समय नपुग्दै बच्चा जन्मँदा पनि यस्ता समस्या देखिन सक्छ । पछिल्लो समय समय नपुग्दै जन्मने बच्चाहरूको संख्या बढ्दो छ । समय अगाबै जन्मने बच्चामा स्वास्थ्य समस्या देखिन सक्छ । त्यसैले विभिन्न समस्याका कारण पछिल्लो समय बालबालिकामा अटिजमको समस्या बढ्दै छ । यसका लागि सामाजिक वातावरणले पनि काम गर्छ ।

अहिलेका बालबालिका संयुक्त परिवारमा बस्न पाउँदैनन । घरमा थुनिने थोरै मान्छेको सम्पर्कमा रहने अवस्था बढ्दो छ । जब बालबालिका सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रीयहरूको उतारचढावको फलस्वरुप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउँछन् । अटिजम कुनै रोग होइन । यो बौद्धिक अपांगता पनि होइन । मष्तिस्कको एक विशेष अवस्था मात्रै हो जुन असमान्य र अस्वीकृत व्यवहारका रुपमा देखिन्छ । जसलाई अंग्रेजीमा ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ भनिन्छ ।

बालबालिका जन्मिइसकेपछि पनि बाहिरी वातावरणले पनि उनीहरूलाई प्रभाव पार्छ । जब बालबालिकाले सामान्य मान्छेले भन्दा फरक व्यवहार देखाउँछ त्यति बेला अभिभावकले सचेत भएर उपचार गराउन पर्छ । त्यसैले बालबालिकालाई कसरी हुर्काउने, वातावरण कस्तो दिने भन्ने बारेमा अभिभावकले ख्याल गर्दा पनि समस्या कम हुन सक्छ ।

यसका बारेमा पछिल्लो समय मान्छेमा चेतना आएको छ । पहिला सामान्य रूपमा लिने गरिन्थ्यो । अहिले सामान्य समस्यामा पनि अस्पताल आउने, उपचार गराउने क्रम बढ्दो छ । जसले गर्दा समस्या धेरै देखिएको पनि हो । खास गरी बच्चा २ वर्षभन्दा बढी भएपछि यसका संकेत देखिने गर्छ । सानोमा यसको पहिचान गर्न कठिन हुन्छ । त्यसैले बच्चाको हाउभाउ र उनीहरूको क्रियाकलाप कस्तो छ भन्ने बारेमा अभिभावक सचेत हुनपर्छ । उनीहरूको क्रियाकलापले बच्चा कसरी विकास हुँदै छ भन्ने देखाउँछ ।

यसका लागि अभिभावकले ख्याल गर्ने भनेको, जब बच्चा कम बोल्छ, बोलाउँदा वास्ता गर्दैन, अनुहारमा हेरेर कुरा गर्दैन, एक्लै खेल्न मन पराउछ, साथीसँग खेल्दैन, एउटै कुरा बारबार गर्छ, एउटै कुरा मात्रै मन पराउँछ । ठुला आवाज वा बत्ती मन पराउँदैन भने ती अटिजमका संकेत हुन सक्छ । अझ सानोमा आमाको दुध खाँदा आमाको अनुहारमा हेर्दैन भने पनि समस्या हुनसक्छ । त्यस्तो भएमा अभिभावकले ख्याल गर्नुपर्छ र उपचारका क्रममा जानुपर्छ । अवस्था हेरेर उपचारको क्रममा थेरोपी गराउन सकिन्छ । यस्ता समस्या कम गराउनका लागि अभिभावकले धेरैभन्दा धेरै बच्चालाई घुलमिल गराउने, सामाजिक रूपमा सक्रिय बनाउनु पर्छ ।

प्रतिक्रिया